मोदी लेखनाथ १३२ केभी प्रशारण लाइन बिरुद्ध लाहाचोकबासी आन्दोलित

सन्देश श्रेष्ठ
पोखरा, २३ असार । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ४ लाहाचोकमा निर्माणाधीन मोदी लेखनाथ १३२ केभी प्रशारण लाइन प्रभावित स्थानीयबासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मोदी लेखनाथ १३२ केभी प्रशारण लाइनको सब स्टेसन बनाउने क्रममा विद्युत लाइन र त्यहाँबाट लेखनाथ लैजानको लागि टावर थप्नका लागि एकतर्फी रुपमा जग्गा अधिग्रहण गर्नेगरी काम अगाडि बढाएको भन्दै स्थानीयले सोमबार पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

आयोजनाले खोलाको डिलैडिल वा जंगलको बिचबाट सिधै लाइन लगेर टावर निर्माण गर्न मिल्ने भएपनि आवादी जग्गाबाट टावर लैजाने निर्णय गरेर एकतर्फी रुपमा मुआब्जाका लागि सूचना निकालेको भन्दै स्थानीय आक्रोसित भएका छन् । मोदी लेखनाथ १३२ केभी प्रशारण लाइन प्रभावित संघर्ष समितिका संयोजक शरद ढकालले न्यून क्षति हुनेगरी टावर निर्माण गर्ने विकल्प हुँदाहुँदै आवादी जग्गामै टावर निर्माण गर्ने आयोजनाको निर्णय आपत्तिजनक रहेको बताए । उनले पटक/पटक आयोजना, गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदासमेत स्थानीयको मागलाई बेवास्ता गरी काम अघि बढाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनले जग्गा अधिग्रहण गर्ने सूचना निकाल्दा पनि बिना मितिको निकालेर आयोजनाले छलछाम गर्ने, एकैपटक सबैको अधिग्रहण प्रक्रिया शुरु गर्नुपर्नेमा विभिन्न चरण तोकेर स्थानीयलाई विभाजित गरेर काम अघि बढाउने तयारी गरेको प्रति आफूहरुको असहमति रहेको बताए । जग्गा अधिग्रहण अघि वातावरणीय प्रभाव मूल्याङ्कन, स्थलगत अध्ययन र स्थानीयबासीसँग छलफलपछि मात्रै निर्णय गर्नुपर्ने उनको भनाई छ ।

संघर्ष समितिका सदस्य राजेन्द्र अधिकारीले आफूहरु विकास बिरोधी नभएपनि विकासको नाममा विनास निम्त्याउने प्रयास गरिएकाले आन्दोलनमा जान बाध्य भएको बताए । उनले बस्ती बिस्तार भइरहेको र आवादी जग्गाबाट विद्युत लाइन लैजाने, टावर निर्माण गर्ने तयारी गरेको भन्दै तत्काल सो निर्णय सच्याउन आग्रह गरे । उनलेपनि निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

jutta mela

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले आफू स्थानीय जनताको पक्षमा रहेको बताए । उनले विकासका लागि आयोजना र स्थानीयबीच छलफल गराई उपयुक्त निर्णय लिनका लागि समन्वयकारी भूमिका खेल्ने बताए ।

स्थानीय प्रभावित क्षेत्र माछापुच्छ«े गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले पनि स्थानीयलाई मर्का पर्नेगरी हुने काममा आफ्नो सहमति नरहने भन्दै आफू स्थानियको पक्षमा रहेको बताए ।

आयोजना प्रमुख रोसन अग्रवालले स्थानीयको आन्दोलन गर्ने धम्की केवल आक्रोसको अभिव्यक्ति मात्र भएको बताए । उनले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अगाडि बढाएको भन्ने स्थानीयको आरोप मिथ्या भएको बताउँदै पहिल्यै इआइए र सार्वजनिक सुनुवाईसमेत गरेर काम भइरहेको दाबी गरे । कसैले उचालेर आन्दोलनको तयारी भएको हुनसक्ने भन्दै उनले विद्युत आपूर्तिको दीर्घकालनि सोंच अनुसार काम भइरहेकाले यसलाई सफल बनाउनका लागि स्थानीयले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.