‘विद्या मन्त्री भएको देख्ने मन छ’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वीसुब्बा गुरुङले कास्की–२ बाट निर्वाचित विद्या भट्टराई अधिकारी मन्त्री बनेको देख्न चाहेको बताएका छन् । कास्की–२ मा भएको उपचुनावमा नेकपाकी विद्या भट्टराई अधिकारी बिजयी भएको अवसरमा सोमबार आयोजित बिजयोत्सव ¥यालीसहितको जनसभालाई सम्बोधन गर्दै उनले विद्यालाई मन्त्री बनाएर गण्डकी प्रदेश, जिल्ला कमिटी र कास्कीका जनताको सम्मान गर्न पार्टी नेतृत्वलाई सुझाव दिए । पार्टी र सरकारमासमेत विद्याको खाँचो छ,‘उनले भने,‘विद्या मन्त्री बनेको हेर्ने मन छ, यस विषयमा म केन्द्रीय समितिमा कुरा राख्छु, साथै पार्टीको उपयुक्त जिम्मेवारी दिनेबारेमापनि कुरा गर्छु ।’

मुख्यमन्त्री गुरुङले कास्कीको जितले अर्को चुनावमा पनि कम्युनिष्टको दुई तिहाई आउँदैछ भन्ने सन्देश दिएको बताएका छन् । कास्कीको जितले कम्युनिष्टको दुई तिहाई अर्को चुनावमा पनि आउँदैछ भन्ने सन्देश दिएको उनको भनाई छ । यो जित सामान्य जित होइन,‘उनले भने, ‘यो जितले अर्को चुनावमापनि कम्युनिष्टको दुई तिहाई आउँदैछ भन्ने सन्देश दिएको छ ।’

मुख्यमन्त्री गुरुङले जनताले कम्युनिष्टको विकल्प नभएको पनि प्रष्ट पारेको बताए । बदमास कांग्रेसलाई जनताले पत्याएनन्,‘उनले भने,‘जनताले कम्युनिष्टको विकल्प छैन भन्ने सन्देशसमेत कास्कीको जितले दिएको छ ।’ उनले कम्युनिष्टले भ्रष्टाचार, अन्याय गर्छ भन्ने कांग्रेसको बदमास कुरा नपत्याएको बताए ।

मुख्यमन्त्री गुरुङले नेकपा सरकारले अघि सारेका राष्ट्रियता, स्वाधिनता, विकासका एजेण्डा र नीतिगत निर्णयहरुलाई जनताले कास्कीको जितमार्फत अनुमोदन गरेको दावी गरे । उनले जनताले कम्यूनिष्ट पार्टीको सरकारले अगाडी बढाएको विकास र समृद्धिका एजेण्डालाई ठिक छन भन्ने पुष्टिसमेत गरेको दाबी गरे ।’

नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले कास्कीको जितले पार्टी एकता, सरकार र पार्टीले गरेका कामलाई अनुमोदन गरेको बताए । साथै यो जितले रवीन्द्रप्रतिको उच्च सम्मान गर्दै महिला नेतृत्व स्थापित गर्न अवसर दिएको बताए । उनले भ्रष्टाचार एक रौंपनि नस्वीकार्ने दृढता व्यक्त गरे ।

नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्कीको जितले कम्युनिष्टप्रति जनताको भरोसा छ भन्ने दर्शाएको बताए ।

बिजयी विद्या भट्टराई अधिकारीले निर्वाचनको बेला आफूले गरेका बाचा तथा प्रतिबद्धता पूरा गर्ने पुनः प्रतिबद्धता जनाइन् । उनले उज्यालो पोखरादेखि स्मार्ट सिटी बनाउने अभिाभारा नेकपामा आएको र त्यसको नेतृत्व आफूले गर्ने बताइन् ।

केन्द्रीय सदस्य राजकाजी गुरुङले विद्याको जितले नेकपा नै विकास र समृद्धीको वाहक हो भन्ने जनताले पुष्ट्याईं गरेको बताए । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले विद्यालाई सँधै पार्टीको सहयोग हुने बताए ।

बिजयसभा अघि पोखराको चिप्लेढुङगाबाट विजय ¥याली निकालिएको थियो । पोखरा मानवअधिकारचोक चिप्लेढुंगाबाट शुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार हुदै प्रर्दशनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।

यसैबीच, विद्या भट्टराई अधिकारीले सोमबार विहान शहीदको शालिकमा माल्यार्पण गरेकी छन् । विहान उनले पोखरा–७ स्थित पुष्पलाल पार्कमा पुष्पलालको शालिक, शहीदचोकमा शहीदहरुको शालिक, रत्नचोकमा शहीद झपेन्द्रको शालिक, पोखरा–९ महेन्द्रपुलमा शहीद भीमसेन दाहालको शालिक र पोखरा–१६ मा मदन भण्डारी स्मृति पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गरेकी हुन् । शहीदहरुको शालिकमा माल्यार्पण गर्दै उनले शहीदले देखाएको बाटोमा सँधै आफू हिंड्ने बाचा गरिन् ।

You might also like

Comments are closed.