नेपालमा ९७३ हेक्टर जग्गामा कफी खेती

पोखरा । नेपालमा ९७३ हेक्टर जग्गामा कफी खेती हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल व्यावसायिक कफी खेती सर्वेक्षण २०७५÷७६ को सर्वेक्षणले नेपालमा ८ सयदेखि १६ सय मिटर उचाईसम्मको मध्य पहाडी क्षेत्रमा सो हेक्टर क्षेत्रफलमा कफी खेती हुने गरेको तथ्यांक सार्वजनिक भएको हो । पोखरामा सार्वजनिक गरिएको तथ्यांकमा नेपालमा ३२ जिल्लामा ६ हजार ३ सय ४६ कृषकहरुले कफी खेती गरेको उल्लेख छ ।

नेपालको काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा बढी १०४.३ हेक्टर, ललितपुरमा ९६.३ हेक्टर र स्याङ्जामा ९४.१ हेक्टर क्षेत्रफलमा कफी खेती भएको पाइएको तथ्यांकमा भनिएको छ । उत्पादनका आधारमा काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा धेरै २२१ मेट्रिक टन, स्याङ्जामा १५८ मेट्रिक टन र सिन्धुपाल्चोकमा १४१ मेट्रिक टन कफी उत्पादन भएको देखिएको छ ।

कृषक तथा व्यवसायी संख्याको आधारमा काभ्रेपलाञ्चोकमा ९४३, सिन्धुपाल्चोकमा ७५३ र स्याङ्जामा ७०८ जना रहेको उल्लेख छ ।

jutta mela

कफी खेती गर्ने मध्ये ९६ प्रतिशत कृषकले प्राङ्गरिक पद्धती अनुसार कफी खेती गरेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार कफी खेतीमा केवल ११३ जनाले मात्रै स्थायी रोजगारी पाएको देखिएको छ भने ४२ हजार ४ सय ८४ जनाले अस्थायी रोजगारी पाएको उल्लेख छ ।

कफी खेती गर्ने व्यवसायी मध्ये करीब एक चौथाई महिला व्यवसायी रहेको देखिएको छ । तथ्यांक अनुसार नेपालमा ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला कफी व्यवसायी रहेका छन् । कफी खेती गर्ने मध्ये ७१.८ प्रतिशत कृषक आफ्नो पेशाप्रति सन्तुष्ट रहेको देखिएको जनाइएको छ । कफी खेती कृषकहरुले आफ्नो लगानी बढाउने र क्षेत्र बिस्तार गर्ने योजना बनाएकोसमेत तथ्यांकमा उल्लेख छ । २ प्रतिशत कृषकले भने कफी खेतीप्रति निराशा व्यक्त गर्दै बन्द गर्ने योजनामा रहेको बताएको जनाइएको छ ।

कफी खेती गर्ने कृषक तथा व्यवसायीहरुलाई अनुदार र सहयोग आवश्यक रहेको जनाइएको छ । तथ्यांकले गुणस्तरीय प्राविधिक सेवा, सिंचाईको सुविधा, तालिम र अध्ययनको व्यवस्था तथा अनुदानपनि दिनुपर्ने औंल्याएको तथ्यांक विभागका निर्देशक डा.महेशकुमार सुवेदीले जानकारी दिए । नेपालमा कफी खेती २०२७ सालदेखि भएको पाइएकोपनि तथ्यांकमा उल्लेख छ ।

You might also like

Comments are closed.