काठमाडौं । नेपाल विद्युत् प्राधिकरण देशका ५ जिल्लामा विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसन निर्माण गर्न १ करोड रुपैयाँ बढी बजेट उपलब्ध गराएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
कार्यकारी निर्देशक शाक्यका अनुसार चार्जिङ स्टेशन निर्माणका लागि आवश्यक पूर्वाधर निर्माण गर्न ९ संस्थालाई १ करोड ८१ हजार रुपैयाँ बजेट उपलब्ध गराइएको हो । जसमा काठमाडौंको जोरपाटीमा ३, सुर्खेतमा ३, इटहरी, भोजपुर, र गुल्मीमा १/१ वटा चार्जिङ स्टेसन बनाउन ९ संस्थलाई बजेट उपलब्ध गराइएको हो ।
सार्वजनिक विवरण अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्रको मागका आधारमा पाँच पोखरी सुनौलो यातायात प्रालिलाई १० लाख ६ हजार, निलो माइक्रो यातायात समितिलाई १४ लाख ८१ हजार र इन्द्रायणीभुलभु यातायात प्रालिलाई १३ लाख ९५ हजार रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।
त्यस्तै, उपत्यका बाहिर सुर्खेतमा मा शक्ति ट्रेड लिंक, इको चार्ज ईभी र ओम साइ फास्ट चार्जिङ सेन्टरलाई २८ लाख, १९ हजार, गुल्मीको मैत्री यातायातलाई १३ लाख ७१ हजार, भोजपुरको जय बजरंग किराना पसललाई १० लाख १८ हजार र इटहरिको रितेश्वर चार्जिङ सेन्टरलाई १३ लाख ९५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
पछिल्लो समय ईभीको प्रयोग बढेसँगै देशव्यापी चार्जिङ स्टेसन निर्माण गर्ने क्रम तीव्र बनेको छ । हालसम्म देशभर प्राधिकरण र निजी क्षेत्रको लगानीमा १ हजार २०० बढी चार्जिङ स्टेशन निर्माण भइसकेका छन् ।
Comments are closed.