मीलन गुरुङ
अध्यक्ष, एन्फा कास्की
प्रतियोगिताको तयारी कस्तो छ ?
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । अब उद्घाटन गर्न मात्र बाँकी छ । मैदान तयार भएको छ । दुबो रोपेर मैदानलाई हरियो र आकर्षक बनाएका छौं । रेफ्रीसहितको अफिसियल टीम तयार अवस्थामा छ । खेल खेल्नका लागि सबै टीम तयारी अवस्थामा छन् । भिआइपी प्याराफिट र दर्शक बस्ने ठाउँ पनि निर्माण भइसकेको छ । सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको छ ।
कस्ता कस्ता टिम आउँदैछन् यसपटक ?
यसपटक कसैले कहिल्यै नसोंचेको टीम आउँदैछ मनकामना केबलकार पोखरा कपमा । नेपालका ए डिभिजन, विभागीयसहितका ९ टीम जिल्लाबाहिरका आउँदैछन् । आयोजक हामी आफैपनि खेल्दैछौं । यस प्रतियोगितामा जापान र क्यामरुनको टीम पनि आउँदैछ । जापानीज टीम एकदमै बलियो छ । यो जापानीज टीम प्रतियोगिताकै प्रमुख आकर्षणको रुपमा रहनेछ । किनकी यो टीमले नेपालकै राष्ट्रिय टीमलाईसमेत हराउने क्षमता राख्छ । यसैगरी क्यामरुनको टीम पनि राम्रो टीम हो । त्यसैले यसपटक साँच्चिकै अन्र्तराष्ट्रिय खेलको स्वाद लिन पाउँछन् पोखरेली दर्शकले ।
दुई विदेशी टीमचाहीं कस्ता छन् ?
विदेशी टीम यसपटक एकदमै बलियो आउँदैछ । मलाई लाग्छ यस पटक आउने विदेशी टीमले नै उपाधि जित्छ । विदेशी टीममा पनि जापान एकदमै बलियो छ । जापानीज टीम त्यहाँको युनिभर्सिटी गेम खेलेको टीम हो । त्यहाँ युनिभर्सिटी गेम खेलेपछि मात्रै राष्ट्रिय टीम प्रवेश गर्न पाउने भएकाले यसलाई राष्ट्रिय टीम प्रवेशको खुड्किलो पनि भनिन्छ । पहिले पहिले विदेशी टीमको नाममा सामान्य टीम ल्याउने गरिएको पोखरामा अहिलेको जापानीज टीमले धमाका पिट्छ । फेरीपनि भन्छु अहिलेको जापानीज टिमले नेपालको राष्ट्रिय टीमलाईपनि पराजित गर्ने ल्याकत राख्छ । त्यस्तै, क्यामरुनको टीमपनि राम्रो छ । सबै विदेशी टीम र शारीरिक रुपमा पनि बलिया खेलाडी आउँदै छन् । क्यामरुनको टीममा पनि त्यहाँको ए डिभिजन खेलेका खेलाडीहरु छन् ।
आयोजक टीमचाहिं कस्तो छ ?
आयोजक टीमपनि राम्रो छ । ए डिभिजन लिग खेलेका खेलाडीपनि समावेश छन् । पोखरेली युवा खेलाडीलाई पनि राखेका छौं । २ जना विदेशी खेलाडीपनि हुनुका साथै तयारीपनि राम्रो भएकाले उपाधि जित्ने लक्ष्य राखेका छौं । यसको ब्यबस्थापनको जिम्मा हाम्रै एन्फा कास्कीका सदस्य नर गुरुङलाई दिएका छौं । मलाई लाग्छ टीम उपाधिका लागि तयार छ ।
जिर्ण रंगशालामा प्रतियोगिता गर्दा कत्तिको अप्ठेरो भइरहेको छ ?
जिर्ण रंगशालामा प्रतियोगिता गर्नु आफैमा च्यालेञ्जिङ छ । एकदमै दुःख पनि लागेको छ । तर फुटवलको विकासका लागि खेलाउनै प¥यो । ११÷१२ लाख मैदान सम्याउँदा र दुबो रोप्दैमा सकियो । यो वालुवामा पानी हालेजस्तो भएको छ । यो पैसा कुनै राम्रो टिम ल्याउनका लागि खर्च गर्न पाएको भए कति राम्रो टिम आउँथ्यो होला ? यो पैसा फुटवलको विकासमा लगाउन पाएको भए खेलाडी उत्पादनमा सघाउ पुग्थ्यो होला । तर हाम्रो अदुरदर्शीताको कारणले यो सब भइरहेको छ ।
समस्याका बाबजुद मैदान त आकर्षक बनाउनु भएछ त ?
हो, हामीले मैदान निर्माण गर्न निकै मिहिनेत ग¥यौं । ७०÷८० ट्रीप माटो चाउथेबाट ल्याएर पु¥यौं । त्यस्तै कुँडहरबाट पनि बोरामा माटो ल्यायौं । दुबो खोजेर ल्याएर रोप्यौं । ठाउँ ठाउँमा दुबो खोज्दै हिंड्दा उखेल्ने बेलामा कतिपटक त लखेटेपनि हामीलाई । तरपनि हामीले रातदिन नभनी काम गरेर आकर्षक मैदान बनाउन सफल भयौं । अहिले खुलेको आकाश, टल्किएको हिमाल र दुबोले हराभरा मैदान देखेर मान्छे दंग पर्छन् । यो सबै हाम्रो कडा मिहिनेतको प्रतिफल हो ।
मैदान बनाउनमात्र कति खर्च भयो ?
