मौलिकताको गाउँ, रामकोट जाउँ

सुनिता आचार्य
तनहुँ,२२ फागुन
उत्तरतर्फ देखिने सेता हिमाल । दक्षिणतर्फ विशालफाँट । चिटिक्क परेका परम्परागत घर । वरपरका मनमोहक प्राकृतिक छटा र मगर संस्कृतिमा रम्न चाहनेका लागी उत्कृष्ट गन्तव्य बनेको छ तनहुँको रामकोट । बन्दीपुर गाँउपालिका–३मा पर्ने रामकोट गाँउ समुन्द्री सतहबाट करिब १ हजार मिटर उचाईमा पर्छ । गत भदौ ८ गते दर्ता भई रामकोटमा सुरु भएको रामकोट सामुदायिक होमस्टेमा सुरुका दिनहरुमा बाह्य पर्यटक मात्र आउने गरेको भएपनि हाल आन्तरिक पर्यटकको रोजाइमा समेत पर्ने गरेको छ ।

बन्दीपुर आउने पर्यटक रामकोट आउने क्रम बढेसँगै रामकोट होमस्टे भरिभराउ हुने गरेको होमस्टे सञ्चालक समितिकी अध्यक्ष विहीशरा आलेले बताइन् । ‘बन्दीपुर गाँउपालिकाले दिएको ३ महिने तालिमबाट प्रेरित भएर हामीले होमस्टे सञ्चालन गरेका हौँ’ उनले भनिन् । पहिला–पहिला पनि बन्दीपुर आउने पर्यटक रामकोटको सुन्दरता नियाल्न धेरै आउथे तर पाहुनालाई खाने बस्ने उपयुक्त प्रबन्ध नहुदाँ बन्दीपुर नै फर्किनु पर्ने बाध्यताले पनि गाँउमा होमस्टे सञ्चालन गरेको समितिको सचिव कृष्णमाया मगरले बताइन् । होमस्टेमा प्राय समूहमा पर्यटकहरु आउने गरेका छन् उनले सुनाइन् । ८८ घरधुरी मगरहरुको मात्र बसोबास रहेको रामकोटका १४ घरमा मात्र होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा अहिलेसम्म ३ सय जना भन्दा बढी पर्यटकहरु बास बसी सकेका छन् । प्राय गरी विभिन्न ठाँउबाट औपचारिक कार्यक्रमका लागी पनि पर्यटक आउने गरेको सचिव मगरले जानकारी दिइन् । होमस्टेमा अहिले एकै साथ ४० जना सम्म पाहुना राख्न सक्ने क्षमता छ ।

पुथ्वी राजमार्गबाट ८ करिब किलोमिटरको दुरीमा अवस्थित रामकोट गाँउमा होमस्टे सञ्चालन पछि छुट्टै रौनकता छाएको स्थानीय जयन्तीमाया आलेले बताइन् । मगरहरुको बाक्लो बस्ती रहेको रामकोट मगरहरुको नमुना गाउँ हो जहाँ मगरहरुको घरहरु एकीकृत रहेका छन् । ‘अहिलेसम्म गाँउमा दुखसुख पर्दा हामी एक घर पनि छुटिएका छैनौं’ । ‘हाम्रो गाँउको एकता नै पर्यटकले मन पराउछन् आलेले भनिन्’ । होमस्टे व्यवस्थापन तालिम पश्चात होमस्टे सञ्चालन भएपछि त्यहाँको महिलाहरुको जीवनस्तर र दैनिकीमा व्यापक परिवर्तन आएको सामुदायिक होमस्टेका अध्यक्ष आलेले बताइन् । ‘घाँस दाउराको भारि, मलको डोको नै हाम्रो दैनिकी थियो अहिले पाहुँनालाई स्वागत ,सत्कार खाजा र खानाको व्यवस्थामा नै दिन जान्छ उनले भनिन्, होमस्टेमा बास बस्ने पाहुनाको लागी बिहान बसेकै घरमा खाजा नास्ताको व्यवस्था गरेर मात्र बिदाई गर्ने हाम्रो होमस्टेको चलन छ’ ।

