नेपालकै जेठो संस्था पृथ्वी राजमार्ग बस सञ्चालक समिति कम्पनीमा जाँदै

पोखरा, ९ जेठ

नेपालकै जेठो संस्था पृथ्वी राजमार्ग बस सञ्चालक समिति कम्पनीमा जाने भएको छ । समिति मातहतका सम्पूर्ण गाडीहरु प्रालिमा लैजान सरकार सहमत भएपछि पृथ्वी राजमार्ग बस सञ्चालक समिति कम्पनीमा जान तयार भएको हो । सरकारले दिएको समयसीमा भित्रै पृथ्वी राजमार्ग बस सञ्चालक समिति पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका नाममा दर्ता हुने भएको हो । समितिलाई प्रालिमा लैजाने र नाम पहिलेकै राखेर दर्ता गर्ने निर्णय भएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । यहि जेठ १८ गते कम्पनी प्रालिका नाममा दर्ता गर्ने तयारी गरिएको उनले बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति २०२९ सालमा अस्थायी रुपमा काठमाडौंमा दर्ता भएको थियो । पछि संघसंस्था ऐन २०३४ आएपछि सोहि ऐन अनुसार समिति २०३५ सालमा दर्ता भएको महासचिव केसीले जानकारी दिए । संस्थाको दर्ता नम्बर १ भएकाले समिति नेपालकै जेठो संस्था भएको उनको दाबी छ ।

jutta mela

पृथ्वी राजमार्ग बस सञ्चालक समितिमा कुल १३८१ गाडीहरु रहेका छन् । ति सबै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा रहने महासचिव केसीले जानकारी दिए । उनका अनुसार समितिमा हाल एक हजार व्यवसायी छन् भने झण्डै साढे ५ अर्ब लगानी रहेको छ । अबदेखी सबै व्यवसायी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको शेयर सदस्य हुनेछन् ।

त्यस्तै पोखरा बस ब्यबसायी समिति पनि पोखरा यातायात प्रालिको नाममा दर्ता हुने भएको छ । २०५२ सालमा दर्ता भएको यो समितिमा ३७८ वटा गाडीहरु छन् । करीब ३ सय व्यवसायी रहेको यो पोखरा बस ब्यबसायी समितिमा करीब सवा अर्ब लगानी रहेको बताईन्छ ।

यसैगरी स्थानिय श्रृंङ्ग यातायात व्यवसायी समितिपनि कम्पनीमा जाने तयारी गरेको छ । यद्वपी नाम भने टुंगिनसकेको समितिका अध्यक्ष केदार पौडेलले बताए । केहि दिनमै समितिको बैठक बसेर नाम टुंगो लगाउने र दर्ता गर्ने उनले बताए । स्थानिय श्रृंङ्ग व्यवसायी समितिमा १७५ गाडीहरु रहेका छन् भने करीब ६० करोड लगानी रहेको अनुमान गरिन्छ ।

पोखरामा रहेको एक मात्र ट्याक्सी व्यवसायी समितिपनि कम्पनीमा जाने भएको छ । ट्याक्सी व्यवसायी समितिलाई पोखरेली ट्याक्सी सेवा प्रालिको नाममा दर्ता गर्ने तयारी भएको हो । समितिमा १५९१ वटा ट्याक्सी आबद्ध छन् भने यसमा करीब १३०० व्यवसायी रहेको बताइन्छ ।

बेगनासताल बस सञ्चालक समितिपनि कम्पनीमा जाने भएको छ । समितिलाई बेगनासताल बस सञ्चालक प्रालिमा लैजाने तयारी भएको हो । बेगनासताल बस सञ्चालक समितिमा ८० बढी ब्यबसायीका १११ वटा बसहरु रहेका छन् ।

सरकारले सिण्डिकेट तोड्ने निर्णय गर्दै यातायात समितिहरुलाई कम्पनीमा जान निर्देशन दिएको थियो । कम्पनीमा जाँदा १०० वटा गाडीमात्रै राख्न पाउने प्रावधान राखिएको थियो । तर यातायात समितिहरुले आफ्ना सबै गाडीहरु कम्पनीमा लैजान नपाएसम्म कम्पनीमा नजाने अडान राख्दै एक वर्षसम्म कम्पनीमा गएका थिएनन् । पछि सरकार ब्याक भएर समितिमा रहेका सबै गाडी एक पटकलाई कम्पनीमा लैजान पाउने प्रावधान राखेपछि यातायात समितिहरु कम्पनीमा जान तयार भएका हुन् ।

विद्यार्थी र बृद्धबृद्धालाई दिइदै आएको छुट कटौती गर्ने तयारी

कम्पनीमा गएसँगै यातायातका सवारी साधनहरुले छुट नदिने भएका छन् । पोखराका यातायातका सवारी साधनहरुले विद्यार्थी र बृद्धबृद्धाहरुका लागि दिदै आएको भाडा छुट नदिने जनाएका हुन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले कम्पनीमा गएको दिनदेखि आफूहरुले विद्यार्थी र बृद्धबृद्धाहरुलाई दिदै आएको गाडी भाडा छुट नदिने बताए । हामी अब नाफमूलक संस्था हुने भयौं–उनले भने,‘हिजो सेवामूलक संस्था हुँदा विद्यार्थी र बृद्धबृद्धाहरुलाई दिदै आएको गाडी भाडा छुट अब दिदैनौं ।’ राज्यले नै सेवामूलक संस्थालाई नाफामूलक बनाएकाले आफूहरुले कठोर निर्णय गर्नुपरेको उनको भनाई छ । यसअघी हामीलाई सेवामूलकमा राखेर सरकारले कर छुट दिएकाले गाडी भाडा छुट दिएका थियौं–उनले भने,‘तर अब हामी सरकारले भनेजस्तै खनखन्ती कर तिर्छौं, कर तिर्नै परेपछि किन छुट दिने ? हामी कसैलाई पनि छुट दिदैनौं ।’

सार्वजनिक यातायातका सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत र बृद्धबृद्धाहरुलाई ५० प्रतिशत छुट दिइदै आएको छ ।

 

You might also like

Comments are closed.