‘एनसीआईसीके डिजिटल एक्स्पो, २०२४’ आजदेखि सुरू, एकै पटक लाखौँ व्यवसायीमाझ पुग्ने

उज्वल जंग शाह

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आजबाट ‘डिजिटल बजारमार्फत नेपाली उत्पादनको विश्वव्यापीकरण’ नाराका साथ ‘एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४’ आयोजना गर्दैछ ।

‘एनसीआईसीके डिजिटल एक्स्पो, २०२४’ को नामले समेत तीव्र प्रचार–प्रसार भइरहेको सो मेला आजदेखि सुरू हुँदैछ । संघीय सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौंको जमलस्थित होटेल एल्लो प्यागोडामा आयोजना गरिने विशेष कार्यक्रममार्फत मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

वैशाख १४ गतेदेखि आगामी जेठ १३ गतेसम्म चल्ने मेलामा विभिन्न खालका प्रदर्शनीहरूमध्ये पृथक शैली अपनाएको यो मेलाले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ भने मुलुकको शिथिलतायुक्त अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास समेत गरिएको छ । यो मेला देशभरका उद्योग–व्यवसाय र उद्योगी–व्यवसायीमाझ एकसाथ पुग्नेछ । त्यसका लागि उद्योग वाणिज्य संघ काठमाडौंले मेलालाई भर्चुअल माध्यमबाट सञ्चालन गर्दैछ ।

नेपालमा डिजिटल युग सुरू भएको पनि करिब २५ वर्ष नाघिसकेको छ । मर्कन्टाइलको च्याटबाट सुरू भएको नेपालीहरूको डिजिटल युग कम्प्युटरमा फ्लपी, सीडी र हार्डडिस्क हुँदै चिफ र क्लाउड स्टोरसम्म आइपुगेको छ भने टेक्नोलोजी र अब चल्ने पेपरलेस टेक्नोलोजीले ठूलै मार्केट जमाइसकेको अवस्था छ । संसारभर गरिने जुनसुकै प्रकारका प्रदर्शनीहरू पनि अब भर्चुअल माध्यममार्फत गरिन थालिसकेको छ । त्यसकारण यो २१ औँ सताब्दीलाई डिजिटल युग हो भन्दा फरक नपर्ला ।

अबका सबैखाले बजारीकरण सोसल मिडिया अर्थात् सामाजिक सञ्जालबाट सुरू भइसकेको छ भने टेक्नोलोजीकै कारण विश्व नै एउटा सानो गाउँको रूपमा खुम्चिन थालेको छ । यी यावत विषयको प्रभावबाट नेपाल पनि अछुतो छैन । ढिलोचाँडो यहाँ पनि टेक्नोलोजीको प्रयोग र विस्तार ह्वात्तै बढिरहेको छ । विभिन्न ब्राण्डका दर्जनौँ पेमेन्ट गेट–वे र फिनटेक प्रणालीहरूले हाम्रो कार्यशैली नै बदलिसकेको स्थिति छ । ई–सेवा, खल्ती, नेपाल–पेजस्ता दर्जनौँ पेमेन्ट गेट–वेहरूले बजारमा पकड जमाउनका साथै हाम्रो दैनिक व्यस्ततालाई समेत सहज बनाइरहेको छ ।

jutta mela

दराजलगायतका मोबाइल एप्लिकेशनहरूले नेपालमा आयातित वस्तु तथा सेवाहरूको राम्रो बजारीकरण गरिरहेको छ । यी सबै प्रभावकारितालाई आत्मसात गर्दै नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पनि नेपालमा भर्चुअल मेला (भी–एक्स्पो’) आयोजना गर्ने निर्णय लिएको हो । हामीले विदेशी ब्राण्ड मात्र होइन स्वदेशी उत्पादनलाई बढी भन्दा बढी नेपाली उपभोक्तामाझ जोड्न जरुरी छ । नेपाली उत्पादनलाई देश र विदेशमा जोड्नलाई पनि यस किसिमको एक्स्पोले भरपुर सहयोग पु¥याउने छ ।

स्वदेशी वस्तु तथा सेवाको प्रदर्शनी गर्ने मात्र नभइ यो मेलाले मुलुकको विद्यमान आर्थिक अवस्था सुधारको उपायहरू पनि खोज्ने छ । यसका लागि लाखौँ व्यवसायमाझ पुग्नुपर्ने हुन्छ । सजिलो उपायका रूपमा उद्योग वाणिज्य संघ काठमाडौंले भर्चुअल प्लेटफर्मलाई उपयुक्त ठानेको हो । यसरी मेला आयोजना गर्दा टाढा–टाढादेखि मानिसहरू धाएर मेला अवलोकन गर्न आउनुपर्ने सबै प्रकारको बाध्यता र दुःख अन्त्य हुनेछ । फलस्वरूप आ–आफ्नो ग्याजेटहरू जस्तैः मोबाइल फोन, ल्यापटप, कम्प्युटर र ट्याबलगायत उपकरणहरूमार्फत जहाँ त्यहीँ बसेर मेला अवलोकन गर्नाका साथै वस्तु तथा सेवा उपभोग गर्न समेत पाउने अवस्था सृजना गरिएको छ । त्यसैले ‘भी–एक्स्पो’ आयोजना गरिएको हो ।

यो एक्स्पोले नेपाली वस्तु तथा सेवाको बजार प्रवर्द्धनका लागि ठूलो टेवा पुु¥याउने विश्वास आयोजकले गरेको छ । देशभित्रका उत्पादनलाई विशेष प्राथमिकता दिँदै विदेशका समेत विभिन्न प्रडक्टहरू यो मेलामा समावेश गरिएको छ । यसले विभिन्न किसिमबाट व्यवसाय गरिरहेका र व्यवसाय गर्न चाहने व्यवसायीहरूबीच कुराकानी तथा वस्तु पहिचानको अवसर प्राप्त हुनेछ । यो एक्स्पोमा देशमा रहेका मात्र होइन विदेशमा रहेका व्यवसायीहरू समेत सजिलै समेटिने भएकाले यसको महत्व अझ प्रभावकारी हुनेछ भन्ने विश्वास गरिएको छ ।

एक्स्पोका उद्देश्य के–के छन् ?

– सानादेखि ठूला उद्योगी व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा समेट्नु ।
– नेपाली उत्पादनहरूको सरल र सहज बजारीकरण गर्न मद्दत गर्नु ।
– नेपाली उत्पादनहरूको ब्राण्ड भ्यालु क्रेट गर्न मद्दत गर्नु ।
– व्यवसायीहरूको कुरा सुनेर व्यवसायमा रहेका समस्याहरूको पहिचान गर्नु ।

(शाह नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सदस्य तथा प्रदर्शनी तथा प्रकाशन समितिको सभापति हुन् ।)

You might also like

Comments are closed.