पोखराका ३ ठाउँमा सामुहिक छठ मनाउने तयारी

आर्थिक आवाज
पोखरा । पोखरा उपत्यकामा यस वर्ष ३ ठाउँमा सामुहिक छठ मनाउने तयारी भएको छ । नेपालको तराई तथा भारतको विभिन्न ठाउँमा स्थायी घर भई पोखरामा बसोबास गर्दै आएकाहरुले फरक÷फरक ३ ठाउँमा सामुहिक छठ मनाउने तयारी गरेका हुन् । उनीहरुले पर्यटकीय प्रमुख आकर्षक गन्तव्य फेवाताल, सेती नदी र कालीखोला किनारमा छठ मनाउने तयारी गरेका छन् ।

नेपाल र भारतका व्यवसायीहरुको संस्था नेपाल–भारत (एनवी) व्यवसायी समितिको आयोजनामा पोखराको फेवा किनारमा रहेको केदारेश्वर महादेवमणी परिसरमा छठ पूजा गर्ने तयारी गरेका छन् । ५ वर्ष अघिदेखि त्यहाँ उनीहरुले छठ पूजा गर्दै आएका छन् । अघिल्ला वर्षहरुमा जस्तै यस वर्षपनि फेवा किनारमा छठ पूजाको तयारी गरिएको एनवी व्यवसायी समितिका निवर्तमान अध्यक्ष भुनेश कुमारले बताए ।

पूजाको तयारी अन्तर्गत विहीबार र शुक्रबार पूजा स्थल वरपर सरसफाई गरिएको उनले जानकारी दिए । व्रतालुलाई बस्न मिल्नेगरी पूजा स्थलमा टेन्ट हाल्नुका साथै बिजुली वत्ती, पानीको ब्यबस्था गरिने उनले बताए । साथै ध्वजापताकाले पूजा स्थललाई झिलिमिली पारिने उनले बताए । पोखरा बजारबाट केहि टाढा दुलेगौंडा, गगनगौंडा, भरतपोखरीलगायतका क्षेत्रबाटपनि व्रतालु आएर बस्ने भएकाले बस्न मिल्नेगरी पूजा स्थल बनाइने उनले बताए । व्रतालुलाई सुत्ने र खानेको प्रबन्धसमेत गरिने उनको भनाई छ । यो पूजा स्थलमा विशेष गरी भारतीय व्रतालुहरु बढी आउने गरेका छन् ।

jutta mela

यसैगरी सेती नदी किनार नारायणस्थान मन्दिर परिसर र काली खोला किनारमासमेत पूजाको तयारी भइरहेको छ । पूजा स्थलमा सरसफाईदेखि बिजुली वत्ती, पानीसहित सुत्ने, बस्ने ठाउँको प्रबन्ध मिलाउने काम भइरहेको त्रिवेणी घाट छठ पूजा समितिका अध्यक्ष एवम् प्राध्यापक देवनारायण सुतिहारले जानकारी दिए । पोखरामा शुरुमा सेती किनार नारायणस्थान मन्दिर परिसरबाट छठ पूजा शुरु भएको हो । तर पछिल्लो क्रममा भीड बढ्दा सेती किनार साँघुरो भएपछि सुतिहारको नेतृत्वमा कालीखोला किनारमा छठ पूजा गर्न थालिएको हो ।

कालीखोला किनार फराकिलो भएपनि नारायणस्थान मन्दिर नजिक भएकाले धेरैजसोले अहिलेपनि नारायणस्थान मन्दिर परिसरमै पूजा गर्ने गरेका छन् । यी दुबै ठाउँमा ध्वजापताका र बिजुली वत्तीले झिलिमिली पारिने भएकाले व्रतालुको बाक्लो उपस्थिति रहने गर्दछ । यो ठाउँमा विशेष गरेर नेपालको तराई मूलका व्रतालुको बाक्लो सहभागिता रहने गरेको छ । पोखराका विभिन्न ठाउँमा छठ पूजा गर्न थालेपछि पछिल्लो क्रममा छठका लागि घर फर्कनेको संख्या ह्वात्तै घटेको छ । पहिलेपहिले छठका लागि अधिकांश तराईबासी तथा भारतीय घर जाने भएपनि अहिले ७० प्रतिशतले पोखरामै छठ मनाउने गरिएको दाबी गरिन्छ ।

छठ अन्तर्गत विहीबार अर्बाअर्बाइन गरियो भने शुक्रबार व्रतालुले निराहार व्रत बसेर पूजा गर्दै छठी मातालाई आह्वान गर्नेगरेको प्राध्यापक देवनारायण सुतिहारले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन् भने आइतबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गर्ने गर्दछन् ।

पोखरामा तराई र भारतीय मूलका बाहेक पहाडी मूलकाहरुले पनि छठ पूजा गर्ने गरेका छन् । यद्वपी यो संख्या ज्यादै न्यून रहेको छ । सूर्यको उपासना गरिने छठ पूजामा फलफूल, कन्दमूल, ठेकुवा, कसारलगायत चढाउने गरिन्छ ।

You might also like

Comments are closed.