बेगनासमा फिस फेष्टीवल जेठ १३ देखि हुने

 

सन्देश श्रेष्ठ

पोखरा, ८ जेठ

jutta mela

सात तालको बगैंचा शहर लेखनाथमा जेठको दोश्रो सातादेखि फिस फेष्टिवल तथा कृषि व्यापार मेला हुने भएको छ । यसअघी फिस फेस्टिवलको रुपमा हुँदै आएको महोत्सवलाई यस वर्ष कृषिसँग जोडेर खि फिस फेष्टिवल तथा कृषि व्यापार मेला गर्न लागिएको हो । होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथ र जिल्ला मत्स्य व्यवसायी समिति कास्कीको संयुक्त आयोजनामा हुने पाचौ संस्करको महोत्सव यहि जेठ १३ गतेदेखि २० गतेसम्म हुने बुधबार लेखनाथको बेगनासतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

फेष्टीवलमा वेगनासताल, फेवाताल, रुपाताल, दिपाङ, मैदी र खास्टे ताल तथा स्थानिय पोखरी र जलाधार क्षेत्रमा रहेका माछाहरु विक्री तथा वितरणमा राखिने फेष्टीवल संयोजक दामोदरभक्त थापाले जानकारी दिए । फेष्टिवलमा २३ प्रकारका माछाहरु विक्रीका लागि राखिनेछन् भने माछाको झोल, माछा फ्राई, माछा सुकुटी, माछा पोलेको लगायतका परिकारहरुको स्वाद लिन पाइने उनले बताए ।

त्यस्तै, माछाको बारेमा जानकारी लिन चाहानेहरुको लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यबस्था, विरामी माछाको जाँच तथा औषधीसमेत गर्ने व्यवस्था मिलाईने संयोजक थापाले बताए । बेगनाससहित सात ताल नजिकका क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नु, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नु, त्यहाँ उत्पादित माछा, मह, कफि, जडीवुटीहरुको प्रचार प्रसार, स्थानीय माछाको संरक्षणसहित तालहरुको संरक्ष्ण गर्ने उद्धेश्यले फेष्टिवल आयोजना गरिएको एशोसिएसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले सात ताल, जैविक विविधता, मनोरम हिमश्रृंखला, विभिन्न जातका चराचुरुङगी, जंगली जिवजन्तु लगायतको संरक्षण गर्न पनि महोत्सवले सहयोग पुग्ने उनले बताए । पर्यटनमा अफ सिजन मानिने यो बेला गरिएको महोत्सवले सुस्ताएको आर्थिक क्षेत्रलाई चलायमान गराउने अपेक्षा गरिएको उनले बताए ।

फेष्टिवलको अवसरमा मोटरबोटमा ताल सयर तथा वराह मन्दिर दर्शन गर्ने व्यवस्था, विभिन्न घरयासी सामानहरु एकै थलोमा उपलब्ध हुने, माछा, मह तथा कफी प्रदर्शनी तथा विक्री, जडीवुटि प्रर्दशनी, माछा तथा खानाका परिकारहरुको प्रदर्शनी तथा बिक्री गरिने भएको छ । फेष्टिवलको अवसरमा लेखनाथको अग्लो स्थानमा रहेको सुन्दरीडाँडा भ्यूटावरको अवलोकन तथा लेखनाथको पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्क अवलोकनका गराइने भएको छ । जसका लागि दैनिक रुपमा बसको ब्यबस्था गरिने लेखनाथ होटल तथा रेष्टुरेण्ट एसोसियसनका पूर्व अध्यक्ष दुर्गा अधिकारीले जानकारी दिए ।

महोत्सवको अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगितालगायतका कार्यक्रमपनि हुने उनले बताए । महोत्सवमा पप कन्सर्ट, लोकदोहोरी, वाल उद्यान लगायतका कार्यक्रम मुख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा पहिलोपटक गण्डकी प्रदेश स्तरिय दोहोरी गीत प्रतियोगिता आयोजना गरिने उनले बताए ।

