चीन र भारतबाट रेल त अब आयो आयो : प्रचण्ड

सन्देश श्रेष्ठ
पोखरा, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन र भारतबाट रेल आएरै छाड्ने बताएका छन् । नेकपा कास्कीले राखेको जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चीनको रेल ल्ह्यासाबाट काठमाडौंहुँदै पोखरादेखि लुम्बिनीसम्म र भारतीय रेल सुनौलिहुँदै काठमाडौंसम्म आएरै छाड्ने बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला तत्कालिन चिनिया राष्ट्रपति हु जिन्ताओसँग भेट्दा ल्ह्यासाबाट नेपालको राजधानी काठमाडौंहुँदै पोखरा र लुम्बिनीसम्म पु¥याउनेबारेमा कुरा गरेको स्मरण गरे । त्यतिबेला यो कुरा सपनाजस्तो मात्र थियो,‘उनले भने,‘तर अहिले यो बिपना भएको छ, ल्ह्यासाबाट रेल काठमाडौं अब आयो आयो, काठमाडौंबाट पोखरापनि ल्याएरै छाडिन्छ र लुम्बिनीसम्मै पु¥याईन्छ ।’

अध्यक्ष प्रचण्डले साम्राज्यवादीहरुले पार्टी एकताको नेतृत्वकर्ताहरुको सफाया गर्ने तानाबाना र षडयन्त्रहरु गरिरहेको दाबी गरे । साम्राज्यबादीहरुलाई एकता मन परिराखेको छैन,‘उनले भने,‘त्यसैले उनीहरु ऐतिहासिक दुर्घटना गराउने योजनाको तानाबाना र षडयन्त्र बनाइरहेका छन्, पार्टी एकताको नेतृत्वकर्ताको सफाया गर्ने उनीहरुले योजना बनाइरहेकै छन् ।’ जतिबेला विश्वबाट कम्युनिष्टहरु बिलाउँदै गएको अवस्था थियो, हो त्यहिबेला नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीबीच गठबन्धन भयो,‘उनले अगाडि भने,‘त्यो उनीहरुलाई पचेन, त्यसैले गठबन्धन भएपनि एकतासम्म पुग्दैन भनेर भ्रम सिर्जना गरे, उनीहरुको प्रयास अहिलेपनि एकता हुन नदिने नै छ, त्यसैले उनीहरु कसरी एकता भाँड्न सकिन्छ भनेर षडयन्त्र र तानाबाना बनाइरहेका छन् ।’ अहिलेपनि नेतृत्वको बिरुद्धमा भ्रम सिजना गर्ने, फुटाउन खोज्ने प्रयास भइरहेको उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले उप निर्वाचन अन्तर्गत हुने कास्की निर्वाचन क्षेत्र नम्बर २ मा जितेर फुटबाद, गुटबाद र अराजकताबिरुद्ध कास्कीबाट एकताको सन्देश दिन आग्रह गरे । देशको ध्यान कास्की २ मा रहेको र यसको जितले ठूलो महत्व राख्ने उनले बताए । उनले कास्की २ मा जितेर मात्रै नपुग्ने भन्दै जितको मतान्तरको रेकर्ड ब्रेक गर्नेगरी बिजय हासिल गर्न आग्रह गरे । कास्कीको जितले पार्टीलाई एकताबद्ध र देशलाई एकताबद्ध हुन सन्देश दिन्छ,‘उनले भने,‘अनि नेताहरुलाई अहंकारी बन्नबाट रोक्न र जनताप्रति अझ बढी जिम्मेबार बन्नपनि प्रेरणा दिन्छ ।’ कम्युनिष्टलाई अरु कसैले हराउन सक्दैन,‘प्रचण्डले भने,‘कम्युनिष्टलाई हराउन सक्ने कम्युनिष्ट नै हो, पहिले त्यसरी कयौंपटक एकले अर्कालाई हरायौं, त्यसैले अब सचेत भएर गुट र फुटबाट माथि उठेर जितको नारा घन्काउन आग्रह गर्छु ।’ कास्की २ को चुनावमा गल्ती नगर्न निर्देशन दिदै प्रचण्डले भने,‘हेलचेक्राईं ग¥यौं भने ठूलो गल्ती र गैरजिम्मेवारी ठहरिनेछ, त्यसको मूल्यांकन इतिहासले गर्नेछ ।’

