प्याराग्लाइडिङ वल्र्डकप आजदेखि, ४ स्वर्णका लागि २१ राष्ट्रका ९८ जनाले प्रतिष्पर्धा गर्ने

सन्देश श्रेष्ठ
पोखरा, १५ कात्तिक । स्याङ्जामा आजदेखिी प्याराग्लाइडिङ वल्र्डकप हुँदैछ । स्याङजाको स्वरेक मैदान (भिरकोट) र डौंवाफाँटमा नेपालमै पहिलो पटक प्याराग्लाईडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) वल्र्ड कप २०१८ हुन लागेको हो । नेपाल पाराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता कात्तिक १५ गतेदेखी १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन आज समुद्घाटन कार्यक्रम हुनेछ भने आज अभ्यास खेल मात्र हुनेछ ।

प्रतियोगितामा महिला पुरुष दुबै इभेन्टमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्ण पदकका लागि प्रतिष्प्रर्धा हुने मुल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सिताकुमारी सुन्दासले जानकारी दिईन् ।

सुक्रबारदेखि मात्र प्रतियोगितात्मक प्रतिष्पर्धा हुनेछ । प्रतियोगिले एकै दिनमा दुई राउण्ड अर्थात दुई वटा फ्लाईट गर्नुपर्ने हुन्छ । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटकसम्म ल्याण्डिङ गर्नु पर्नेछ ।

प्रतियोगितामा २१ देशका ९८ जना प्याराग्लाईडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाईलटहरुले सहभागिताको लागि नाम दर्ता गराइसकेको सुन्दासले जानकारी दिईन् । यसअघी ३० देशका पाइलटहरुले सहभागिता जनाउने भनिएपनि सबैले नाम दर्ता नगराएको बताइएको छ । यद्वपी पाइलटहरुले नाम दर्ता गराउने क्रम जारी रहेको सुन्दासले बताईन् ।

प्रतियोगितामा एक सय ५० जनासम्मले प्रतिष्पर्धामा सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न प्याराग्लाईडिङको सर्बोच्च निकाय एफ.ए.आई.का प्रतिनिधिहरुको ३ सदस्यीय टोलीसमेत स्याङजा आउने संयोजक राउतले बताए । उनका अनुसार एफ.ए.आई.का प्रतिनिधि ईण्डोनेसियाका उगा र मुनिर तथा मलेसियाका नादिया आउन लागेका हुन् ।

प्रतियोगितामा हुनसक्ने दुर्घट्नालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि पाइलटहरुको सुरक्षाका लागि रेस्क्यू टिम, एम्बुलेन्स र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरामा यसअघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाईडिङ र पोखरा तथा स्याङजाको स्वरेकमा प्रि–वल्र्ड कप गरिएको थियो ।

१८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाईडिङको क्रस कन्ट्रीतर्फ रजत पदक हात पार्न सफल भएको थियो ।

जिल्ला समन्वय समित स्याङ्गजाको सहयोगमा हुने प्रतियोगिताको समूहतर्फ स्वर्ण पदक बिजेताले १५ सय, रजत पदक बिजेताले २ सय र काश्य पदक बिजेताले ७ सय युरो प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगततर्फ स्वर्ण पदक बिजेताले १ हजार, रजत पदक बिजेताले ७ सय ५० र काश्य पदक बिजेताले ५ सय युरो प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करीब १ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संयोजक शैलेन्द्र राउतले बताए ।

lcci
You might also like

Comments are closed.