राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । भू–तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु दुई करोड ३४ लाखको लागत अनुमानसहित डिपिआर तयार गरिएको जानकारी दिनुभयो ।

“भू–गर्भविद्हरुको टोलीले चार चरणमा स्थलगत अध्ययन गरेर तयार पारेको डिपिआर यसै वर्षदेखि कार्यान्वयन गर्दैछौँ”, उहाँले भन्नुभयो, “आकस्मिक भू–तथा पहिरो नियन्त्रण कार्यक्रममार्फत राहुघाटको पहिरो रोकथाम गर्ने योजना छ ।”नाली बनाएर भल व्यवस्थापन गर्ने, गल्छी संरक्षण र वृक्षरोपण गरेर बायो इञ्जिनीयरिङ गरिने अधिकृत मिश्रले बताउनुभयो । राहुघाट सल्लेरी वनको पाखोबाट खस्ने पहिराका कारण ३० घरधुरीको बसोबास रहेको राहुघाट बस्ती जोखिममा परेको स्थानीय लक्ष्मण चालिसेले जानकारी दिनुभयो ।

यो पहिराका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सवारी साधन आवतजावतमा समस्या भएको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना निर्माणका क्रममा तीन वर्षअघि सडक विस्तार गरिएपछि करिब ६० मिटर लामो र ५० मिटर चौडा पाखो बग्न थालेको थियो ।

कमजोर भू–धरातल भएको पाखोमा डोजर चलाएर सडक खनिएको मूलको पानीले भेल आएको र नजिकै राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणका लगि बिस्फोटक पदार्थ पड्काउँदा भएको कम्पनले पहिरो आएको थियो । एक वटा घर पहिराले भत्किएको छ । बर्खामा ठूलो पानी पर्दा राहुघाटका बासिन्दा गलेश्वर, घुमाउने ताल, तिल्लेनी र गायत्री मन्दिरमा गएर सुत्ने गरेका छन् । पहिरो गएपछि गलेश्वर–पिप्ले खण्डको करिब तीन किलोमिटर सडक निर्माण रोकेर घुमाउनेताल–पिप्ले वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ ।

You might also like

Comments are closed.