पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मोटरसाइकल र स्कुटर हस्तान्तरण

पोखरा । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीबाट पुरस्कृत खेलाडीहरुलाई आइतबार मोटरसाइकल र स्कुटर हस्तान्तरण गरिएको छ । गत जेठ २४ गते सम्पन्न अवार्डमा वर्ष सर्बोत्कृष्ट खेलाडी बन्न सफल युकेश गुरुङ र सुष्मी श्रेष्ठलाई १÷१ थान मोटरसाइकल र स्कुटर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वर्ष सर्बोत्कृष्ट खेलाडी बन्न सफल प्याराग्लाईडिङका युकेश गुरुङलाई टीभीएस अपाचे मोटरसाइकल र वर्ष सर्बोत्कृष्ट महिला बनेकी फूल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठलाई वीगो स्कुटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा पोखरा स्पोर्टस अवार्डका मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिका अध्यक्ष आनन्दराज बतासले युकेश र सुष्मीलाई मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

पोखरा नयाँबजारस्थित बतास शो–रुममा आयोजित मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै बतास ब्रदर्श प्रालिका अध्यक्ष बतासले गुरुङ र श्रेष्ठको खेल जीवनमा अझ सफलता मिलोस् भन्दै शुभकामना दिए । उनले आगामी दिनमा पनि पोखरा स्पोर्टस अवार्डका लागि खेलकुद पत्रकार मञ्च गण्डकीसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा बतास ब्रदर्शका प्रबन्धक सन्तोष पोखरेलले पोखरा स्पोर्टस अवार्डलाई आगामी दिनमा पनि निरन्तरता दिएर खेलकुदलाई माथि उठाउन सहकार्य गर्ने बताए ।

कार्यक्रममा मञ्चका अध्यक्ष एकराज गिरीले पोखरा स्पोर्टस अवार्डलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मुख्य प्रायोजन गरेर सहयोग गरेकोमा बतास ब्रदर्शलाई धन्यवाद ज्ञापन गरे । साथै उनले अन्य सहयोगीहरुलाई पनि आभार व्यक्त गरे ।

पोखरा स्पोर्टस अवाड २०७५ मा बक्सिङका चित्रबहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यस्तै, वर्ष चर्चित खेलाडीमा सुटिङकी श्रेया केसी, उदीयमान खेलाडीमा क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षकमा फूल कन्ट्याक्ट कराँतेका दीपक गोदार हुन सफल भएका थिए । यसैगरी वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट विनोद लामिछाने र वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला बास्केटबल संघ कास्की सम्मानित भएका थिए ।

यसैबीच, आइतबार नै सम्पन्न मञ्चको ११ औं बैठकले अवार्डलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने संघ, संस्था, व्यक्ति सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

You might also like

Comments are closed.