रोकिएला त उडुस आतंक ? पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उडुस निर्मुल अभियान

सन्देश श्रेष्ठ
पहिले उडुस आतंक थियो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा । चिकित्सकले विरामीलाई कस्तो छ भनेर सोध्दा विरामीले आफ्नो स्वास्थ्य भन्दा उडुस आतंकको कुरा गर्थे । उनीहरु भन्थे,‘स्वास्थ्य त ठीकै छ बरु उडुसले हैरान बनायो ।’ विरामी मात्र होइन, विरामीका कुरुवा आफन्तहरु उडुसका कारण हैरान थिए ।

तर यो अवस्था अब अन्त्य हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उडुस निर्मुल पार्ने अभियान सञ्चालन गरेपछि अब उडुस अतंक बन्द हुने भएको हो । उडुस निर्मुल अभियानमा खटिएको छ क्लिन कन्सर्न पोखरा । पहिलेपहिले पनि उडुस मार्नलाई अस्पताल प्रशासनले प्रयास नगरेको भने होइन, तर पटक÷पटकको प्रयास असफल हुँदा उडुस आतंक रोकिएको थिएन । एक वर्ष अघिदेखि नै अहिलेको प्रविधी र औषधीबाट उडुस निर्मुल पार्ने अभियान शुरु गर्ने प्रयास भएपनि चालु आर्थिक वर्षको पहिलो दिनबाट मात्रै अभियान थालिएको हो । ढिलै भएपनि उडुस निर्मलीकरण अभियान शुरु गरेकोप्रति विरामी र तिनका कुरुवा आफन्त खुशी भएका छन् ।

उडुस निर्मलीकरण अभियान यहि साउन १ गतेबाट शुरु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । उनका अनुसार यो अभियान अस्पतालका सबै वार्डमा सञ्चालन गरिनेछ ।

jutta mela

साउन १ गते सर्जिकल वार्डबाट शुरु भएको उडुस निर्मुल अभियान अन्तर्गत अहिलेसम्म इसिजी, बच्चावार्डहुँदै मेडिकल वार्डसम्म औषधी प्रयोग गरिसकिएको क्लिन कन्सर्न पोखराकी सञ्चालिका हिरु पुनले जानकारी दिइन् । उनका अनुसार सबै वार्डमा उडुस निर्मुल पार्न झण्डै एक महिना लाग्छ । उडुस निर्मलीकरण दुई तरिकाले गर्ने गरिएको उनले जानकारी दिइन् । उनका अनुसार औषधी प्रयोग गरेर र आगोले सेकेर उडुस नियन्त्रण गरिदै आएको छ । प्रायः सबै वार्डमा औषधीको प्रयोग गरेका छौं,‘उनले भनिन्,‘तर बच्चा र दमको उपचार गरिदै आएको कोठामा भने आगोले सेकेर उडुस निर्मलीकरण गरिरहेका छौं ।’ बच्चा र दमका रोगीलाई औषधीले हानी पु¥याउनसक्ने भएकाले त्यस्ता विरामी भएको ठाउँमा औषधी प्रयोग नगरी आगोले सेकेर उडुस निर्मुल पार्ने गरिएको उनको भनाई छ । आगोले सेकेरपनि उडुस निर्मुल हुने उनले दाबी गरिन् । आगोले सेक्दा सानो मेसिनबाट ग्यासको प्रयोग गरेर उडुस निर्मुल गर्नेगरिएको उनले बताइन् ।

औषधी प्रयोग गर्दाभने खानेकुरालाई ढाकेर औषधीको प्रयोग गर्ने गरिएको छ । सक्ने विरामी बाहिर निकालेर र अन्यलाई कोठामै राखेरपनि औषधीको प्रयोग गर्नेगरिएको छ । उडुस निर्मुल पार्नका लागि प्रत्येक दुई दिन २ जना कर्मचारी खटिएका छन् । सञ्चालिका गुरुङ भने हरेक दिन अस्पताल पुगेर कर्मचारीलाई सघाउनुका साथै काममा समन्वय गरिरहेकी छिन् ।

उडुस निर्मुल पार्ने प्रयास प्रभावकारी भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए । उनले नया टेक्नोलोजीको प्रयोगबाट गरिएको उडुस निर्मुल पार्ने अभियानपछि उडुस नियन्त्रणमा आउन थालेको बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापालेपनि उडुस निर्मुल पार्ने अभियान प्रभावकारी भएको बताए । पहिलेपहिलेको प्रयास खेर गयो,‘उनले भने,‘म मेडिकल सुपरिटेण्डेन्ट हुँदापनि प्रयास गरेकै हो, तर उडुस नियन्त्रणमा नआउँदा अस्पतालमा उडुस आतंकजस्तै थियो, तर अहिलेको प्रयास प्रभावकारी भएको छ, अबचाहिं उडुस आतंक बन्द होलाजस्तो छ ।’ उनले अहिलेसम्मको प्रगति हेर्दा अब उडुस आतंक सँधैका लागि बन्द हुन्छ कि भन्ने आशा पलाएको बताए ।

उडुस निर्मुल पार्न कति खर्च लाग्छ भन्ने अहिलेसम्म यकिन भइनसकेको अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए । रकमको बारेमा कुरा नै नभई काम शुरु गरिएको क्लिन कन्सर्न पोखराकी सञ्चालिका हिरु पुनले पनि बताइन् । काम ठूलो कुरा हो,‘उनले भनिन्,‘तर केहि दिनमै दुई पक्ष बसेर खर्चको कुरापनि टुंग्याउँछौं ।’ अस्पतालका निर्देशक आचार्यले पनि काम शुरु गर्दै जाने र खर्चको कुरा पछि गर्ने सहमति अनुसार काम भइरहेको बताए ।

You might also like

Comments are closed.