बीच भलिबल प्रतियोगिता शुरु

पोखरा, १ भदौ ।
पोखराको फेवाताल किनारमा शुक्रबारदेखि अन्तर क्लब खुल्ला पुरुष बीच भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघले प्रतियोगिताको आयोजना गरेको हो ।

पोखराको बैदामस्थित बाराहीघाटको बीच भलिबल कोर्टमा शुरु प्रतियोगितामा आर्मी र सशस्त्रको ४ विभागीयसहित २२ टिमको सहभागिता छ । जसमा विभागीय आर्मीको २, सशस्त्र प्रहरीको एपीएफबाट २, कास्की जिल्ला भलिबल संघबाट ६ वटा र बाँकी अन्य क्लब तथा जिल्लाबाट सहभागिता जनाएको छ ।

उद्घाटन खेलमा कास्की जिल्ला भलिबल संघको ‘बी’ टिमले नेपाली सेनाको सिद्धिबक्स गण फूलबारी ‘ए’लाई २१–१७, १५–२१ र १५–११ ले जित्यो । कास्की जिल्ल भलिबल संघ ‘बी’ को टिममा पुजन गुरुङ र धीरेन छन्त्याल थिए भने नेपाली आर्मीको सिद्धिबक्स गणको ‘ए’ टिममा रामकुमार श्रेष्ठ र तेजबहादुर बिठाडीले प्रतिस्पर्धा गरेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भलिबलका राष्ट्रिय रेफ्री राजन पौडेललाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

मन्त्री गुरुङले कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए । सिंगो गण्डकी प्रदेशकै खेलकुद विकासका लागि प्रदेश सरकारले एकेडेमी, परिषद तथा बहुउद्देश्यीय रंगशाला निर्माणको योजनालाई अघि सारेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले खेलकुद क्षेत्रको नीतिगत र कानूनी समस्याको पहिचान गरी त्यसको निराकरण गर्न चाहेको प्रष्ट पारे । उनले खेलकुदको माध्यममार्फत गण्डकी प्रदेशलाई सबैभन्दा विशेष महत्वको प्रदेश बनाउन सकिने औंल्याए ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई स्पोर्ट्स सिटिका रुपमा विकास गर्न सकिने बताए । खेलकुद मन्त्रालयमा आफू कार्यरत हुँदा पोखरालाई स्पोर्ट्स सिटिका रुपमा विकास गर्न विज्ञ टोली खटाएको र उक्त विज्ञ टोलीले प्रतिवेदनसमेत बुझाइसकेको सचिव दाहालले उल्लेख गरे ।

नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बीच भलिबलबाट पदक ल्याउने संभावना रहेको बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका गुरुङले एसियाडमा नेपालले बीच भलिबलबाट पदक जित्ने गरी तयारी थालेको औंल्याए ।

कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पु¥याएको भन्दै श्रम मन्त्रालय सचिव महेशप्रसाद दाहाल, नेपाली सेनाका पूर्व उपरथी भिक्टरशंशेर जबरा, नेपाल भलिबल संघका राष्ट्रिय प्रशिक्षक कपिलकिशोर श्रेष्ठ, पत्रकार धन बस्नेत र युवा समाजसेवी महेन्द्रबहादुर गुरुङलाई दोसल्ला ओढाएर कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक ताराप्रसाद पराजुलीले स्वागत एवं प्रतियोगितबारे प्रकाश र संघका सचिव कुमार गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी र अनुशासित टिमका लागि समान ५÷५ हजार नगदसहित ट्रफी पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक ताराप्रसाद पहारीले जनाए । प्रतियोगिताको लागि नेपाल भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल भलिबल संघ र नेपाल पर्यटन बोर्ड पोखराको सहयोग रहेको छ ।

विकसित मुलुकहरुको प्राय समुन्द्री किनारको बालुवामा २÷२ जनाले खेल्ने बीच भलिबल प्रतियोगिता पोखरामा भने चौथो पटक आयोजना गरिएको हो । यसभन्दा अघि, पोखरा बैदामको बाराहीघाटस्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा दुई पटक र बाटुलेचौरमा एक पटक राष्ट्रियस्तरको खुल्ला बीच भलिबल प्रतियोगिताको आयोजना गरिएको कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

lcci
You might also like

Comments are closed.