पेट्रोल पम्प बम जस्तै भयो : एसपी कार्की

 

सन्देश श्रेष्ठ

पोखरा, १ कार्तिक

jutta mela

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले पेट्रोल पम्प पछिल्लो क्रममा पेट्रोल बम जस्तै भएको टिप्पणी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले पेट्रोल पम्प पछिल्लो क्रममा पेट्रोल बम जस्तै भएकाले सो को सुधारका लागि अभियान चलाइएको बताए । पेट्रोल पम्पमा अग्नी नियन्त्रक सिलिण्डर नै नहुने, भएपनि बिग्रेको तथा अग्नी नियन्त्रक सिलिण्डर चलाउन नजान्दा पेट्रोल पम्प पछिल्लो क्रममा पेट्रोल बमका रुपमा परिणत भएकाले सबै पेट्रोल पम्पमा अनिवार्य अग्नी नियन्त्रक सिलिण्डर राख्न लगाउने, सिलिण्डर बिग्रेको भए बनाउने र सिलिण्डर चलाउन नजान्ने कर्मचारीलाई चलाउन सिकाउने अभियान सञ्चालन गरिएको एसपी कार्कीले बताए ।

कास्की प्रहरीले माग्नेबिरुद्ध पनि अभियान सञ्चालन गरेको जनाएको छ । कास्की प्रहरीले ठूला माग्ने र साना माग्ने दुबैबिरुद्ध कार्वाही अभियान सञ्चालन गरिएको प्रहरी प्रमुख कार्कीले बताए । चन्दा माग्नेलाई ठूला माग्ने र सडकमा माग्नेलाई साना माग्नेको उपमा दिएको कास्की प्रहरीले दुबैबिरुद्ध अभियान चलाएको बताएको हो । सडकमा माग्नेहरु मध्ये अवस्था राम्रो भएकालाई टिकट काटेर घर फर्काउने र आर्थिक अवस्था नराम्रा भएकालाई मानव आश्रम पठाइने गरेको कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीमा आपराधीक घट्नामा कमी आएको दाबी गरेको छ । प्रहरीको सकृयताका कारण अघिल्ला महिनाहरुको तुलनामा कास्कीमा आपराधीक घट्नामा कमी आएको कास्की प्रहरीले दाबी गरेको हो । उनले भने,‘तुलनात्मक रुपमा आपराधीक घट्नामा कमी आएको छ, यो हाम्रो निरन्तर रुपमा भइरहेको गतिविधि र सकृयताको परिणाम हो ।’ यद्वपी यो स्थायी रुपमा हो वा क्षेणिक भन्ने बारेमा भने आगामी महिनाको परिणामले बताउने एसपी कार्कीले बताए ।

कास्की प्रहरीले विद्यालय र अस्पताल वरपरका सटरहरुमा मदिरा बिक्री गर्नेबिरुद्ध अभियान चलाएको छ । पहिलो चरणमा विद्यालयले निर्माण गरेका सटरहरुमा मदिरा बिक्री भएको पाइएकाले सो नियन्त्रण गर्न अभियान चलाइएको एसपी कार्कीले बताए । उनले भने,‘विद्यालयका सटर तथा नजिकका पसलमा मदिरा बेच्दा विद्यालयको वातावरण नै धुमिलियो, त्यसैले सो बिरुद्ध अभियान चलाइएको हो ।’ उनले अस्पतालका सटर तथा नजिकका क्षेत्रमा पनि मदिरा बेचबिखनबिरुद्ध अभियान शुरु गरिने पनि बताए ।

कास्की प्रहरीका अनुसार साउनमा १६१ वटा र भदौमा १७३ वटा आपराधीक घट्ना भएका थिए । तर असोजमा १२९ वटा मात्रै आपराधीक घट्ना भए । यसरी हेर्दा भदौ महिनाको तुलनामा कास्कीमा २५.४३ प्रतिशतले आपराधीक घट्नामा कमी आएको एसपी कार्कीले बताए ।

कास्कीमा लागूऔषध कारोबारीका घट्नामा पनि कमी आएको छ । कास्की प्रहरीले दिएको तथ्यांक अनुसार कास्कीमा साउनमा ४४ जना र भदौमा ६१ जना लागूऔषध कारोबारी पक्राउ परेकोमा असोज महिनामा २२ जनालाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए । उनका अनुसार भदौको तुलनामा असोजमा ६०.८६ प्रतिशतले कमी आएको छ । नियमित चेकजाँचको प्रभाव स्वरुप घट्नामा कमी आएको एसपी कार्कीको दाबी छ ।

त्यस्तै चोरीमा पनि कास्कीमा कमी आएको छ । साउनमा ५ वटा चोरी भएको कास्कीमा भदौमा बढेर १३ पुगेपनि असोजमा आएर ७ वटा मात्रै चोरीका घट्ना भएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले असोजमा ८१ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ति पक्राउ परेकाहरुको साथबाट ९ लाख ६५ हजार रुपैयाँ बरामद गरेको एसपी कार्कीले जानकारी दिए । यसअघी भदौ महिनामा प्रहरीले ११ खालबाट ५ लाख ५९ हजार र साउनमा १२ खालबाट ५ लाख ८१ हजार रुपैयाँ बरामद गरेको उनले बताए ।

You might also like

Comments are closed.