काठमाडौं । हाम्रो समाजमा जीउ दुख्यो, झमझम भयो वा हातखुट्टा गल्यो भने धेरैले त्यसलाई नसा बाथ भन्ने गर्छन् । कतिले त खुट्टामा देखिने फुलेका नीला नसासँग पनि यसलाई जोड्छन् । तर, ती फुलेका नीला नसा बेग्लै कुरा हुन्—ती त रगतलाई फेरि मुटुतिर फर्काउने सामान्य नसा मात्र हुन्, र तिनलाई ‘वेरिकोज भेन्स’ भनिन्छ । यो लेखमा ‘भास्कुलाइटिस’का बारेमा चर्चा गरिएको छ । नेपालीमा भन्दा यसलाई रक्तनलीको सुजन भन्न सकिन्छ ।
भास्कुलाइटिस भनेको के हो ?
यो बुझ्न पहिले एउटा कुरा थाहा पाउनुपर्छ : हाम्रो शरीरभित्र एउटा सुरक्षा प्रणाली हुन्छ–जसरी देशको सेनाले बाहिरी शत्रुसँग लड्छ । त्यसैगरी, यो प्रणालीले शरीरभित्र पस्ने कीटाणु र रोगसँग लड्छ । तर, कहिलेकाहीँ यो प्रणालीले गल्ती गर्छ । शत्रु चिन्न नसकेर आफ्नै शरीरका स्वस्थ भागमाथि नै आक्रमण गर्न थाल्छ । यस्तो रोगलाई ‘अटोइम्युन’ रोग अर्थात् आफैँले आफूलाई हान्ने रोग भनिन्छ ।
भास्कुलाइटिस यस्तै एउटा रोग हो । यसमा शरीरको सुरक्षा प्रणालीले आफ्नै रक्तनली (रगत बग्ने नली) माथि आक्रमण गर्छ । यो आक्रमणले रक्तनलीलाई सुन्निने (सुजन आउने) बनाउँछ । रक्तनली सुन्निदा तीनवटा कुरा हुन सक्छन्, र तीनै कुरा खतरनाक छन् ।
एउटा यसबाट नली साँघुरो हुन्छ । यसले गर्दा त्यो भागमा रगत कम पुग्छ, र सम्बन्धित अङ्ग कमजोर हुन थाल्छ । दोस्रो, नली पूरै बन्द हुन्छ । यसो हुँदा रगत र अक्सिजन नपुगेर त्यो अङ्ग मर्न थाल्छ । तेस्रो भनेको नली कमजोर भएर फुट्छ । त्यतिबेला शरीरभित्रै रक्तस्राव हुन्छ, जुन ज्यानका लागि घातक हुन सक्छ । तर राम्रो कुरा के भने यो रोग धेरै कम मानिसमा मात्र देखिन्छ । नराम्रो कुरा के भने देखियो भने यो गम्भीर हुनसक्छ । त्यसैले समयमै चिन्नु र डाक्टरकहाँ पुग्नु नै सबैभन्दा ठूलो कुरा हो ।
यो रोग किन लाग्छ ?
साँचो भन्नुपर्दा, धेरैजसो अवस्थामा यो किन लाग्छ भन्ने ठ्याक्कै कारण थाहा हुँदैन । शरीरको सुरक्षा प्रणाली किन अचानक आफ्नै रक्तनली माथि बिग्रिन्छ, त्यो अझै पूरै बुझिएको छैन । तैपनि केही कुराहरुले यो रोगलाई निम्त्याउन वा बढाउन सक्छ । कलेजोको सङ्क्रमण ९हेपाटाइटिस बी वा सी० जस्ता केही सङ्क्रमणहरू भएको अवस्थामा, केही औषधिको प्रतिक्रिया भएमा र कहिलेकाहीँ क्यान्सरसँग पनि सम्बन्धित हुनसक्छ । केही व्यक्तिमा सङ्क्रमण वा खोपपछि पनि यो देखिएको रिपोर्ट छ, तर यस्तो निकै कम हुन्छ । त्यसको डरले खोप छोड्नु हुँदैन । खोपको फाइदा यस्ता दुर्लभ जोखिमभन्दा निकै ठूलो हुन्छ ।
रोगका प्रकार र लक्षण के के हुन् ?
