तनहुँ,२७ फागुन
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज वैशाखदेखि सञ्चालनमा आउने भएको छ । विश्व बैंकको १२ करोड रुपैयाँ लागतमा निर्माणाधीन उक्त पुल दशैंपछि सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि विविध प्राविधिक समस्याका कारण केही महिना ढिलो गरी सञ्चालनमा ल्याउन लागिएको हो । चैत मसान्तसम्म संरचना निर्माण भइसक्ने र वैशाख १ गतेबाट सञ्चालन ल्याउने तयारी रहेको पुल महाशाखा प्रमुख दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार केही दिनभित्रै ढलान सकिने र रेलिङ हाल्ने, एप्रोच रोड बनाउने लगायतका काम शुरू गरिनेछ ।
मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसीसी मोटरेबल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवागमनमा सहज हुने अपेक्षा गरिएको छ । १ सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको रहेको छ । ०७१ फागुनदेखि काम थाल्ने गरी निर्माण सम्झौता भएको पुल फरक डिजाइनको भएकाले पनि कठिनाइका कारण तोकिएको समयमै पूरा गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ ।आर्क ब्रिज सामान्य पुलभन्दा तुलनात्मक रूपमा बलियो र टिकाउ मानिन्छ । लागत समेत कम लाग्ने बताइएको आर्क ब्रिजमा सवारी साधनले उत्पन्न गर्ने कम्पन शून्य बराबर विज्ञहरुको भनाइ छ ।
‘आर्क डिजाइन’को उक्त पुल इलाइट एड्भेन्चर र लोहनी जेभी कम्पनीले निर्माण गरिरहेका छन् । निर्माणाधीन अवस्थामा नदीको बहाब बढेको, संवेदनशील र अग्लो ठाउँमा भएकोले निर्माणमा ढिलो भएको बताइएको छ । हाल सञ्चालनमा रहेको पुलमा दैनिक हजारौँ सवारी आवतजावत गर्दा चाप खपतमा ह्रास आएको र धाराशायी बन्दै गइरहेको इन्जिनियरहरू बताउँछन् । पुरानो पुलको आयु सकिए पनि मर्मत गर्दै सञ्चालनमा ल्याइएको छ ।
Comments are closed.