नारायणी नदी तटबन्धसम्बन्धी सरोकारवालाबीच छलफल

नारायणगढ र गैँडाकोट बजार जोगाउन संयुक्त गुरुयोजनामा जोड

मंसिर । चितवन उद्योग वाणिज्य संघको सचिवालयमा नारायणी नदीको बाढी र कटानबाट नारायणगढ बजार तथा गैँडाकोट क्षेत्रका तटीय बस्ती जोगाउने उद्देश्यले नारायणी नदी किनार तटबन्धसम्बन्धी छलफल सम्पन्न भएको छ । छलफलमा सरोकारवाला निकाय, जनप्रतिनिधि, प्राविधिक विज्ञ तथा स्थानीय प्रतिनिधिहरूको सहभागितामा छलफल आयोजना गरिएको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका प्रमुख डा. नारायण प्रसाद सुवेदीले नारायणी नदीको तटबन्ध निर्माणलाई प्राविधिक रूपले मजबुत र दीर्घकालीन बनाउन आयोजना प्रतिबद्ध रहेको बताए। नदीको बहाव र भौगोलिक संवेदनशीलताको अध्ययन गरी दुवै किनार सुरक्षित हुने गरी काम अघि बढाइने उल्लेख गर्दै उनले स्थानीय तह र सरोकारवालाको सुझावलाई प्राविधिक डिजाइनमा समेट्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा भरतपुर महानगरपालिकाका नगर प्रमुख चित्रसेन अधिकारीले नारायणगढ बजार तथा नदी तटीय क्षेत्रको सुरक्षा महानगरको उच्च प्राथमिकतामा रहेको बताए। वर्षायाममा हुने कटानको जोखिम न्यूनीकरण गर्न संघीय आयोजना, छिमेकी गैँडाकोट नगरपालिका र निजी क्षेत्रसँग समन्वय गर्दै आवश्यक सहजीकरण गर्न महानगर सदैव तयार रहेको उनको भनाइ थियो ।

गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले नारायणी नदीले गैँडाकोट र भरतपुरलाई जोड्ने भएकाले तटबन्ध निर्माण गर्दा दुवै किनारको सन्तुलनमा विशेष ध्यान दिनुपर्ने बताए। एकातर्फ मात्र संरचना बन्दा अर्कोतर्फ पानीको चाप बढ्ने जोखिम रहने औँल्याउँदै उनले गैँडाकोट र नारायणगढ दुवै क्षेत्रका बस्ती सुरक्षित हुने गरी एकीकृत योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणगढ बजार क्षेत्र चितवनको प्रमुख व्यापारिक केन्द्र भएकाले नदी कटानको जोखिमले समग्र आर्थिक गतिविधिमै असर पार्ने बताए । व्यवसायी र स्थानीय बासिन्दाले ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन तटबन्ध निर्माणको कामलाई तीव्रता दिनुपर्ने भन्दै उनले सरोकारवालाबीचको सहकार्यका लागि संघले निरन्तर पहल गरिरहने उल्लेख गर्दै बजेटको सुनिश्चितताको लागि संघले पहल गरिरहने बताए । सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी समिति सदस्य सुमन कुमार श्रेष्ठले नारायणी नदीको तटबन्धन निर्माण गर्दा यस क्षेत्रकौ सौन्दर्यीकरण र देवघाट धामको पर्यटकी स्थलको समेत प्रवद्र्धन गरि गर्नुपर्ने बताए ।

छलफलका क्रममा गैँडाकोट र नारायणगढ बजार क्षेत्रका स्थानीय बासिन्दा तथा व्यवसायीले दुवै किनारको सुरक्षाका लागि दुवै किनारमा सन्तुलित र वैज्ञानिक तटबन्ध निर्माण, वर्षायामअगावै जोखिमपूर्ण क्षेत्रमा काम सुरु गर्नुपर्ने, सौन्दर्यीकरण र वातावरणीय सन्तुलन ध्यानमा राखेर संरचना तयार गरिनुपर्ने, योजना कार्यान्वयनका क्रममा स्थानीय तह, प्राविधिक टोली, उद्योग वाणिज्य संघ र प्रभावित क्षेत्रका बासिन्दाबीच नियमित संवाद र अनुगमन संयन्त्र कायम गरिनुपर्ने जस्ता सुझाव पेश गरेका थिए ।

छलफलमा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं नेउवामहासंघका कार्यकारिणी सदस्य सुमनकुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष केशव महर्जन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रा। डा। नरेन्द्रमान शाक्य, इन्फर्मेटिक इन्जिनियरिङ कलेजका ई. अनुप खनाल लगायत प्राविधिकहरु, भरतपुर तथा गैडाकोटका जनप्रतिनिधि तथा स्थानियबासीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रवाधिक टोलीले यसको विस्तृत सर्भे गरी तयार हुने प्रतिवेदन सवै सरोकारवाला विच प्रस्तुत गर्ने र सबैले मान्य हुने तवरले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ । चितवन उद्योग वाणिज्य संघको पहलमा उक्त सर्भे टोली चितवन आएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका प्रमुख डा। नारायण प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रम चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के।सीले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.

Secret Link