पोखरामा पनि माघीको रौनक

सन्देश श्रेष्ठ
थारु समुदायको माघी पर्व पोखरामा पनि मनाइएको छ । थारु समाज पोखराको आयोजनामा पोखरामा विहीबार माघी पर्व सामुहिक रुपमा मनाइएको हो । माघ १ गते माघी मनाउने परम्परा अनुसार थारु समाजले ‘माघी महोत्सव’ आयोजना गर्दा पोखरामा पनि माघीको रौनक छाएको हो । समाजले यसअघीका वर्षहरुमा माघीको शुभकामना आदानप्रदान गर्दै आएपनि यस वर्षदेखि महोत्सवकै रुपमा मनाउन थालेको हो ।

महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद राजिव पहारीले संस्कृति देशको सम्पती भएकाले यसको संरक्षण राज्यले नै गर्नुपर्ने बताए । कला, संस्कृति संरक्षण गर्न नसक्ने हो भने देशको औचित्य नै नहुने उनको भनाई थियो । पर्यटक आकर्षित गर्न संस्कृतिको भूमिका महत्वपूर्ण हुन्छ,‘उनले भने,‘पर्यटक आगमनमा बृद्धि ल्याउन र पर्यटकको बसाई लम्ब्याउनपनि यसले भूमिका खेल्छ ।’

सांसद पहारीले पोखरामा दैनिक रुपमा फरक÷फरक संस्कृति प्रदर्शन गर्नुपर्ने बताए । पोखरामा अब चाँडै हिमागृह र रत्न मन्दिर खुल्दैछ,‘उनले भने,‘यो खुलेपछि रत्न मन्दिर परिसरमा सांस्कृतिक हल बनाएर त्यहिं कहिले थारु त कहिले मगर, गुरुङ, नेवारलगायतका जातिहरुको संस्कृति प्रदर्शन गर्नुपर्छ ।’ यसो गर्दा संस्कृतिपनि जोगिने र पर्यटकको बसाईपनि लम्बिने उनको भनाई छ ।

jutta mela

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) राजेशकुमार कर्णले संस्कृतिको संरक्षण गर्दै पर्यटक आकर्षित गर्नुपर्ने बताए ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटन विकासका लागि माघी नया प्रोडक्ट बन्न सक्ने भन्दै यसतर्फ सरकारसहित सरोकारवाला लाग्नुपर्नेमा जोड दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले संस्कृतिलाई पर्यटनसँग जोडेर यसलाई आयआर्जनको माध्यम बनाउनुपर्ने बताए ।

कार्यक्रममा पूर्वदेखि पश्चिमसम्मको फरक÷फरक थारु नृत्य प्रदर्शन गर्दा माघीको रौनक आकर्षक बनेको थियो भने सहभागिलाई थारु परिकारहरु चिच्चर, बगिया, घुँघी, सिपी, हाँसका परिकारहरु, माछा, भुजाको लड्डु, तिलको लड्डुलगायत खुवाइएको थियो ।

महोत्सवमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारुहरुको सहभागिता रहेको थियो । पोखरामा करीब १ हजारको संख्यामा थारुहरुको बसोबास रहेको अनुमान गरिन्छ । पोखरामा पूर्व झापा, मोरङ, सुनसरी, सर्लाही, सिराहा, सप्तरीदेखि चितवन, नवलपुर, नवलपरासीहुँदै पश्चिम बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका थारुहरुले बसोबास गर्दै आएको थारु समाज पोखराका अध्यक्ष बिजेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले यस वर्षदेखि शुरु भएको माघी महोत्सव आगामी वर्षहरुमा निरन्तर गर्ने योजना रहेको सुनाए ।

You might also like

Comments are closed.