महिला समूहको नवीकरणमा वडाध्यक्ष बाधक (भिडियोसहित)

सन्देश श्रेष्ठ

पोखरा । महिला समूहको नवीकरणमा वडाध्यक्ष बाधक बनेका छन् । अमरसिंह महिला समूहको नवीकरणमा पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजकुमार गुरुङ बाधक बनेका हुन् । उनले ७ महिनादेखि सो समूहको नवीकरण रोकेका छन् । नवीकरण रोकेपनि नवीकरणका लागि वडा कार्यालयले रसीद भने ७ महिना अघि नै काटिसकेको छ । तर वडाले अझै नवीकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस नगर्दा अमरसिंह महिला समूहको नवीकरण रोकिएको हो भने सोही कारण सो समूह अवैध बन्न बाध्य भएको छ ।

नवीकरण रोकिनुमा वडाध्यक्ष राजकुमार गुरुङको राजनीतिक पूर्वाग्रह मुख्य कारण रहेको महिला समूहले आरोप लगाएको छ । वडाध्यक्ष गुरुङ भने समूहकै केही सदस्यले वडामा विवाद रहेको भन्दै निवेदन दिएकाले नवीकरण रोक्नुपरेको बताउँछन् । महिला समूहका सदस्यहरु भने निवेदनका नाममा वडाध्यक्षले राजनीति गरेको आरोप लगाउँछन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गुरुङले नेकपा निकटकी पूर्णकला पोखरेल अध्यक्ष भएकैले असन्तुष्ट २ महिला सदस्यको कुरा सुनेर नवीकरण रोकेको उनीहरुको आरोप छ । बहुमत सदस्य आफूहरुसँग भएको र विधानसम्मत ढंगले सर्वसम्मत नेतृत्व चयन भएकाले यहि नेतृत्वलाई मान्यता दिएर वडाले नवीकरण गर्नुपर्ने उनीहरुको माग छ ।

jutta mela

घट्ना श्रृंखला अन्तर्गत ७ महिना अघि अमरसिंह महिला समूहको अधिवेशन भएको थियो । सो अधिवेशनबाट पूर्णकला पोखरेल अध्यक्षमा सर्वसम्मत चयन भइन् । पोखरेलको अध्यक्षतामा गठित समितिको सदस्यमा अहिले निवेदन दिएको भनिएकी गीता कार्की पनि चयन भइन् । उनले पोखरेलसँगै सपथ पनि लिइन् । जुन तस्बिरमा प्रष्ट देखिन्छ ।

तर समितिको चौथो मिटिङमा आएर निर्वाचित सदस्य कार्की र अर्की मनोनित सदस्य सृजना शर्माले अध्यक्ष अमरसिंहचोक भन्दा बाहिर टोलको भन्दै बिरोध जनाउन शुरु गरे । पोखरेल पोखरा १७ की हुन् । अध्यक्ष पोखरेल अमरसिंहचोक बाहिर भएकैले अध्यक्ष बन्न नहुने उनीहरुको भनाई छ । उनीहरुको असन्तुष्टी जारी रहँदा समूहले नवीकरणका लागि वडामा निवेदन दियो । सोहि दिन वडाले तोकेको ४ सय रुपैयाँ तिरेपछि समूहलाई वडाले नवीकरण रसीद थमायो र वडाध्यक्ष नभएकाले अर्को दिन तोकआदेश लिन बोलायो । वडाले बोलाएको दिन समूहकी अध्यक्ष पोखरेलसहितको टोली वडाध्यक्ष गुरुङलाई भेट्न पुगे । तर वडाध्यक्ष गुरुङले विवाद रहेको भन्दै नवीकरण नहुने बताए । उल्टो उनले अध्यक्ष पोखरेललाई राजिनामा दिएर मार्गप्रशस्त गर्न आदेश दिए ।

वडाध्यक्ष गुरुङले अमरसिंह महिला समूह अमरसिंहचोक वरपरको मात्रै भएकाले बाहिरका मान्छेले सो समूहको नेतृत्व गर्न नपाउने दाबी गरे । निवेदन दिने महिलाहरुको माग अनुसार कि त अध्यक्ष परिवर्तन गर्न वा पुनः भेला गरेर अध्यक्ष चयन गर्न उनले दवाब दिएको अमरसिंह महिला समूहकी निवर्तमान अध्यक्ष सविता श्रेष्ठ रञ्जितले बताइन् । तर महिला समूहको वर्तमान नेतृत्व वडाध्यक्षले भनेजसरी अध्यक्ष परिवर्तन गर्न नसक्ने अडानमा बसे ।