नेकपा महासचिव विष्णु पौडेलले कास्की २ को चुनाव जितेर मात्रै नपुग्ने बताए । यहाँ चुनाव जित्छौं कि हार्छौं, त्यो प्रश्न होइन,‘उनले भने,‘बरु कति मतान्तर र कति प्रतिशत बढीले जित्छौं भन्ने प्रश्न हो ।’ हामीलाई चुनाव जित्नुमात्रै छैन,‘उनले अगाडि थपे,‘बरु कम्युनिष्टको दुई तिहाई सरकार आएको २ वर्ष वित्दा यो सरकारले गरेका कामकार्वाहीले जनमत कति बढायो ? भन्ने मुख्य कुरा हो, त्यसलाई ध्यानमा राखेर भारी मतान्तरले जित्नेगरी लाग्नुस् ।’ कास्की २ को उपचुनावले नेकपाको लोकप्रियता घटेको छ कि बढेको छ भन्ने मापनसमेत गर्ने भएकाले त्यस अनुसारको परिणाम निकाल्नेतर्फ अग्रसर हुन उनले निर्देशन दिए । यहाँको १ सिटले संसदको अंक गणितमा खास फरक पार्दैन,‘उनले भने,‘तर यो त्यतिमा मात्रै सिमित छैन, यसले दिने अन्र्तराष्ट्रिय सन्देश, राष्ट्रिय राजनीति र जनतामा पार्ने प्रभाव दुरगामीको हुनेछ ।’

पञ्चायतमा पनि कम्युनिष्टलाई चुनाव जिताउने जिल्ला कास्की भएको बताउँदै महासचिव पौडेलले कास्कीमा रेकर्ड ब्रेक गर्नेगरी जित निकाल्न निर्देशन दिए । कास्केली कम्युनिष्ट माथि अहिले एउटा प्रश्न छ ? उनले भने,‘के तपाईंहरु चुनाव जितेर मात्र सन्तुष्ट हुनुहुन्छ ? कि रेकर्ड ब्रेक गर्नेगरी जित्न चाहनुहुन्छ, जितमा मात्रै त पक्कै सन्तुष्ट हुनुहुन्न होला, त्यसैले फराकिलो मतान्तरको रेकड ब्रेक गर्नेगरी जित निकाल्नेगरी संकल्तसहित चुनावमा होमिन आग्रह गर्छु ।’ उनले जित्ने शक्तिलाई कमजोरले उत्तेजित पारेर माहौल बिगार्ने प्रयाससमेत गर्ने भएकाले त्यसतर्फपनि सचेत रहन निर्देशन दिए ।

नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले कास्की २ को उप चुनाव नकारात्मक सन्देश प्रवाह गरेर जनता भँडाईरहनेबिरुद्ध भएकाले यसमा सफलता हासिल हुनैपर्ने बताए ।

कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले रबिन्द्र अधिकारीको सपना, बाचा र योजनाहरु पूरा गर्न आफू उम्मेद्वार भएको बताइन् । उनले अबको जिन्दगी देश, जनता र पार्टीका लागि समर्पित गर्ने प्रतिबद्धता जनाइन् ।

नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करणले सरकारले गरेका कानुन निर्माणदेखि भौतिक पूर्वाधारसम्मका विकासे कामहरु, सुशासन र रबिन्द्रले गरेका राम्रा कामहरु र बिकासमा गरेका अगुवाईको फेहरिस्त बनाएर जनतासमक्ष जाने बताए । उनले प्रतिक्रियाबादी र बुर्जुवाहरुले लगाएका आरोपहरु निस्तेज पार्नेपनि उद्घोष गरे ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बिना प्रमाण आफ्ना पार्टीका नेतालाई आरोप लगाए त्यसको जवाफ तत्कालै दिन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले कांग्रेसले गरेका भ्रष्टाचार तथा आलम जस्ता कांग्रेसी नेताले गरेका हत्याको भण्डाफोर गर्ने चेतावनीसमेत दिए ।

You might also like

Comments are closed.