प्याज प्रतिकेजी ७० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने

पोखरा ।  पोखरामा प्याजको अधिकतम मूल्य ७० रुपैयाँ कायम गरिएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका प्याज ब्यापारीहरुले प्याज स्टक राखेर कृत्रिम अभाव सिर्जना गरि मूल्य बृद्धि गरेपछि प्रशासनले प्याजको अधिकतम मूल्य तोकेको हो ।

प्रदेश अनुगमन समितिको अनुगमनको क्रममा प्याजको मूल्य तेब्बर पारेको भेटिएपछि पोखरा प्रदर्शनी केन्द्रस्थित कृषि उपज बजारको सटर नम्बर ५१ मा रहेको सन्दीप श्री ट्रेडर्सलाई सिल गरिएको थियो । सन्दीप श्री ट्रेडर्सले ४० रुपैयाँ प्रतिकेजी खरिद गरेको प्याज १११ रुपैयाँमा होलसेलमा बिक्री गरेको पाईएपछि सिल गरिएको हो ।

अनुगमनका क्रममा कयौं प्याज पसलहरुले प्याज स्टक रहेपनि कृतिम अभाव सिर्जना गर्न पसल बन्द गरेकोसमेत पाइएको थियो । तर प्रशासनले ब्यबसायीहरुसँगको छलफलपछि प्याजको अधिकतम खुद्रा मूल्य ७० रुपैयाँ कायम गरेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिए । खुद्रा मूल्य ७० रुपैयाँ प्रतिकेजी तोकिएपनि थोक मूल्य भने ५५ रुपैयाँ कायम गरिएको उनले बताए । हामीले प्याजको अधिकतम मूल्य तोकेका छौं,‘उनले भने,‘तोकेभन्दा बढी लिएको पाइए हामीलाई खबर गर्नुस्, हामी ती ब्यापारीलाई कार्वाही गर्छौं ।’

बजार अनुगमन अघि प्याजको खुद्रा मूल्य पोखरामा ८५ देखि ९० रुपैयाँ कायम थियो भने कतैकतै त १ सय भन्दा बढीमापनि बेचेको भेटिएको थियो ।

पोखरामा प्याजको थोक तथा खुद्रा मूल्य तोकिएपनि अभाव भने नहट्ने भएको छ । प्याज ब्यापारीहरुले आफूहरुसँग पोखरालाई ३ दिनसम्म मात्रै पुग्ने प्याज भएकाले त्यसपछि प्याजको अभाव पुनः हुने बताएका हुन् ।

तर प्रशासनले भने प्याजमा कालाबजारी गर्न चाहनेहरुले प्याजको अभाव देखाएर मूल्य बढाउनका लागि यस्तो हल्ला फिजाएको हुनसक्ने बताएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले प्याज तत्काल अभाव नहुने दाबी गरे । प्याजको अभाव तत्काल हुँदैन,‘उनले भने,‘मूल्य बढ्दा अभाव नहुने अनि मूल्य घट्दा अभाव हुने भन्ने कुरा सहि होइन ।’ प्याजको अभाव हुन नदिन सरकारले नै पहल गर्नुुपर्छ,‘उनले भने,‘उपभोक्तालेपनि यसको उपभोगमा कमी ल्याउनुपनि राम्रो हुन्छ ।’

अनुगमन समितिका सदस्य तथा उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपीलनाथ कोइरालापनि प्याजको अभाव नहुने दाबी गर्छन् । यो कालाबजारीहरुले चलाएको हल्ला मात्र हो,‘ब्यापारीहरुले लुकाएको प्याजले अझै केहि दिन मज्जाले पोखरालाई धान्छ, त्यसपछि सरकारले नै कित भारतबाट, होइन भने चीनबाट भएपनि ल्याईहाल्छ, प्याजको समस्या आईहाल्ने सम्भावना देखिन्न ।’ उनले पोखरामा गरिएको अनुगमनले देशब्यापी रुपमा जागरुकता ल्याएको र यसको अनुशरण गरेर अन्य जिल्लाहरुमा पनि अनुगमन गर्ने र प्याजको मूल्य तोक्ने काम भइरहेकोसमेत दाबी गरे ।

You might also like

Comments are closed.