समूहको आजीवन सदस्य र २ कार्यकाल सचिव भइसकेकाले पोखरेल अध्यक्ष बन्न नमिल्ने तर्कमा कुनै तुक नहुने उनीहरुको भनाई छ । विधानमा शुरुमा अमरसिंह वरपर बसोबास गर्नेहरुको संस्था भनेपनि गत साधारणसभाले विधान परिवर्तन गरी पोखरा महानगरपालिकाको जुनसुकै ठाउँमा बसोबास गर्ने महिला सदस्य तथा पदाधिकारी बन्नसक्ने ब्यबस्था गरेको उनीहरुको तर्क छ । साधारणसभाले विधान परिवर्तन गरेपनि वडामा दर्ता नभएकाले नवीकरण दिन नमिल्ने वडाध्यक्ष गुरुङको भनाई छ । तर महिला समूहकी निवर्तमान अध्यक्ष रञ्जित भने वडाध्यक्ष गुरुङले वडामा विधान दर्ता गर्न नदिई समस्या थपेको बताउँछिन् ।

वडाले नवीकरण रोकेपछि महिला समूहले पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पनि गुहारिसकेको छ । जसमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र सहायक प्रमुख जिल्ला अधिकारीले वडाध्यक्ष गुरुङलाई नवीकरण नरोक्न निर्देशन दिइसकेका छन् । यो कुरा वडाध्यक्ष गुरुङ स्वयम् स्वीकार्छन् । भन्छन्, ‘सिडियो, सहायक सिडियो, मेयर, उपमेयर सबैले नवीकरण नरोक भनेर फोन गर्नुहुन्छ, तर मैले किन नरोक्ने ? ।’ विवाद भएकाले पठाउन नमिल्ने उनको तर्क छ । उनले प्रधानमन्त्रीले नै निर्देशन दिएपनि नवीकरण नगर्ने अडान राखेको समूहकी एक सदस्यले बताइन् । वडाध्यक्ष गुरुङले रसीद काट्नु वडाको कमजोरी भएको स्वीकारे । तर कर्मचारीले नबुझ्दा रसीद काटिएकाले यसलाई ईस्यू बनाउन नहुने बताए ।

पोखरा महानगरपालिकाका कानुन महाशाखा प्रमुख नारायणप्रसाद शर्मा वडाले नवीकरण रोक्न नमिल्ने बताउँछन् । उनले भने, ‘वडाले समन्वय गर्ने हो, विवाद छ भने विवाद मिलाउने हो, तर लामो समयसम्म यसरी नवीकरण रोक्न मिल्दैन ।’

यसैबीच, अमरसिंह महिला समूहका सदस्यहरुले सोमबार वडा कार्यालय घेराउ गरे । उनीहरुले वडाध्यक्षको कार्यकक्षमै पसेर घेराउ गर्नुका साथै ‘हामीलाई न्याय दे, राजनीतिक पूर्वाग्रहका आधारमा वडाध्यक्षले भेदभाव गर्न पाईंदैन, बिना शर्त नवीकरण गर, लगायतका नारासमेत लगाएका थिए ।

वडाले भने पुनः भेला गरेर मात्रै नवीकरण गर्ने जनाएको छ । वडाध्यक्ष गुरुङले पुनः भेला गरेर टुंगो लगाउने भन्दै त्यसका लागि तयारी गर्न अन्यथा नवीकरण नगर्ने बताए । तर महिला समूह भने पुनः भेला गर्नुपर्ने कारण नै नभएकाले पुनः भेला नगर्ने अडानमा छन् । यसअघि वडाध्यक्ष गुरुङमाथि हिमाल आमा समूहमा पनि नेकपा समर्थित नेतृत्व आएपछि यसरी नै दुःख दिएर नवीकरण रोकेको आरोप लागेको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर १० को कार्यालय घेर्दै महिलाहरू । महिला समूह गठनमा विभेद गरिएको भन्दै उनीहरू आन्दोलित छन् ।

Gepostet von Arthik Awaj am Montag, 15. Juli 2019

You might also like

Comments are closed.