jutta mela

पाहुनालाई खाना भने उनीहरु समूहमा नै खुवाउने गर्छन । होमस्टेमा आएको दिन देखी खाजा खाना सांस्कृतिक कार्यक्रम बास बसेको र भोलिपल्टको खाजा सहित ८सय रुपैयाँको प्याकेज रहेको समितिकी कोषाध्यक्ष वृद्धिसरा आले थापाले बताइन् । रामकोट मगर होमस्टे भएकाले त्यहाँ पुग्ने पर्यटकले कोेदोको ढिंडो, कोदोको रोटी, फापरका परिकार गुन्द्रुकको अचार आदिको स्वाद लिन पाउछन् । त्यति मात्र होइन बंगुरको मासु, लोकल कुखुराको मासुको लागी पनि रामकोट प्रसिद्ध छ । होमस्टेको नाममा कोष खडा गरी रकम कोषमा जम्मा गर्ने गरेका छन् । पाहुना राखेको चाहीँ एक जनाको ५ प्रतिशत कोषमा जम्मा गनुपर्ने उनीहरुको प्रावधान रहेको थापाले जानकारी दिइन् । महिलाहरुको सक्रियतामा सञ्चालन भएको उक्त होमस्टेले पुरुषहरुको पनि उत्तिकै साथ र सहयोग पाँउदा झनै उत्साह मिलेको उनी बताउछिन् । अधिकांश युवा वर्ग त विदेश तिर नै छन क्यारे बाउहरुले चाहिँ राम्रै साथ दिएका छन उनले थपिन् । होमस्टेले महिलाहरुमा बचत गर्ने बानीको समेत विकास गराएको भन्दै उनी खुशी भइन् । ‘पहिला बुढाले विदेशबाटै पढाएको पैसा पनि सदुपयोग गर्न जानिएन अहिले पैसा बचत गर्न पनि जानेका छौँ’ उनले भनिन् ।

चेतनाको स्तरमा वृद्धि
गाँउमा होमस्टे सञ्चालनमा आएपछि महिलाहरुको जीवनमा कायापलट भएको छ । समूहमा उभिएर परिचय दिन हिचकिचाउने महिलाहरु अहिले आफ्ना हक अधिकारको बारेमा जानकार हुन थालेका छन् । घरको मसिना धन्दामा आफूलाई सीमित राखेका महिलाहरु सिर्जनशिल बन्दै गएका छन् । पहिला लोग्नेले कमाएपछि हामीले कमाउनै पर्दैन भन्ने सोच भएका महिलाहरुको समयको प्रयोगमा गुणात्मक सुधार आएको होमस्टेकी अध्यक्ष विहिसरा बताउछिन् ।

‘हामीले खासै नयाँ केही गरेका होइनौ ं पराम्परागत रुपमा गर्दै आएका काम सँगै व्यक्तिगत विकास र क्षमता अभिवृद्धि विभिन्न कार्यक्रममा सहभागिता जनाएका हौं’ उनले भनिन् । अहिले मगर गाँउका महिलाहरु विभिन्न तालिम, गोष्ठी, छलफल तथा अन्तरक्रिया कार्यक्रमहरुमा सहभागी हुने गरेका छन जसले महिलाहरुको मनोबल वृद्धि भई आत्मानिर्भरतामा चासो बढ्दै छ उनले भनिन् । यति मात्र होइन महिलाहरु अहिले सरसफाइ देखी स्वास्थ्यका कुरामा पनि त्यति नै सचेत छन् । पहिला जथाभावि फोहोर हाल्ने महिलाहरु अहिले आफ्ना घरमा पालिएका पशुहरुको व्यवस्थापन देखी बालबालिकालाई सफासुग्घर राख्न पनि सीपालु भएका छन् ।

पर्यटकलाई आकर्षण गर्ने होमस्टेको विशेषता
पहाडकी रानी सुन्दरताकी खानीको उपमा पाएको बन्दीपुरसँगै जोडिएको गाँउ हो रामकोट । बन्दीपुर आउने अधिकांश पर्यटकहरु रामकोट पुगेकै हुन्छन् । उत्तरतर्फ लहरै देखिने हिमाल र विशाल सुखौराफाँट पनि पर्यटकलाई आनन्दित तुल्याउने विशेषता हुन । विशुद्ध मगरहरुको बस्ती रहेको रामकोटमा मगरहरुका एउटै आगँन जोडिएका घरहरु पनि हेर्न लायक विशेषता हो

