गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल र अटो इन्जिनियरिङको पढाइ

एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ सम्म आवेदन दिन सक्ने

पोखरा । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ ।

एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८÷४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्यले बताए । १० वटा पूर्ण छात्रवृत्ति र ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुला रहेका छन् ।

पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो । अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार अटोमोवाइल इन्जिनियरिङको अध्यापन सुरु गरेको हो । महानगरले प्राविधिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन हुनेछ ।

पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमा अटोमोबाइल पर्दछ । स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ । गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकांश जनशक्ति समेत विदेशी नै छन् । उच्च रोजगारी प्राप्तिको क्षेत्र भएपनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ । सिभिल इन्जिीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरुमा पढाइ हुने भएपनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पसहरु नगन्य छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्ष अघि अटोमोबाइल विषय अध्यापन गरिए पनि पनि हाल सोको पठन पाठन हुँदैन ।

यस वर्ष पहिलोपटक दुई विषयमा प्राविधिक विषय अध्यापन गरिएपनि शिक्षालयको पूर्वाधार निर्माणपछि प्राविधिक धारका कक्षाहरु समेत थप गरिने छ । सिभिल इन्जिनियरिङका लागि तीन वर्षको १ लाख ९५ हजार शुल्क छ भने अटोमोबाइलको एक लाख ७५ हजार तोकिएको छ । आफ्नै पूर्वाधार नबन्दासम्म शुरुआतमा महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । पोखरा महानगरपालिकाका केही वडा कार्यालयहरुले आफ्नो वडामा बसोबास गर्ने विद्यार्थी मध्येबाट एक जनालाई वडा कार्यालयकै खर्चमा पढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.