नवौं मण्डली कपको उपाधि मणिमुकुन्दलाई

रामपुर (पाल्पा) । पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवामा भएको नवौं मण्डली कपको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।

मण्डली स्पोर्टस् क्लबको आयोजना र पूर्वखोला गाउँपालिकाको सह–आयोजनामा भएको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मामाभान्जा युनाईटेड क्लब रामपुरलाई ३–१ सेट अन्तरले पराजित गर्दै मणिमुकुन्दले उपाधि चुमेको हो । शनिबार भएको फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लबले पहिलो, तेस्रो र चौथो सेट २५–१९, २५–१६ र २५–२१ अंकसहितको जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको छ ।

दोस्रो सेट मामाभान्जा युनाईटेडले २५–१९ अंकसहित जितेको थियो । यससंगै मामाभान्जा युनाईटेडले द्वितीय स्थानमा चित्त बुझाएको छ । गत असोज २९ देखि भएको प्रतियोगितामा निस्दी खेलकुद विकास समिति तृतीय भएको छ । तृतीय स्थान छनौट खेलमा होराइजन स्पोर्टस् क्लब बुटवललाई ३–१ सेटले पराजित गरेको थियो । पहिलो सेट होराइजन स्पोट्स क्लबले २५–२३ अंकसहित आफ्नो पक्षमा पारेको थियो । दोस्रो, तेस्रो र चौथो सेट निस्दीले २५–२०, २५–२३ र २५–१७ अंकसहित जितेको हो ।

प्रतियोगितामा विजेता समूहमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश ः नगद रु १ लाख ५१ हजार, १ लाख १ हजार रुपैयाँ, ७१ हजार र ३६ हजारसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी मणिमुकुन्द भलिबल क्लवका रेशम विक, उत्कृष्ट सर्भर मिलन चन्द, उत्कृष्ट डिफेन्डर मामा भान्जा युनाईटेडका राजन दर्लामी, उत्कृष्ट सेटर मणिमुकुन्द भलिबल क्लबका दिपेश कुँवर, उत्कृष्ट स्पाईकर मामाभान्जा युनाईटेडका सञ्जु विक्रम शाह, उत्कृष्ट ब्लकर मणिमुकुन्द भलिबलका चिरन खड्का बन्न सफल भएको छन् । विद्यागततर्फ उत्कृष्ट खेलाडीले नगद ५ हजार र अन्य विद्यामा जनही २÷२ हजार प्राप्त गरेको छ ।

प्रतियोगिताको पुरस्कार वितरण राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सहित गरिएको थियो । मण्डली स्पोट्र्स क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग, पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ रहेका हुन् ।

प्रमुख अतिथि श्रेष्ठले जिल्लाको पूर्वी क्षेत्रलाई भलिबलको माध्यमबाट चिनाउन मण्डली स्पोर्टस् क्लबले खेलेको भुमिकाको प्रशंसा गरे । उनले भलिबल ग्रामीण क्षेत्रको भुगोल सुहाउँदो खेल भएको बताउँदै पूर्वी क्षेत्रलाई भलिबलको हबको रुपमा विकास गर्न पहल गर्ने बताए । कार्यक्रमको सञ्चालन क्लबका सचिव कृष्णप्रसाद पंगेनीले गरेका हुन् ।

You might also like

Comments are closed.