काठमाडौं । नेपाली अटोमोबाइल, यातायात तथा मोटरस्पोट्र्स क्षेत्रमा नवीन प्रविधि, आविष्कार र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘अटोनेपालिका २०८३’ को पहिलो संस्करण मंसिर ११ गते काठमाडौं विश्वविद्यालय परिसर धुलिखेलमा सम्पन्न भएको छ । ‘इनोभेसन, एक्सप्लोरेसन, ट्रान्सफरमेसन’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा २०० भन्दा बढीको उपस्थिति रहेको थियो ।
मोटरिङ नेपाल, काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विद्यार्थी संघ (एम्स) र अभियन्ताको संयुक्त आयोजनामा तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौं विश्वविद्यालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले विकास गरेका आविष्कार, प्राविधिक परियोजना तथा सवारीसाधनहरू प्रदर्शनीमा राखिएका थिए ।
काठमाडौं विश्वविद्यालयले विकास गरेको हाइड्रोजन कार विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो । त्यसैगरी, विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले निर्माण गरेका ६ वटा कार्टस्, काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले बनाएका ड्रोन, रोबोट तथा विभिन्न मेकानिकल आविष्कारहरू प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा नेपाली युवा आविष्कारक शहजाद आलमले निर्माण गरेको हाइब्रिड कारसमेत राखिएको थियो ।
उक्त प्रदर्शनीमा नासा नेपालले मोटरस्पोट्र्समा प्रयोग हुने सुरक्षा संरचना रोल केजसहितको कार तथा कार्ट प्रदर्शन गरेको थियो । साथै, मोटरस्पोट्र्समा प्रयोग हुने सुरक्षा ग्याजेटहरू रेसिङ सुट, पञ्जा, बुट, हेल्मेटलगायतका उपकरणहरू समेत प्रदर्शन गरिएको थियो ।
नेपाली अटोमोबाइल, मोटरस्पोट्र्स तथा यातायात क्षेत्रको इतिहास झल्काउने पोस्टरहरुको प्रदर्शनीे अर्को आकर्षण भएको थियो । प्रदर्शनीमार्फत नेपालमा सवारीसाधनको विकाससत्र, मोटरस्पोट्र्सको इतिहास तथा यातायात र मोविलिटीसम्बन्धी परिवर्तनबारे जानकारी प्रस्तुत गरिएको थियो ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा एम्सका प्रतिनिधि शिखा कँडेल र समृद्धि गौतमको सञ्चालनमा भएको औपचारिक सत्रको अध्यक्षता काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर विशाल सिलवालले गरेका थिए भने वरिष्ठ प्राध्यापक शिरापा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । उक्त समारोहमा एम्सका सचिव प्रसिद्ध खनालले अटोनेपालिकाको अवधारणा तथा उद्देश्यबारे प्रष्टाएका थिए । साथै, नासा फाउन्डेसन नेपालकी संयोजक डा. टीका ढकालले कार्यक्रमको पृष्ठभूमि तथा परिचय प्रस्तुत गरेका थिए । मोटरिङ्ग नेपालकी कमला छेत्रीको संयोजन र एम्सको सहकार्य यस कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा युवा आविष्कारक शहजाद आलमले ‘नेपालमा नवप्रवर्तन’ विषयमा आफ्नो अनुभव आदानप्रदान गर्दै आफूले निर्माण गरेको हाइब्रिड कारको अवधारणा, निर्माण प्रक्रिया र अनुभव प्रस्तुत गरेका थिए । मोटरिङ्ग नेपालकी कमला छेत्रीले संयोजन गरेकी थिइन् ।
त्यसैगरी प्रदर्शनीको अर्को सत्रमा ‘शैक्षिक क्षेत्र र नेपाली अटोमोबाइल’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो । जसमा काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर विशाल सिलवाल, नेपाल अटो मेकानिक्स संघका पूर्व अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नासा नेपालका मोबिलिटी म्यानेजर ई. किरण धिताल र नेपाल साइकल सोसाइटीका महासचिव राकेश महर्जन विषयविज्ञका रुपमा सहभागीता रहेको थियो ।
छलफलमा शैक्षिक क्षेत्र र उद्योगबीचको सहकार्य, नेपालको यातायात तथा मोविलिटीको वर्तमान अवस्था, सडक सुरक्षा, साइकल तथा पैदलयात्रीको सुरक्षा र अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन तथा अनुसन्धानका सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो । शैक्षिक संस्थामा हुने अनुसन्धान र विद्यार्थीका सिर्जनालाई व्यावहारिक प्रयोग तथा औद्योगिक विकाससँग जोड्नुपर्ने विषयमा समेत जोड दिइएको थियो ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा ‘काठमाडौं उपत्यकाकोे मोबिलिटीः हिजो आज र भोली’ शीर्षकमा काठमाडौं उपत्यकाको वर्तमान यातायात प्रणाली, चुनौती र सम्भावित समाधानबारे अध्ययन तथा नीतिगत सुझाव दस्तावेजको कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त अध्ययनले काठमाडौं उपत्यकाको सहरी यातायात तथा गतिशीलताको अवस्था अध्ययन गरी दिगो सहरी यातायात नीति निर्माणका लागि प्रमाणमा आधारित सुझाव प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रमको अन्त्यमा नासा नेपालका सचिव निरज खड्का क्षेत्रीले सहभागी सम्पुर्णलाई धन्यवाद मन्तव्य व्यक्त गर्दै ू अटोनेपालिका २०८३ ले विद्यार्थी, शैक्षिक संस्था, स्थानीय आविष्कारक, प्राविधिक तथा अटोमोबाइल क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा जोड्दै नेपाली मौलिक आविष्कार र प्राविधिक क्षमतालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको र यसले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन, शैक्षिक सहकार्य र दिगो यातायात विकासका लागि नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ भनेर औपचारिक कार्यक्रमको समापन गरेका थिए ।






Comments are closed.