कोरोना महामारी र लकडाउनको प्रभाव राजश्वमा

आन्तरिक राजश्व कार्यालय पोखरा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल

 

सन्देश श्रेष्ठ

पोखरा ।

आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । आन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्य भन्दा २८ प्रतिशत कम राजश्व संकलन गरेको हो ।

आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ५ अर्ब ६१ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले गत असार मसान्त सम्ममा केवल ४ अर्ब ३ करोड मात्र राजश्व संकलन गरेको हो । यो लक्ष्यको ७१.७७ प्रतिशत मात्र हो । यो अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले कम हो । तर यसअघी आन्तरिक राजश्व कार्यालय पोखराको कार्यक्षेत्र १० जिल्ला थियो भने अहिले यो खुम्चिएर कास्की र स्याङ्जा गरी २ जिल्लामा मात्र सिमित छ ।

आर्थिक वर्ष २०७५÷७६ मा आन्तरिक राजश्व कार्यालय पोखराले ९२ प्रतिशत राजश्व संकलन गर्न सफल भएको थियो । सो आर्थिक वर्षमा कार्यालयले ५ अर्ब ७६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ५ करोड २९ लाख राजश्व संकलन गरेको थियो ।

विश्वब्यापी रुपमा महामारीको रुप लिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिएको आन्तरिक राजश्व कार्यालय पोखराका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए । हामी फागुनसम्म लक्ष्य अनुसारै राजश्व संकलन गरिरहेका थियौं,‘उनले भने,‘तर प्राकृतिक विपत्तीका रुपमा देखापरेको कोरोना भाइरस र त्यसलाई रोक्नका लागि गरिएको लकडाउनका कारण हामीले लक्ष्य भेट्टाउन सकेनौं ।’ लकडाउन खुकुलो बनाएर असारमा कर संकलन गरेपनि कर तिर्न अनिवार्य नगरिएकाले त्यसकोपनि असर राजश्व संकलनमा देखिएको उनको भनाई छ ।

यद्वपी असारमा कर संकलन सन्तोषजनक भएको लामिछानेले बताए । कार्यालयले असारमा मात्र ७६ करोड राजश्व संकलन गरेको उनले जानकारी दिए । गत वर्ष यहि अवधीमा कार्यालयले ६० करोड मात्र राजश्व संकलन गरेको थियो । यस वर्ष असारदेखिको कर तिर्न सेवाग्राही आएकाले असारमा उत्साहजनक राजश्व संकलन भएको उनको भनाई छ । यद्वपी लकडाउनका कारण कर तिर्न बाध्यकारी नभई स्वेच्छिक गरिएकाले राजश्व संकलन गर्न अझै बाँकी रहेको सूचना अधिकारी लामिछानेले जानकारी दिए । कर तिर्न बाँकी सेवाग्राहीले लकडाउन खुलेको १ महिना भित्र बुझाई सक्नुपर्ने प्रावधान रहेको उनले प्रष्ट्याए ।

आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक वर्षमा ४ अर्ब ८२ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै राजश्व संकलनको लक्ष्य निर्धारण गरिएको लामिछानेले बताए ।

आन्तरिक राजश्व कार्यालय पोखराको कार्यक्षेत्र कास्की र स्याङ्जा रहेको छ । यस कार्यालयमा कुल करदाता १ लाख ४६ हजार रहेका छन् । जसमध्ये ८८ हजार करदाता व्यक्तिगत स्थायी लेखा नम्बर लिएका र बाँकी ५८ हजार व्यवसायी स्थायी लेखा नम्बर लिएका करदाता रहेको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ ।

यसैबीच, आन्तरिक राजश्व कार्यालय पोखराले स्याङ्जाको पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरि राजश्व संकलन गर्न शुरु गरेको छ । साउनको १ गतेबाट सो सेवा सञ्चालनमा ल्याइएको सूचना अधिकारी लामिछानेले जानकारी दिए । स्याङ्जाका करदाता सेवाग्राहीलाई सहज होस् भनेर स्याङ्जामा करदाता सेवा कार्यालय स्थापना गरिएको उनले बताए ।

You might also like

Comments are closed.