सोलुखुम्बु । लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले सोलुखुम्बुमा आयोजित ‘रेड पाण्डा म्याराथन २०२६’ शनिबार सम्पन्न भएको छ। खेलकुदलाई संरक्षण अभियानसँग जोड्दै स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय समुदायलाई रेड पाण्डा संरक्षणको महत्त्वबारे जानकारी गराउने तथा रेड पाण्डा संरक्षण अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताइएको छ ।
हिमालयन हेल्थ एन्ड इन्भाइरोमेन्टल सर्भिसेज सोलुखुम्बु, प्ले फर नेचर र रेड पाण्डा नेटवर्कको सहकार्यमा आयोजित म्याराथनको शुभारम्भ कलाकार दयाहाङ राईले गरेका थिए। कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले रेडपान्डा संरक्षणमा समुदायको भुमिका महत्त्वपूर्ण रहेको बताइन् ।
म्याराथनमा ४८ किलोमिटर र ५ किलोमिटर गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो। ‘रेड पाण्डा संरक्षण गरौँ’ भन्ने सन्देशसहित आयोजित म्याराथनको ४८ किलोमिटर दुरीमा थेक्छेन पेमा छोलिङ गोन्पादेखि पिके पिकसम्म र पुनः थेक्छेन पेमा छोलिङ गोन्पा आएर समापन भएको थियो भने ५ किलोमिटर अन्तर्गत बजार परिक्रम गरिएको थियो ।

म्याराथनमा ४८ किलोमिटर दौडको पुरुषतर्फ तिलक सुनुवार विजयी भएका छन्। प्रतियोगितामा अर्जुन कुलुङ राई दोस्रो, होमलाल श्रेष्ठ तेस्रो र गोपाल दावा चौथो भएका छन्। त्यसैगरी, महिलातर्फ जुम्लाकी चन्देवा बुढा विजेता बनेकी छन्। जुम्लाकै कल्पना बुढाले दोस्रो स्थान हासिल गरेकी छन्। ५ किलोमिटरतर्फ श्रीकास राई प्रथम भएका छन् । उक्त रनमा ३३० भन्दा बढी सहभागी थिए ।

महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ, तेस्रो हुनेले ५० हजार रुपैयाँ र चौथो हुनेले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै, फरेस्ट गार्डियन विधामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।यसैगरी, रेड पाण्डा कम्युनिटी रनमा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार र चौथो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। उक्त विधामा कुल १५ जनालाई विजेता घोषण गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वयमंसेवक तथा स्थानीयको सहयोग रहेको थियो ।







Comments are closed.