पोखरा । पोखरा लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पा पुनः उत्कृष्ट करदाता बन्दै सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८१÷८२ मा कास्की जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये रिसोर्टलाई छनोट गरी तेस्रो पटक यो सम्मान प्रदान गरेको हो ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापनको अवसरमा आयोजित विशेष समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले रिसोर्टका अध्यक्ष वसन्त गौतमलाई दोसल्ला, माला तथा सम्मानपत्रसहित सम्मान गरे ।
कर कानुनको पूर्ण पालना गर्दै नियमित रूपमा राज्यलाई कर योगदान पु¥याउँदै आएको रिसोर्टले यसअघि करिब चार वर्षअघि समेत उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको थियो ।
सम्मान ग्रहण गर्दै अध्यक्ष गौतमले नियमसङ्गत रूपमा व्यवसाय सञ्चालन गर्दै राज्यको आर्थिक विकासमा योगदान पु¥याउन पाउँदा खुसी लागेको बताउँदै आन्तरिक राजस्व कार्यालयप्रति आभार व्यक्त गरे ।
परम्परागत नेपाली वास्तुकला र आधुनिक सुविधायुक्त आतिथ्य सेवाका लागि परिचित टेम्पल ट्री रिसोर्टले स्वदेशी तथा विदेशी पर्यटकलाई स्तरीय आवास, स्पा, स्विमिङ पुल, कन्फ्रेन्स हल तथा मौलिक परिकारसहितको सेवा प्रदान गर्दै आएको छ । यस वर्ष कास्कीबाट टेम्पल ट्रीसँगै एक्सेस कन्स्ट्रक्सन प्रालि र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् ।






Comments are closed.