राष्ट्रिय औद्योगिक व्यापार तथा मोबाइल मेला शुरु

निजी क्षेत्रको साथ बिना सम्वृद्धि असम्भव : मन्त्री थापा

पोखरा, २७ पुस । पोखरामा बिहीबारबाट ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला–२०७४ पोखरा’ सुरु भएको छ । मेलाको कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले उद्घाटन गरे । ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’भन्ने मूल नाराका साथ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित मेला माघ ८ गतेसम्म चल्नेछ । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको हो । मेला प्रदेश नम्बर ४को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको छ ।

मेलाअन्तर्गत औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहेका छन् । साथै मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता,रत्यौली प्रतियोगिता प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिएका छन् । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले यस पटकको मेलाको प्रवेश टिकटबाट लक्की ड्र मार्फत एकजनालाई हुण्डाई कम्पनीको इवन कार समेत उपहार दिने घोषणा गरेको छ । कारको बजार मूल्य करिब १८ लाख रुपैयाँ रहेको छ ।

jutta mela

उद्घाटनको क्रममा बोल्दै मन्त्री थापाले निजी क्षेत्रको व्यवस्थापकीय कौशलतालाई पन्छ्याएर अगाडि बढ्न खोजे देशले आर्थिक सम्वृद्धि प्राप्त नहुने ठोकुवा गरे ।‘अहिले सम्वृद्धिको नारा चलेको छ, जुनसुकै गठबन्धनको सरकार बने पनि देशलाई सम्वृद्धिको बाटोमा अगाडि बढाउने हो भने सरकार एक्लैले सक्दैन’, उहाँले भन्नुभयो,‘यसको लागि निजी क्षेत्रको साथ र समर्थन चाहिन्छ ।’ वर्तमान सरकारले स्थानीय,प्रदेश र केन्द्रको निर्वाचन गराएर राजनीतिक एजेण्डाहरुको व्यवस्थापन गरेको दावी गर्दै उहाँले अब आर्थिक मुद्धा नै केन्द्रमा राखेर अगाडि बढ्नु्पर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघको सचिवालयमा पत्रिका पढ्ने आफ्नो विद्यार्थीकालीन दिनचर्या सम्झँदै मन्त्री थापाले थपे ,‘पोखरा उद्योग वाणिज्य संघले पहल नगरेको भए सायद पोखरा विश्वविद्यालयको स्थापना हुने थिएन, विकासका अन्य कामहरु पनि अगाडि बढ्दैनथे ।’ फरक प्रसङ्गमा उहाँले अबको केही दिनभित्रै नयाँ सरकार बन्ने जानकारी समेत दिए । सरकार केही दिनमा नै प्रदेश प्रमुख तोक्ने तयारीमा रहेको बताउँदै उनले सर्वदलीय सहमति नै कायम भयो भने पनि सरकारले प्रदेशको राजधानी तोक्न नसक्ने जिकिर गरे ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले विकास, सम्वृद्धि र सुशासनको लागि सत्ता र प्रतिपक्ष एकैठाउँमा उभिनु पर्नेमा जोड दिए । ‘यहाँ एउटाले राम्रो काम गरे पनि अर्कोले खुट्टा तान्ने प्रवृत्ति छ’, उनले भने,‘यो क्षेत्रलाई सम्वृद्ध बनाउने हो भने राजनीतिक झगडाबाट माथि उठ्नैपर्छ ।’

सोही समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले राजनीतिक दलहरुले अब सम्वृद्धिको साझा एजेण्डा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले राजनीतिक दलहरुलाई सम्वृद्धिको लागि एजेण्डासहित काम गर्न आग्रह गरे । मिटरमा ट्याक्सी नचलाउने अडान लिँदै पोखराको सार्वजनिक यातायात बन्द गरिनु कानूनी शासनको उपहास भएको बताउँदै उनले कानून हातमा लिने प्रवृत्ति बिरुद्ध नागरिक समाज सडकमा आउनु पर्नेमा जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले उपभोक्ता हित प्रवद्र्धन तथा स्वच्छ बजार व्यवस्था निर्माणको लागि निजी क्षेत्रले सघाउनु पर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुको धन्यवाद तथा महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले विकासका हरेक अभियानमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारसँग हातेमालो र सहकार्य गर्न तयार रहेको बताए । पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा पोखराका विभिन्न क्षेत्रमा सोलार लाइट जडान तथा डिभाइडर निर्माण ,पोखरा आउने खानेपानीको मुहानमा शवदहन गृह निर्माणलगायतका कामहरुबारे चर्चा गर्दै उनले सम्वृद्ध पोखरा निर्माणमा एक हुन पोखरेलीहरुलाई आग्रह गरे ।

‘पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुबाट उठाएको शुल्कले विकासका काममा सहयोग गर्दै आएको छ’,उनले भने,‘प्रदेशको राजधानी बन्दै गरेको पोखरालाई सुरक्षित बनाउनको लागि हामीले सडकमा सिसी क्यामेरा जडानको अभियान अगाडि ल्याएका छौँ ।’उनले मेलाबाट बचेको रकम पोखरा प्रदर्शनी केन्द्रमा अर्को नयाँ डोम बनाउन खर्च गरिने उद्घोष समेत गरे । ‘यो जग्गाको स्वामित्व पोखरा उपत्यका नगरविकास समितिसँग छ, हामीले यहाँको भौतिक संरचना बनाउन ठूलो धनराशी खर्च गरेका छौँ’,उनले भने,‘हामीले यहाँ नयाँ डोम बनाएपछिको सबै भौतिक संरचना राज्यलाई नै हस्तान्तरण गर्ने हो ,त्यो राज्यकै सम्पत्ति हो ।’मेलाको समुद्घाटन सत्रलगत्तै साँस्कृतिक कार्यक्रम सुरु भएको थियो भने मेला उद्घाटन पूर्व संघको सचिवालय गैह्रापाटनबाट मेलास्थल प्रदर्शनी केन्द्रसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा पोखराका आमा समूहहरु, संघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्यहरु, उद्योगी÷व्यवसायी तथा सर्वसाधारणको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.