सानो ठाँउमै व्यवस्थित रुपमा परम्परागत शैलीमा बनेका मगरहरुको मौलिक घुमाउने घर अर्को विशेषता हो । त्यहाँको एकीकृत बस्तीबाट पर्यटकहरुले मगर भाषा, संस्कृति र रहनसहनका बारेमा सिक्न एकदमै रमाइलो मान्ने गरेको स्थानीय बताउँछन् । मगरहरुको कौरा नाच पर्यटकहरुले अत्याधिक मन पराउने गर्छन ।

होमस्टेका समस्या
होमस्टेमा खानेपानीको समस्या छ । पानीकै समस्याका कारण अपेक्षित रुपमा कृषि उत्पादन हुन नसकेको स्थानीय गुनासो गर्छन । तरकारी फलाउन पर्याप्त पानी छैन । स्थानीय खड्क बहादुर थापा भन्छन् ‘बारी जति भएपनि छ, एक घर एक धारा पानी हुने हो भने तरकारी उत्पादन गरी बजारमा बिक्री गर्न सकिन्थ्यो’ । गाँउमा पालेका गाइ, भैसीं बाख्रा, सुगुर बंगुर कुखुरा लगायतका पशुहरुलाई खुवाउन पनि पानीको समस्या परेको उनले बताए । होमस्टेमा आमा समूहको भवन नहुदाँ पनि समस्या परेको उनीहरुले बताएका छन् । पाहुनाका लागी सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा भवनको अभावमा खुल्ला ठाँउमा कार्यक्रम गनुपर्ने बाध्यता भएको समितिकी अध्यक्ष आलेले बताइन् ।

‘गाँउमा घर नजिक नजिक भएकाले गल्लीहरु व्यवस्थित छैनन् बजेट पाउन पाए आकर्षक ढंगले गल्ली व्यवस्थित गर्न हुन्थ्यो’ उनले भनिन् । गाँउका बालबालिकाहरुले बीचमै पढाइ छोडने समस्या पनि त्यत्तिकै छ सचिव कृष्णले बताइन् । ‘अलि पढेका सचेत व्यक्तिहरु गाँउमा बस्नै चाहन्नन् र हामी नपढेकाले पढाइको महत्व बुझाउन नसकेर पो हो की बालबालिकाहरु ८ कक्षा भन्दा बढी पढ्नै मान्दैनन् ।

बन्दीपुर गाँउपालिकाका अध्यक्ष पुर्णसिं थापाले स्थानीय बासिन्दाको आर्थिक, सामाजिक शक्तिकरणमा टेवा पु¥याउने उद्देश्यले ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत होमस्टे कार्यक्रमलाई विशेष प्रथामिकता दिएको बताए । ‘बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले पर्यटकहरुलाई राम्रो सेवा, सुविधा दिन सक्ने हो भने पर्यटकहरु होटल भन्दा होमस्टेमा रमाउछन्’ उनले भने । ‘अहिले हामी बन्दीपुर आउने पर्यटकलाई कसरी रामकोट आउने वातावरण बनाउन सकिन्छ भन्ने अभियानमा जुटेका छौँ’ उनले भने ।

बन्दीपुरबाट रामकोटसम्म पैदलमार्ग विकास गरिने अध्यक्ष थापाले बताए । ‘रामकोट मगर को संस्कृति र मौलिकताको अध्ययनको उपयुक्त थलो हो यसलाई विकास गर्न गाँउपालिका सकारात्मक छ’ उनले भने । त्यहाँको मौलिकता नविग्रने गरी विकासका योजनाहरु सञ्चालन गर्न आवश्यक छ ।  रामकोटबाट केशवटार, छाब्दी बराही, लगायतका प्रसिद्ध ठाँउहरु जान सकिन्छ ।  पुथ्वी राजमार्गको छिर्कनबाट करिब आधा घण्टाको यात्रापछि रामकोट उक्लन सकिन्छ ।

You might also like

Comments are closed.