‘मदिराले महिला हिंसा र वलात्कार बढ्यो, अब मदिरा नियन्त्रण गर्ने कानून चाहिन्छ’

सन्देश श्रेष्ठ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मदिरा नियन्त्रण गर्ने चाहना ब्यक्त गरेका छन् । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम दिन संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले मदिराकै कारण महिला हिंसा, वलात्कार र हत्याजस्ता जघन्य अपराध बढेको भन्दै त्यस्ता आपराधिक कृयाकलाप रोक्नका लागिपनि मदिरा नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

देशमा गणतन्त्र आयो, संघीयता आयो, लोकतन्त्र, त्यसमापनि समावेशी लोकतन्त्र आयो,‘उनले भने,‘तर महिला हिंसा डरलाग्दो रुपमा बढ्दो छ, घर, परिवार र आफन्तबाटै त्यस्ता घट्नाहरु भइरहेका छन्, यसको मूख्य कारण मदिरा सेवन नै हो ।’ मदिरा सेवन खुल्ला हुँदा जसले जतिबेला र जहाँपनि खाएर बस्ने र आपराधिक कृयाकलाप गर्ने भन्दै उनले थपे,‘त्यसैले मदिरा सेवनकोपनि त समयको पावन्दी हुनु प¥यो नि । रोकथाम र नियमन हुनु प¥यो नि ।’ यसो गर्न सकिएमा महिला हिंसा, वलात्कार र हत्याजस्ता जघन्य अपराध केहि न केहि घट्ने उनले विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले आगामी हिउँदे अधिवेशनमा मदिरा नियन्त्रण सम्बन्धी विधेयक ल्याउने संकेत गरे । अर्को अधिवेशनमा मदिरा नियन्त्रण सम्बन्धी प्रदेश सरकारले विधेयक ल्याएर छलफल गर्न पाइयोस् । खासगरि यसबारे मैले नै सोंचिरहेको छु ।’ हाम्रो नियम, हाम्रो कानून जीवनको लागि होस्,‘उनले थपे,‘जसले गर्दा नागरिकको जीवन बाँचोस्, नागरिकको भय हटोस् । होइन भने भाषण र नाराले मात्र केहि हुँदैन ।’ उनले संसदको शून्य र विशेष समयमा मदिरा नियन्त्रण र महिला हिंसा, वलात्कार र हत्या रोक्नेबारेमा सांसदहरुले कुरा उठाउनुपर्ने बताए ।

फरक प्रसङ्गमा मुख्यमन्त्री गुरुङले दशैं हिन्दुहरुको मात्र नभई सम्पूर्ण नेपालीको भएको बताए । दशैं हिन्दुहरुले मात्र होईन,‘उनले भने,‘दशैं बुद्ध धर्म मान्नेहरु, मुश्लिम, क्रिश्चियनहरुलेपनि मनाउँछन्, टिका नलगाउला तर मासु त खान्छन् नि ।’ उनले सबैले मनाउने भएकैले दशैंलाई बडादशैं भनिएको बताए ।

बर्खे अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको नया नक्सा बनाउनेबारे जुटेको सहमतिले राष्ट्रियताको सवालमा आफू अनुकुल ब्याख्या गर्ने परम्परालाई ब्रेक गरेपनि नेपालको उक्त नया नक्सा किताबमा नछाप्न प्रधानमन्त्रीले निर्देशन दिदा आशंका पैदा भएको बताए । उनले सरकार यदि कहिंबाट प्रभावित भएको भए त्यसप्रति सचेत भएर खबरदारी गर्न आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले सरकारले काममा सुधार र गति नलिदा सामाजिक सञ्जालमा सरकार र राजनीतिप्रति असन्तुष्टी बढेको बताए ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले बुढी गण्डकी आयोजनामा ३ जना पूर्व प्रधानमन्त्रीले ३÷३ अर्ब खाएको कुरा आएको भन्दै त्यसबारे छानविन गर्न नसक्नुले थप आशंका बढाएको बताए । यसबारे पूर्व प्रधानमन्त्रीले आवाज उठाउँदापनि छानविन भएन,‘उनले भने,‘यस विषयमा सुशासनका लागि आवाज उठाउनेहरुसमेत चोचोमोचो मिलाएर तैं चुप, मै चुप भएर बसेका छन् ।’

You might also like

Comments are closed.