भास्कुलाइटिसले शरीरका कुन आकारका रक्तनलीलाई असर गरेको छ, त्यसै अनुसार लक्षण फरक हुन्छन् । मुख्यतया तीन किसिम छन् तर लक्षणको सूचीमा अल्झिनुभन्दा एउटै कुरा सम्झनुपर्छ । तल उल्लिखित कुनै पनि लक्षण देखिए ढिलो नगरी डाक्टरलाई देखाउनुपर्छ ।
सानो रक्तनलीको सुजन
यसको सबैभन्दा चिन्न सजिलो लक्षण हो । यसमा छालामा, खासगरी खुट्टातिरबाट सुरु भएर देखिने गाढा राता साना थोप्ला वा धब्बा (दबाउँदा पनि नहराउने) देखिन्छ । यसले भित्री अङ्गलाई पनि असर गर्छ । फोक्सोमा परेमा लगातार खोकी, खकारमा रगत, सास फेर्न गाह्रो हुन्छ भने मिर्गौलामा परेमा पिसाबमा रगत वा फिँज देखिने। यो खतरनाक छ, किनभने पत्तै नपाई मिर्गौला बिग्रन सक्छ ।
यो समस्या बालबालिकामा बढी देखिन्छ (बच्चामा हुने एक सामान्य प्रकारलाई ‘हेनोक–शोनलाइन परप्युरा’ वा ‘आइजिए भास्कुलाइटिस’ भनिन्छ, जुन प्रायः आफैँ निको हुन्छ) । तर वयस्कमा देखिए कडा हुनसक्छ ।
मध्यम रक्तनलीको सुजन
यसले भित्री अङ्गमा रगत पु¥याउने मध्यम आकारका नलीलाई असर गर्छ । यसका लक्षणहरुमा धेरै दिनसम्म ज्वरो, शरीर गल्नु, तौल घट्नु, छालामा कडा गिर्खा (डल्ला) आउनु, ती बिग्रिएर निको नहुने घाउ बन्न पुग्छ । कहिलेकाहीँ हातखुट्टाका औँलामा रगत पुग्नै छोडेर औँला काला भई सुक्ने र मर्ने अवस्था आउन (यसलाई ग्याङिग्रन भनिन्छ–अङ्ग सडेर मर्ने अवस्था) सक्छ ।
ठूलो रक्तनलीको सुजन
यसले शरीरका ठूला रक्तनलीलाई असर गर्छ र प्रायः ५० वर्षभन्दा माथिका मानिसमा देखिन्छ । यसका केही लक्षण तुरुन्त उपचार चाहिने आपत्कालीन अवस्था हुन् । यसमा नयाँ किसिमको टाउको दुखाइ, खासगरी कन्चटतिर बढी दुख्छ । कपाल कोर्दा वा छाला छुँदा टाउकोको छाला दुख्ने, केही बेर चपाएपछि बङ्गारा दुख्ने वा गल्ने हुन्छ । यो भास्कुलाइटिसको निकै महत्वपूर्ण सङ्केत हो । अचानक आँखा धमिलो हुनु वा देख्नै छोड्ने हुनसक्छ । यो आपत्कालीन हो किनभने ढिलो भए स्थायी अन्धोपन हुनसक्छ । हात माथि उठाउँदा वा हिँड्दा हातखुट्टा गल्ने हुन्छ ।
माथि उल्लेख गरिएका अवस्था देखिएमा बिरामीलाई तुरुन्त अस्पताल लैजानुपर्छ । खासगरी अचानक आँखा धमिलो हुनु वा नदेख्ने, सास फेर्न साह्रै गाह्रो हुनु वा खकार÷थुकमा रगत आउने, पिसाबमा रगत देखिने, शरीरको एकातिर अचानक कमजोर हुनु, बोली लर्बराउनु वा अनुहार बाङ्गिएमा ९पक्षघातको सङ्केत०, औँला वा अङ्ग काला हुँदै गएमा तुरुन्तै अस्पताल जानुपर्छ ।
डाक्टरले कसरी पत्ता लगाउँछन् ?
