कोरना : सचेत होऊँ, तर नआत्तिऔँ

पोखरा । विश्व स्वास्थ्य संगठनमा आवद्ध डाक्टर राजिव लालचन भन्छन्, ‘गण्डकीमा कोरोना फैलिइहाल्यो भने हामीसँग पर्याप्त स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री (पिपिइ) बिरामी बोक्ने एम्बुलेन्स, क्वारेण्टाइन र विरामी जाँच्ने प्रयोगशाला छैन ।’ उनका अनुसार स्वास्थ्य निर्देशनालय गण्डकीमा करिब ४५ थान सुरक्षा सामग्री मात्रै छन्, त्यो सबै जिल्लामा बाँड्यो भने हात्तिको मुखमा जिरा नै हुन्छ । बिरामी बोक्न छुट्टै एम्बुलेन्स र एम्बुलेन्स चालकलाई पनि सुरक्षा सामग्री चाहिन्छ । मुख्यकुरा त, अहिले सामान्य ज्वरो आएकाहरुको रगतलगायतको नमूना परीक्षण लिँदा पनि जाँचगर्न काठमाण्डौ पठाउनुपर्ने बाध्यता छ । ल्याब नभएकाले यो समस्या आएको हो ।

यो समस्या गण्डकीको मात्रै हैन । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसविरुद्धको अभियानको लागि १ अर्ब ४० करोड छ्ट्याएको त छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा प्रमुख गोकुल शर्माका अनुसार आवश्यक सामान र एम्बुलेसन्सको व्यवस्था गर्ने पनि त्यही बजेटबाट हो । तर, यो काम कहिले हुन्छ भन्न सकिन्न । हालै पोखरामा आयोजित एक कार्यक्रममा डाक्टर लालचनेले थपे, ‘नोवेल कोरोना (कोभिड–१९) नेपालमा नदेखिएकाले ‘सचेत रहौँ, नआत्तिऔँ ।’उनले कोरोनाजस्तै मौषमी भाइरस सन् २००२ मै देखिएको जनाउँदै यसको ओखती नभएको पनि प्रष्ट पारे ।

‘कुनैपनि एण्टिबायोटिकले भाइरलमा काम गर्दैन, दम, मधुमेह, मुटुरोग भएका बिरामीमा यो छिटो फैलनसक्छ,’ उनले भने, ‘संक्रमण फैलिएपछि एण्टिबायोटिक प्रयोग गर्ने हो, अहिले भने साबुन–पानीले हात धुने,मास्क लगाउने, सेनेटाइजर प्रयोग गर्ने नै हो ।’ उनले लसुनजस्ता चिजबिजमा रोग प्रतिरोधात्मक क्षमता भएपनि यसले कोरोना रोक्छ भन्ने प्रमाणित नभएको बताए । रक्सी नि ? उनको उत्तर थियो, ‘अहिले बजारमा पाइने सेनेटाइजरमा रक्सीको मात्रा त हुन्छ तर रक्सीले ठीक पार्छ भन्ने होइन ।’

jutta mela

डाक्टर राजिवका अनुसार कोरोनाविरुद्धको टास्कफोर्स टिमले गण्डकी प्रदेशमा निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलमा काम गर्ने चिनियाँ कामदारलाई निगरानीमा राखेको छ भने होङ्सी सिमेण्ट तथा अन्य चिनियाँहरु संलग्न परियोजनामा पनि निगरानी बढाउने योजना बनाएको छ । डाक्टर राजिवले कोरोनालाई अहिले चल्तिमा रहेका सामाजिक सञ्जालले ‘इन्फोडेमिक’ बनाएको आरोप पनि लगाए ।

जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य संघ तथा औषधी व्यवसायी संघ, गण्डकीले आइतबार आयोजना गरेको ‘औषधी तथा दैनिक उपभोग्य बस्तुको अभाव र हुनसक्ने महंगी विषयक छलफलमा बोल्दै औषधि व्यवसायीहरुले भने कोरोनाको पोखरामा चेकजाँच नै नभएको र स्वास्थ्यकर्मीको ज्यानको पनि सुरक्षा नभएको गुनासो गरे । उनीहरुले सामान्य ज्वरो आएका बिरामीहरुलाई पनि काठमाण्डौ पठाउन थालिएको जानकारी पनि दिए । कास्कीमा रहेका औषधि व्यवसायीहरुले गण्डकी प्रदेशमा ३ महिनालाई पुग्ने औषधि मौज्दाज रहेकाले औषधि अभाव नहुने भने प्रष्ट पारे । उनीहरुले हल्ला गरिएजस्तो कुनै पनि व्यवसायीहरुले औषधिमा बढी मूल्य नलिएको जिकिर गरे ।

‘हामीले अरुसमयको भन्दा बढी ओखती नदिन थोक तथा खुद्रा व्यवसायीहरुलाई अनुरोध गरेका छौँ,’ नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले भने, ‘यतिबेला केही औषधिहरु भन्सारमा रोकिएको छ तर डर मान्नुपर्ने अवस्था छैन ।’

कार्यक्रमलाई सहजीकरण गर्दै कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरसविरुद्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताए । उनले कोरना संक्रमण फैलन नदिन सचेतना अपाउन सर्वसाधारणलाई अनुरोध पनि गरे । बजारमा कुनैपनि खाद्य सामग्री तथा औषधिको अभाव हुन नदिन तथा आपूर्ति प्रणाली सहज बनाउनेतर्फ संघले सबै सरोेकारवाला निकायहरुसँग सहकार्य गरेको पनि उनले बताए । उनले संकटको बेला व्यवसायीहरुको मानमर्दन नगर्न प्रशासनसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कोरना भाइरसविरुद्धको सचेतना अभियानलाई चुस्त बनाउँदै रोग भित्रिहालेमा त्यसको नियन्त्रणको लागि आवश्यक तयारी थालिएको बताए । उनले व्यवसायीहरुलाई बिल लिएर मात्रै मास्क खरिद गर्न आग्रह गरे । नेपालमा मास्कको माग बढ्न थालेपछि अनौपचारिक बाटोबाट मास्क भित्रिन थालेको छ । अर्का औषधि व्यवसायी कृष्ण पाण्डेले गण्डकी प्रदेशमा कोरना परीक्षण सुविधा नै नभएको सन्दर्भमा स्वास्थ्यकर्मीसमेत खतरामा रहेको बताए । औषधि व्यवसायी संघ कास्की अध्यक्ष विक्रम पन्तले बजारमा पर्याप्त औषधी भए पनि सरकारी तबरबाट कोरानाविरुद्ध आवश्यक तयारी नपुगेको बताए । औषधि व्यवसायीका केन्द्रीय सदस्य टंक अधिकारीले नेपालमा वार्षिक ४५ अर्बको ओखती भित्रने जानकारी दिँदै सिटामोलको निश्चित मूल्य तोकिँदा नेपालमा सिटामोल उत्पादन घटेको बताए ।

कार्यक्रममा बोल्दै औषधि व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामबहादुर केसीले स्कूलहरुले अनिवार्य मास्क लगाएर आउन तथा सेनेटाइजर प्रयोग गर्न भनेपछि बजारमा दुबै कुराको अभाव भएको बताए । उनले कोरोनाविरुद्धको प्रभावकारी सचेतना अभियान चलाउन सरोकारवालाहरुसँग आग्रह गरे ।

You might also like

Comments are closed.