युआरएलको प्राविधिक सहयोगमा ५ सयको टिजी र मधुमेह जाँच

आर्थिक आवाज
पोखरा, ४ असोज । नवरत्न बचत तथा ऋण सहकारीले शनिबार स्याङ्जाको पुतलीबजार नगरपालिका १ प्रगति नगरमा आयोजना गरेको निशुल्क शिविरमा ५ सय ३२ को सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा उनीहरुको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रक्त जाँच सित्तैमा गरिएको हो ।

सांसद नारायणप्रसाद मरासिनीले स्वास्थ नागरिक नै समृद्धिको आधार भएको बताए । उनले आहारविहारमा ध्यान दिन, रोग लागे समयमै उपचार गर्न र आफ्नो स्वास्थ्यबारे चनाखो रहन आग्रह गरे । जिल्ला समन्वय समिति महासंघका केन्द्री अध्यक्ष सीता सुन्दासले नागरिकलाई आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गर्नु सहकारको दायित्व भएको औंल्याइन् । उनले यो दायित्वलाई निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संघ, संस्थाले पनि सघाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अनावश्यक औषधी बाड्ने र बिरामी बटुल्न गाउँतिर शिविर चलाउने गरेको पनि देखिएको छ । यसो नगरौं ।’

पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले दक्ष जनशक्ति र आधुनिक उपकरण नहुँदा उपचार प्रभावकारी नहुने भएकाले सर्वसाधारणले उपचार गर्दा यसलाई ख्याल गर्नुपर्ने औंल्याइन् । कार्यक्रममा डा. वसन्त पंगेनीले स्वस्थ जीवनका लागि आवश्यक जीवनशैली, रोग लागिसकेपछिको उपचार र खानपानबारे प्रकाश पारेका थिए । रोग लाग्नै नदिन पूर्वसावधानी अपनाउन र लागिसकेपछि उचित उपचार गर्न उनले आग्रह गरे । टिजी, मधुमेह, थाइराइड जस्ता समस्यालाई बेलैमा उपचार नगरे पछि अनेक समस्या यसकै कारणबाट उत्पन्न हुने बताए ।

jutta mela

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले शिविरमा अन्य सबै प्रकारका जाँचमा पनि ५० प्रतिशत छुट दिएको थियो । सहकारीका सदस्यलाई युआरएलले अब सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ ।

प्रदेशकै पहिलो र अग्रणी ल्याब भएकाले सामाजिक उत्तरदायित्व बोध गर्दै विभिन्न जिल्लामा शिविर, सचेतनासहितका कार्यक्रम गरेको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । उनले स्वास्थ्य क्षेत्र व्यवसायमात्र नभएर सेवाको क्षेत्र भएकाले संस्थाले शिविर, सचेतनासँगै सर्वसाधारणलाई सचेत बनाउन स्थापना कालदेखि नै अभियान चलाएको बताए । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो ७५ औं शिविर हो ।

सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जा अध्यक्ष ओमप्रकाश शर्मा, जिल्ला सहकारी संघ स्याङ्जा अध्यक्ष लक्ष्मीपति पौडेल, सहकारीका समन्वयकर्ता वेदप्रसाद दोरंगा, उपाध्यक्ष अमृतप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.