स्वर्णिम होटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, होटलले कमायो ६ करोड ८० लाख सञ्चालन मुनाफा

काठमाडौं । स्वर्णिम होटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीको वित्तीय अवस्था, व्यावसायिक प्रगति तथा आगामी विस्तार योजनाबारे छलफल गरिएको थियो।

काठमाडौंको नक्सालस्थित Holiday Inn Express Kathmandu सञ्चालन गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०८२र८३ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले उक्त अवधिमा ६ करोड ८० लाख रुपैयाँ सञ्चालन मुनाफा तथा २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

कम्पनीले होटललाई चारतारे स्तरमा स्तरोन्नति गर्ने लक्ष्यसहित पूर्वाधार विस्तारको योजना अघि बढाएको छ। हालको १०० शय्यालाई बढाएर १३४ शय्या पुर्‍याउने लक्ष्य राखिएको छ। यसका साथै नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विस्तार योजनाअन्तर्गत बैंक्वेट हल, स्विमिङ पुल, जिम, स्पा तथा थप रेस्टुरेन्ट सुविधा विकास गरिने र बैशाखमा संचालनमा ल्याउने बताइएको छ ।।

व्यावसायिक विस्तार र पूँजी सुदृढीकरणका लागि कम्पनी प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को प्रक्रियामा रहेको छ। कम्पनीले ३८ लाख कित्ता साधारण शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ भने Global IME Capital लाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

होटल सेवा, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै कम्पनीले आगामी दिनमा आफ्नो व्यावसायिक गतिविधि थप विस्तार गर्ने लक्ष्य लिएको छ।

You might also like

Comments are closed.

Secret Link