महोत्सवको अवसरमा दश प्रतिशत छुट दिइने भएको छ । महोत्सव अवधीभर होटल तथा रेष्टुरेण्टहरुको विल तथा डुंगा सयरमा दश प्रतिशत छुट दिइने पूर्व अध्यक्ष अधिकारीले जानकारी दिए ।

महोत्सवको अवसरमा गरिने डुंगा दौड तथा वोटिङलाई सुरक्षित बनाउन सशस्त्र प्रहरीको गोताखोर टोलीलाई तैनाथी अवस्थामा राखिने इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङ्गद बरालले बताए ।

महोत्सवका लागि पूर्ण रुपमा सुरक्षित बनाइने र त्यसका लागि आवश्यक जनशक्ति तैनाथी अवस्थामा राखिएको इलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीका ईञ्चार्ज तथा प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले बताए ।

फेष्टिवलमा करीब ४० हजार दर्शकले अवलोकन र करीब १ करोडको कारोवार हुने जनाइएको छ । महोत्सवबाट २८ लाख आम्दानी गरेर २५ लाख खर्चिएर ३ लाख बचत गर्ने लक्ष्य राखिएको महोत्सव संयोजक दामोदरभक्त थापाले जानकारी दिए । उनका अनुसार बचत रकम माछा संरक्षण तथा पर्यटन प्रवद्र्धनमा खर्च गरिनेछ ।

माछामात्रै ३५ लाखको कारोबार हुने

फेस्टिवलको अवसरमा माछाको मात्रै करीब ३५ लाखको कारोबार हुने आयोजकले दाबी गरेको छ । फेस्टिवलमा करीब ८ हजार केजी माछा बिक्री हुँदा ३५ लाख बराबरको माछाको कारोबार हुने अपेक्षा गरिएको फेष्टीवल संयोजक दामोदरभक्त थापाले बताए । उनका अनुसार दैनिक एक हजार केजी माछाको कारोबार हुने अपेक्षा गरिएको छ ।

माछाको मूल्य जात अनुसार फरक फरक हुने गरेको जिल्ला मत्स्य व्यवसायी समितिका अध्यक्ष दयाराम तिवारीले बताए । उनका अनुसार आयातित तिलापिया जातको माछाको प्रति केजी २ सय ८० पर्छ भने स्थानिय जातको सहर माछाको मूल्य प्रतिकेजी ७ सय भन्दा बढी पर्ने उनले बताए ।

कास्कीमा वार्षिक ३ सय मेट्रिक टन माछा खपत हुनेगर्छ । जसमध्ये आधा हिस्सा मात्रै स्थानिय उत्पादनले धान्छ भने बाँकी आधा हिस्सा चितवनलगायत तराईका जिल्लाबाट आयात हुन्छ । यसअघीका वर्षहरुमा भारतबाट माछा आयात हुँदै आएको भएपनि पछिल्लो समय भारतीय माछा ल्याउने प्रक्रियामा कडाई गरेपछि आउन छाडेको बताईन्छ ।

पोखराको फेवातालमा वार्षिक ५२.५ मेट्रिक टन, बेगनास तालमा १६ मेट्रिक टन र रुपातालमा सबैभन्दा धेरै ५६ मेट्रिक टन माछा उत्पादन हुने गरको छ । उनका अनुसार फेवातालमा २३ प्रकारका स्थानिय जातका र ७ प्रकारका विदेशी जातका माछाहरु तथा बेगनासताल र रुपातालमा २३ देखि २५ जातका माछा रहेका छन् ।

तालहरुमा आयातित माछा इलापिया सबैभन्दा धेरै रहेको जनाइएको छ । प्रमुख नेपालका अनुसार फेवातालमा ६६ प्रतिशत, बेगनासमा ५० प्रतिशत र रुपातालमा ४४ प्रतिशत माछा इलापिया रहेका छन् ।

कास्कीमा तालबाहेक पोखरीमा माछा पालन गर्ने करीब ५०० व्यवसायी रहेको जिल्ला मत्स्य व्यवसायी कास्कीका अध्यक्ष दयाराम तिवारीले जानकारी दिए ।

You might also like

Comments are closed.