नोभेलमा नर्सिङ विद्यार्थीको स्वागत

आर्थिक आवाज
पोखरा, १५ कात्तिक । पोखराको नोभेल एकेडेमीले बिएस्सी नर्सिङमा भर्ना भएका नयाँ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नयाँ विद्यार्थीमा उत्साह थप्न र कलेजको बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कलेजका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले जानकारी दिए ।

कलेजको बारेमा जानकारी गराउँदै आचार्यले २१ औं शताव्दीमा नर्सिङ पेशाको महत्व निकै रहेकाले गहन र मेहनत गरेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए । ‘नर्सिङ पेशामा अवसर र चुनौती धेरैै छन् । त्यसलाई चिर्न विद्यार्थीले कडा मेहनत गर्नुपर्छ’, उनले भने, ‘नोभेलमा अघिल्ला वर्षमा अध्ययन गरेका विद्यार्थीले निकै राम्रो गरे । यो ग्रुपका विद्यार्थीले पनि अझै राम्रो गर्नेछन् भन्ने आशा छ ।’

विद्यार्थीले सफलता प्राप्त गर्ने सूत्रबारे जानकारी गराउँदै प्रशिक्षक उपेन्द्र अधिकारीले कलेज–विद्यार्थी–अभिभावकको भूमिका सुमधुर भएमात्र अध्ययन राम्रो हुने र विद्यार्थीले सफलता प्राप्त गर्ने बताए । कलेजकी चौथो वर्षकी कोअर्डिनेटर धर्मशीला थापाले नर्सिङ पेशाको महत्व बढ्दै गएकाले मेहनतका साथ अध्ययन गरी जीवन सार्थक बनाउन सझाव दिइन् ।

कलेजकी प्रथम वर्षकी नर्सिङ कोआर्डिनेटर रीना लामिछानेले कलेजमा विद्यार्थीले पालना गर्नुपर्ने नीति नियम बारे जानकारी गराएकी थिइन् । एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका कार्यकारी निर्देशक सीता लामिछाने, शिक्षकद्वय सवीना लामिछाने, माया शेर्पा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.