जेठ १८ गते पदमराज ढकालको एकल साँझ काठमाडौंमा हुने

 

पोखरा, ९ जेठ

लोकगायक एवम गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौंमा हुने भएको छ । जेठ १८ गते काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करिब १४ गीत प्रस्तुत गर्ने पोखरामा विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

jutta mela

उक्त कार्यक्रम मार्फत बचत भएको रकम कलाकार उपचार कोष तथा स्रष्टा सम्मान कोषमा जम्मा गरिने पदमराज ढकाल एकल साङगीतिक कार्यक्रम —२०७६का मूल आयोजक समितिका संयोजक मनकुमार श्रेष्ठले बताए । उनका अनुसार यो कार्यक्रम साँस्कृतिक संस्थान र सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, पोखराको संयुक्त आयोजनामा हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पनि लगभग पुरा भएको उनले बताए ।

ढकालको एकल साँझमा लोकगायिका प्राज्ञ हरिदेवि कोइराला, गायिका दुर्गा परियार, कृष्णा परियारले समेत गाउने भएका छन् । उनिहरुले ढकाल सँगै युगल प्रस्तुति राख्ने भएका हुन् । यसअघि पोखरा र लेखनाथमा आफ्नो एकल साँझ सम्पन्न गरेका ढकालको यो कार्यक्रम भने चौथो हो ।

उनले २०६९ बैशाख १६ गते पोखरा सभागृहमा, २०६९ बैशाख २३ गते मन्दिप मिलन चलचित्र हल लेखनाथ पावरहाउस र २०७३ जेठ ७ गते पोखरा उद्योग बाणिज्य सङघमा एकल साँझ कार्यक्रम सम्पन्न गरिसकेका छन् । मोफसलमै रहेर गण्डकी क्षेत्रको लोकभाकालाई आफ्नो आवाज, लय र शब्दका माध्यम विश्वसामु प्रस्तुत गर्ने ढकालका १०० भन्दा अधिक गीत रेकर्ड भएका छन् ।

वि.सं २०२० साल माघ १८ गते साविक लेखनाथ नगरपालिका वडा नं ९ हालको पोखरा महानगरपालिका वडा नं ३१, लामाश्वाँरामा जन्मेका ढकाल हाइस्कुलमा अध्ययन गर्दादेखिनै साहित्य र सङ्गीतमा संलग्न हुनुहुन्छ । ढकालका लोकगीत, जागरण गीत र राष्ट्रिय गीतका एक दर्जन एल्बम यसअघिनै सार्वजनिक भइसकेका छन् । ग्लोबल कलिजियट स्कुल, रानीपौवा पोखराका संस्थापक रहेर शैक्षिक पेशामा पनि आबद्द ढकाल पोखराका विभिन्न साङ्गीतिक एवा साहित्यक सँस्थाहरुमा आबद्द छन् ।

ढकाललाई अलि बढि चेतनामूलक गीतहरु गाउन मन पर्छ । त्यस्ता गीतहरु जुन गीतमार्फत समाजलाई चेतना मिलोस् । देशभक्तिका राष्ट्रिय गीतहरुका साथमा कौरा, सोरटी,झयाउरे, धिमाल, देउसी, सिङ्गारु जस्ता गीत गाउँदै नेपाली लोक संस्कृति संरक्षण अभियानमा लागेका ढकालले २०३६ साल, २०४६ र ६२÷६३ को जनआन्दोलमा सांस्कृतिक क्रियाकलाप मार्फत सक्रिय भुमिका निर्वाह गरेका छन् । उनि उक्त समय देशका विभिन्न भागमा गीत गाउँदै सहभागि भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विभिन्न संघसँस्थाहरु मार्फत सम्मानित भईसकेका ढकाल गीतसँगीत मार्फतनै फ्रान्स, स्वीजरलेण्ड, डेनमार्क, स्वीडेन,बेल्जीयम, नेदरल्याण्ड,जर्मन, चेक रिपब्लिक र बङ्गालदेशको भ्रमण गरिसकेका छन् ।

कार्यक्रमलाई सफल पार्न ७ लाख ४५ हजार रुपैयाँ अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ । उसका अनुसार अनुमानित आम्दानी १२ लाख ५० हजार रुपैयाँ गरि अनुमानित बचत ५ लाख ५ सय गर्ने लक्ष्य छ ।

You might also like

Comments are closed.