यो रोग चिन्न डाक्टरलाई पनि गाह्रो हुन्छ, किनभने सुरुका लक्षण सामान्य पेट दुखाइ, ज्वरो वा छालाको एलर्जीजस्तै देखिन्छन् । त्यसैले एउटै जाँचले पुग्दैन । डाक्टरले विभिन्न तरिका मिलाएर निष्कर्षमा पुग्नुपर्ने हुन्छ । रगत जाँच गरी शरीरमा सुजन छ कि छैन हेर्न जस्तै ‘इएसआर’ र ‘सिआरपी’ नामका जाँच०, रगतको कमी छ कि भनेर हेर्न सकिन्छ । मिर्गौला, कलेजोजस्ता अङ्गको जाँचबाट कुन अङ्गमा असर परेको छ थाहा पाउन सकिन्छ । ‘बायोप्सी’ गरी रोग पक्का गर्न शरीरको सानो टुक्रा झिकेर सूक्ष्मदर्शकमा हेरेर अवस्था पत्ता लाग्दछ । त्यस्तै ‘इमेजिङ÷एन्जियोग्राम’ गरेर रक्तनली साँघुरो वा बन्द भएको छ कि भनेर थाहा हुन्छ । नेपालमा यी सबै सुविधा खासगरी काठमाडौँबाहिर सजिलै नपाइन सक्छ । त्यसैले लक्षण देखिए सकेसम्म चाँडो विशेषज्ञ भएको ठूलो अस्पताल पुग्नु राम्रो हुन्छ ।
उपचार ः के गर्न मिल्छ, के गर्न हुँदैन ?
यो रोग पूरै निको नहोला, तर समयमै उपचार सुरु गरे राम्ररी नियन्त्रणमा राख्न सकिन्छ, र अङ्गलाई बिग्रनबाट जोगाउन सकिन्छ । धेरै बिरामी औषधिको सहायताले सामान्य जीवन बिताउँछन् ।
औषधिको प्रयोग ः यसमा डाक्टरले दिने औषधि भनेको स्टेरोइड हो, जसले सुजन छिटो घटाउन मद्दत गर्दछ । यो सुरुमा बढी मात्रामा दिइन्छ, अनि रोग नियन्त्रणमा आएपछि बिस्तारै घटाइन्छ । आफैँ अचानक छोड्नु हुँदैन । अर्को इम्युनोसुप्रेसिभ औषधि हो । यसले अति सक्रिय भएको सुरक्षा प्रणालीलाई शान्त पार्ने काम गर्दछ, जसले रोग दोहोरिन दिँदैन । त्यस्तै अर्को बायोलोजिक औषधि हुन्छ । नयाँ किसिमको लक्षित यो औषधि केही खास प्रकारका भास्कुलाइटिसमा प्रयोग गरिन्छ ।
पेनकिलरको प्रयोग नगर्नेः नेपालमा जीउ दुख्नासाथ डाक्टरलाई नसोधी मेडिकलबाट किनेर दुखाइको औषधि ९पेनकिलर० खाने बानी छ । यसमा सबैभन्दा ठूलो चेतावनी भनेको बिरामीले दुखाइ कम गर्ने नाममा आफैँ पेनकिलर खानु हुँदैन । यो साह्रै जोखिमपूर्ण हुन सक्छ किनभने पेनकिलरले केही बेर दुखाइ मात्र दबाउँछ, रोग निको पार्दैन, उल्टो रोग भित्रभित्रै बढिरहन्छ । लामो समय खाँदा पेटमा घाउ हुने, र कलेजो तथा मिर्गौला बिग्रने डर हुन्छ । त्यसैले दुखाइ भए लुकाएर औषधि खानुको सट्टा डाक्टरलाई देखाउनुपर्छ ।
