पोखरा । समाजसेवामा समर्पित सन् १९७६ अर्थात् विसं २०३३ मा स्थापित ‘लायन्स क्लब अफ पोखरा’ले स्थापनाको ५० वर्ष पूरा गरी स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । ‘लायन्स क्लब अफ पोखरा’ नेपालकै छैटौं तथा पोखराको पहिलो लायन्स क्लब हो ।
पोखराका प्रतिष्ठित व्यापारी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबलाई विधिवत् रूपमा अगाडि बढाइएको थियो । त्यसबेला काठमाडौं र विराटनगरपछि पोखरामा लायनवाद भित्रिनु समग्र गण्डकी क्षेत्रकै लागि एक स्वर्णिम कोशेढुंगा साबित भएको संस्थापक सदस्य मेहरमान श्रेष्ठले स्मरण गरे ।
स्थापनाकालीन त्यो समय सम्झँदा आज पनि धेरैका मनमा अनौठो सिर्जनशीलता र कठिन दिनका कथाहरू ताजा हुने क्लबका संस्थापक कोषाध्यक्ष एवं मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले बताए ।
बुद्धिबहादुर भट्टचन, सुशीलकुमार गोशाली, कृष्णप्रसाद गुप्ता, कृष्णबहादुर गुरुङ, जर्ज जोन, राधेश्याम कमारो, बीबी कार्की, डा. सीपी मास्के, रामकृष्ण मजुमदार, गणेशकुमार प्रधान, हेमबहादुर प्रधान, सुरेन्द्रबहादुर प्रधान, कमलबहादुर प्रजू, भगवान श्रेष्ठ, द्वारिकाप्रसाद श्रेष्ठ, मेहरमान श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, सिद्धबहादुर श्रेष्ठ, हेलबहादुर शिल्पकार, पृथ्वीबहादुर सिंह, श्याममोहन सिंह, वीरेन्द्रकुमार थकाली, विमलबहादुर थापा, पन्नामान तुलाधर, राघवलाल वैद्य र अमृतप्रसाद शेरचन क्लबका संस्थापक सदस्य हुन्।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्य संयोजक गोशलीले समाजमा व्याप्त विभिन्न भ्रम, आर्थिक अभाव र प्रशासनिक उल्झनका बाबजुद अग्रजहरूले आफ्नै व्यक्तिगत खल्तीबाट पैसा खर्च गरेर, ड्युज तिरेर र समाजसेवालाई अगाडि बढाएर यो संस्थालाई बचाएको स्मरण गरे ।
स्थापनाकालदेखि नै समाजमा शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा सामाजिक सचेतनाका क्षेत्रमा विभिन्न सेवामूलक गतिविधिमार्फत यस क्लबले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विगत ५० वर्षको यस लामो यात्रामा क्लबले कास्की, तनहुँ र पर्वत लगायतका दुर्गम ग्रामीण क्षेत्रहरूमा विद्यालय भवन निर्माण, खानेपानी आयोजना, निःशुल्क आँखा शिविर तथा दूरगामी स्वास्थ्य सेवालगायतका अर्बौं रुपैयाँ बराबरका विकास तथा मानवीय सेवा आयोजनाहरू सम्पन्न गरिसकेको छ । पोखरा लायन्सकै सक्रियता र प्रेरणाका कारण पछि गएर नारायणगढ, गण्डकी, अन्नपूर्ण, लेकसिटी, फिस्टेल जस्ता दर्जनौँ नयाँ क्लबहरू जन्मिई पोखरालाई ‘लायन्स नगरी’ का रूपमा स्थापित गराउन ठूलो सहयोग पुगेको छ । स्थापनाकालदेखि हालसम्म यस क्लबमा ४४ जनाले नेतृत्व सम्हालिसकेका छन् भने हाल क्लबमा ४२ जना सक्रिय सदस्यहरू कायम छन् ।
आगामी मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा भव्य ‘स्वर्ण महोत्सव समारोह’ आयोजना गर्न लागिएको बताइएको छ । यो स्वर्ण जयन्ती समारोह केवल एउटा साधारण स्थापना दिवसको उत्सव मात्र नभई, ५० वर्षको अवधिमा गण्डकी क्षेत्रमा लायन्स अभियानमार्फत भएका सामाजिक रूपान्तरण र ऐतिहासिक योगदानको समीक्षा गर्ने विशेष थलो रहेको क्लब अध्यक्ष डा. माधव तिवारीको भनाइ छ ।
समारोहका अवसरमा क्लबका संस्थापकहरू, पूर्वअध्यक्षहरू तथा लायनवादका माध्यमबाट समाजमा विशिष्ट योगदान पु¥याउने वरिष्ठ अग्रजहरूलाई विशेष सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । साथै, विगत ५० वर्षयता गरिएका सामाजिक गतिविधिको ऐतिहासिक अभिलेख समेटेर तयार पारिएको विशेष ‘स्वर्ण महोत्सव स्मारिका’ को पनि विमोचन गरिनेछ ।
क्लबका अध्यक्ष डा. माधव तिवारीले ५० वर्षसम्म संस्थालाई जीवित राख्नु र समाजसेवामा समर्पित हुनु आफैँमा एउटा ठूलो यज्ञ सरह भएको बताएका छन् । कार्यक्रमका प्रमुख संयोजक तथा पूर्वअध्यक्ष सुशीलकुमार गोशलीले स्थापनाकालदेखिका संघर्ष र उपलब्धिबारे प्रकाश पार्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । मल्टिपल काउन्सिलका निवर्तमान चेयरपर्सन मिलन थापा, डिस्ट्रिक्ट गभर्नर प्रजापति बास्तोलाले पोखरा लायन्सले समाजमा पु¥यााएको योगदानको उच्च प्रशंसा गरेका छन् ।
स्थापनाकालदेखि हालसम्म यस क्लबका हरेक कदम र सामाजिक कार्यहरूलाई आम जनमानसमा पु¥याउन सञ्चार माध्यम र पत्रकारले खेलेको भूमिकाप्रति कृतज्ञता वइक्त गर्दै स्वर्ण महोत्सवको प्रचारप्रसारमा अझ बढी सक्रिय सहकार्यका लागि क्लबका पूर्व अध्यक्ष दीपेन्द्र कोइराला आग्रह गरेका छन् ।






Comments are closed.