गोरखामा ‘ब्लड बैंक’ सञ्चालन तयारी

गोरखा । रगतको अभावमा परेका बिरामीलाई सेवा दिनका लागि गोरखामा रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ सञ्चालन गर्ने तयारी गरिएको छ । बेल्जियम रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले जिल्ला अस्पताल गोरखासँगको समन्वयमा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी गरिएको हो ।

करिब एक करोड रुपैयाँ लगानीमा रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने मेसिन ल्याइने केन्द्रीय रक्तसञ्चार केन्द्रका लेखा अधिकृत ईश्वरी पन्तले बताए । साथै बेल्जियम रेडक्रसकै सहयोगमा करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि भवन निर्माण गर्ने तयारी गरिएको पन्तले बताए ।

रक्तसञ्चार केन्द्र स्थापनाका लागि आफ्नै भवन निर्माण नहुञ्जेलसम्म अस्थायीरुपमा जिल्ला शिक्षा कार्यालयको पुरानो भवनको भुइँतलामा राख्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति भगवानबाबु मास्केले जानकारी दिए ।

रक्तसञ्चार केन्द्र स्थापनाका लागि आज सदरमुकाममा आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिक्षा कार्यालयको खाली भवनमा रक्तसञ्चार केन्द्रका सामग्री राखेर त्यहीबाट सेवा आरम्भ गर्ने सहमति भएको जानकारी दिए ।

केही वर्षअघिदेखि गोरखा अस्पताल परिसरमा सञ्चालित रक्तसञ्चार केन्द्रमा धेरै मात्रामा रगत राख्न नसकिने हुँदा यसले उपलब्ध गराउने सेवा कमजोर छ । अस्पतालका प्रमुख श्रीराम तिवारीले अत्याधुनिक सेवासहित रक्तसञ्चार केन्द्र खोल्नुपर्ने सुझाव दिए । यस्तै अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या आएको छ ।

यस्तै सरकारले स्थानीय तहमा २५ शय्या क्षमताका अस्पताल सञ्चालन गर्ने तयारी गरेकाले सदरमुकाममा सञ्चालन गरिने रक्तसञ्चार केन्द्रले सबै स्थानीय तहका अस्पताललाई सेवा दिने सरोकारवालाको अपेक्षा छ । रेडक्रसले सरकारी, गैरसरकारी कार्यालय, स्थानीय तह र उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका सरोकारवालासँग रक्तसञ्चार केन्द्र सञ्चालन गर्नेबारे जानकारी गराएको थियो । रासस

lcci
You might also like

Comments are closed.