फिजियोथेरापी उपयोगीः कहिलेकाहीँ यो रोगले नसामा असर गरेर हातखुट्टा चलाउन गाह्रो हुन्छ वा जोर्नी अररो हुन्छ । यस्तो बेला औषधिले मात्र पुग्दैन । फिजियोथेरापी (विशेष व्यायाम र विधिमार्फत गरिने उपचार) ले मांसपेशी फेरि बलियो बनाउन, जोर्नी नचल्ने हुनबाट जोगाउन र रक्तसञ्चार सुधार्न मद्दत गर्छ । डाक्टरले सुझाएमा यो नियमित गर्न सकिन्छ ।
मन र परिवारको भूमिका महत्वपूर्ण ः लामो समय रहने दुखाइ र रोगको चिन्ताले बिरामीलाई शरीरमा मात्र होइन, मनमा पनि असर पार्छ । निराशा लाग्ने, रिस उठ्ने, निद्रा नलाग्ने वा आत्मविश्वास घट्ने हुनसक्छ । काम गर्न नसक्दा घरमा आर्थिक र भावनात्मक तनाव पनि आउँछ । यस्तो बेला परिवारले बिरामीलाई दोष दिनु हुँदैन । किन यस्तो भयो, तिमीले ध्यान दिएनौँ भन्नुको सट्टा साथ दिने, बुझाउने, र आशा जगाउनेजस्ता सकारात्मक भाव जागृत गराउनुपर्छ । यसले उपचारमा निकै सहयोग पुग्दछ ।
नेपालमा कहाँ उपचार पाइन्छ ?
बाथ र रक्तनलीको रोग हेर्ने विशेषज्ञ डाक्टरलाई रुमाटोलोजिस्ट (बाथरोग विशेषज्ञ) भनिन्छ । नेपालमा यस्ता विशेषज्ञ निकै थोरै छन्, र अधिकांश काठमाडौंमै छन् । सरकारी अस्पतालमध्ये पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा यो सेवा उपलब्ध छ । लक्षण मिल्दा सामान्य डाक्टरले पनि सुरुमा हेरेर विशेषज्ञकहाँ पठाउन सक्छन् ।
घरमा ध्यान दिनुपर्ने कुरा
हल्का व्यायामः बिहान हिँड्ने, हल्का योग र सास फेर्ने अभ्यास (प्राणायाम) ले शरीर सक्रिय राख्छ । तर डाक्टरको सल्लाहअनुसार मात्र गर्नुपर्छ ।
राम्रो खानाः ताजा, पोषणयुक्त खाना खानुपर्छ । धेरै चिल्लो, धेरै नुनिलो र फास्टफुड खाना खानु हुँदैन ।
अन्धविश्वासमा नपर्नु : धेरै बिरामी सुरुमा झारफुक वा घरेलु उपचारमा मात्र अल्झेर रोग गम्भीर भएपछि बल्ल अस्पताल आउँछन् । त्यतिबेलासम्म भित्री अङ्ग बिग्रिसकेका हुनसक्छ । लक्षण देखिनासाथ डाक्टरलाई देखाइहाल्नुपर्छ ।
नियमित जाँच (फलोअप) :डाक्टरले भनेको समयमा गई रगत, मिर्गौला र कलेजोको जाँच गराउनुपर्छ र औषधि आफैँ बदल्नु हुँदैन ।
निष्कर्ष
रक्तनलीको सुजन (भास्कुलाइटिस) सुन्दा डरलाग्दो भए पनि निराश हुनु पर्दैन । समयमै चिनेर, विशेषज्ञलाई देखाएर र नियमित उपचार गरे यो रोगलाई राम्ररी सम्हाल्न सकिन्छ । आफैँ पेनकिलर खाएर रोग लुकाउनुको सट्टा सही समयमा सही ठाउँमा उपचार लिनुपर्छ । त्यही नै सबैभन्दा बुद्धिमानी कदम हो । (लेखक पाटन अस्पतालका नसा रोग विशेषज्ञ हुन्)
रासस







Comments are closed.