मैदान बनाउन मात्र करीब ११ लाख खर्च भयो । मैदान सम्याउन, प्याराफिट सम्याउन र माटो भर्न तथा दुबो रोप्नका लागि यत्तिका पैसा खर्च भयो । यो प्याराफिट निर्माण बाहेकको खर्च हो । अझ दुबोमा पानी हाल्ने खर्च त यसपटक बचत भयो । नत्र त्यसका लागि पनि ३÷४ लाख खर्च हुन्थ्यो । तर क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले बोरिङबाट पानी निकालिदिएकाले यसपटक त्यो पैसा भने बचत भयो ।
भत्किएको प्याराफिटमा दर्शकले कसरी हेर्छन् त फुटवल ?
फुटवल हेर्न दर्शकले यस वर्ष केहि सम्झौता गर्नुपर्छ । आकर्षक प्याराफिट नभएपनि हामीले प्राकृतिक (नेचुरल) प्याराफिट बनाएका छौं । भिरालो बनाएर जहाँ बसेर वा उभिएर दुबै तरिकाले दर्शकले फुटवल हेर्न सक्छन् । मुख्य दर्शक प्याराफिट भएको ठाउँमा माटो सम्याएर नेचुरल प्याराफिट बनाएका छौं र त्यहाँ कार्पेट बिछ्याएर आनन्दपूर्वक बस्न मिल्ने बनाइएको छ । अन्य ठाउँमा भने विगतमा जस्तै गरी दर्शक बस्न सक्नेछन् । भिआइपी बस्नका लागि भने अस्थायी प्याराफिट निर्माण गरेका छौं । जुन स्काई फोल्डिङ जोडेर बनाएका छौं । मञ्चपनि निर्माण गरेका छौं । त्यसैले स्थायी प्याराफिट भत्किएपनि त्यसको अभाव नहुनेगरी भिआइपी र दर्शक बस्न मिल्ने बनाएका छौं ।
प्रतियोगिता गर्नुको मुख्य उद्देश्य के हो ?
प्रतियोगिताको मुख्य उद्देश्य भनेको फुटवलको विकास नै हो । प्रतियोगिता नहुँदा खेलाडीहरुले खेल्ने मौका पाउँदैनन् । खेल्न नपाउँदा खेलाडीले एक्सपोजर पाउँदैनन् । त्यसले गर्दा खेलमा सुधार हुँदैन । त्यसैले खेलाडीलाई एक्सपोजर दिनका लागि पनि प्रतियोगिता आवश्यक छ । यसले फुटवलको माहोल सृजना गर्छ । अन्यलाई पनि फुटवल खेल्नुपर्छ भन्ने भावनाको विकास गर्छ । प्रतियोगिताबाट केहि पैसा बचत गरेर फुटवलकै विकासमा खर्चिने उद्देश्य राखेका छौं । हाम्रो संस्था क्लवहरुजस्तो नाफामुलक संस्था होइन । त्यसैले धेरै पैसा बचाउने भन्ने हाम्रो योजना छैन । बरु बचेको पैसाले पुरुष तथा महिला फुटवल खेलाडीलाई प्रोत्साहन गर्ने, नियमित अभ्यासको ब्यबस्था गर्ने भन्ने उद्देश्य अनुरुप प्रतियोगिता गर्दैछौं ।
पोखरा कप अबचाहिं निरन्तर हुन्छ ?
पोखरा कप अब निरन्तर हुन्छ । यसअघी प्राविधिक कारणले रोकिएपनि अब यो रोकिदैन । अब अर्को वर्ष त झन् फुटवल स्टेडियम बन्छ, त्यतिबेला त हिमाल हेर्दै खेल्न पाउँछन् खेलाडीले । दर्शकलेपनि हिमाल हेर्दै फुटवल हेर्न पाउँछन् । अर्को वर्षदेखि त झन् हामी विदेशी टीम ४÷५ वटा ल्याउने, १२ टीमको सहभागितालाई बढाएर १४ टीम बनाउनेलगायतका सुधार गरेर खेल खेलाउने योजना बनाउँदैछौं । हामी सबै एकताबद्ध भएर आएका छौं । केन्द्रको पनि फुल सपोर्ट छ । मन्त्रीज्यू पनि यहिं पोखराको हुनुहुन्छ । उहाँको राम्रो सहयोग मिलेको छ । राष्ट्रिय खेलकुद परिषद, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति तथा प्रायोजकको पनि फुल सपोर्ट छ । त्यसैले अब प्रतियोगिता निरन्तर रुपमा हुन्छ । कसैले यसको निरन्तरतामा प्रश्न नउठाए हुन्छ ।
प्रस्तुतिः सन्देश श्रेष्ठ
Comments are closed.