काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा जारी शुभकामना सन्देशमार्फत वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् ।
दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले भनेका छन्, “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।”
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट हुन प्रेरणा दिने अपेक्षा व्यक्त गरे ।
यस अवसरमा उनले गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, आन्दोलनमा योगदान पु¥याउने राजनीतिक नेतृत्व, कार्यकर्ता र आम नागरिकलाई सम्मान प्रकट गरेका छन् ।
संविधानले हिमाल, पहाड र तराईको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई समान संरक्षण दिएको उल्लेख गर्दै उनले भने “नेपालीहरूबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ” ।
राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराउँदै, सबै नागरिकले राज्यका सेवा सुविधामा समान पहुँच पाउनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई योगदान दिन सबैमा आव्हान गरेका छन् ।
Comments are closed.