सम्माननीय बा महोदय ! घरको बजेट यसरी बिनियोजन गरेको छु… : दीपक न्यौपाने

दीपक न्यौपाने, पोखरा

आदरणीय घर सभाका सदस्यज्युहरु

हाम्रो घरपरिवारको वार्षिक आयव्ययको विवरणको आधारमा बजेटका उद्देश्य, प्राथमिकता र कार्यान्वयन पक्षका आधारमा कार्यान्वयनमा चुनौती नहुने खालको मिस्रित बजेट तयार गरी सार्वजनिक गरेको छु ।

jutta mela

नेपाल सरकारको बजेटमा आशा पनि केही थिएन र निरासा पनि केही नभएको सिद्धान्तको आधारमा र लकडाउनले गर्दा कार्यालय छिटो छुट्टी भएको अवस्थामा हाम्रो घरपालिकाको आ.व. २०७७÷७८ को बजेट सार्वजनिक गरेको छु ।

बजेटको सिद्धान्त र प्राथमिकताः कोरोना महामारीले गर्दा आम्दानीको स्रोतमा समेत केही असर गर्ने र बुबाले गर्नुभएको कृषिमा समेत अमेरिकन फौजी, बेमौसमी रुडा, सलाह किरा जस्ताको आतंक सिर्जना भई कृषि आयमा पनि ठुलो असर पर्ने देखिएकाले यो वर्ष बाच्नु र बचाउनुलाई मुख्य प्राथमिकतामा राखी बजेट तयार पारेको छु ।

१) कार्यालयबाट तलब मासिक रुपमा बुझिलिई त्यसैबाट घर व्यवहार टार्ने व्यवस्था मिलाएको छु ।
२) भाइले विदेशबाट पठाएको विप्रेषणले बैंकको ऋणको साँवा तथा व्याज बुझाउने व्यवस्था मिलाएको छु ।
३) माछा मासु तथा दारु पानी, चुरोट गुट्का जस्ता वस्तुहरुमा गत वर्षजस्तै बजेट विनियोजन नहुने व्यवस्था गरेको छु र भविष्यमा पनि खारेज गर्ने व्यवस्था मिलाएको छु ।
४) पोसाक भत्ता खारेज गर्दै अति आवस्यक बाहेक पुरानै कपडाले काम चलाउने व्यवस्था मिलाएको छु ।
५) दुधको चिया र कफि दिनमा दुई पटक मात्र खानेगरी बजेट व्यवस्थापन गरेको छु । दुधको चिया र कफी बाहेक कालो चिया ग्रिन टि जस्ता चियाहरुलाई पुर्ण रुपमा निरुत्साहित गरेको छु ।

सम्माननीय बा महोदय,
६) “शिक्षा र स्वास्थ्यमा कम्परमाइज गरिने छैन” भन्ने नाराका साथ स्वास्थ्यमा आवश्यकता अनुसारको बजेट विनियोजन गरेको छु ।
७) “पुराना लुगा लगाउँ नयाँ पुस्तक किनौं” भन्ने नाराका साथ शिक्षामा बजेट बढाएको छु । शिक्षामा नियमित अध्ययन गर्न तथा थप विज्ञता हासिल गर्न आवश्यक पर्ने पुस्तक खरिद गर्न थप बजेटको व्यवस्था गरेको छु ।
८) सञ्चार तर्फः मोबाइल, फोन, Virtual Class, Virtual Meeting/Webinar जस्ता सञ्चारको सेवाको विस्तार गर्न आवश्यक रहेकाले आवश्यक बजेटको विनियोेजन गरेको छु ।
९) मर्मत सञ्चार शीर्षक अन्तर्गत कपाल काट्ने दाह्री काट्नेजस्ता शीर्षकको केही खर्च कटौती गरि मितव्ययी भएर खर्च गर्ने व्यवस्था मिलाएको छु ।
१०) भ्रमण खर्चमा केही कटौती गरी पोखराबाट घर जाने र फर्कने कार्यको लागि सडक यातायातलाई प्राथमिकतामा राखेको छु ।

सम्माननीय बा महोदय,
११) अर्थतन्त्रले यो वर्ष खासै गति लिने अवस्था नभएकाले पुँजीगत खर्च तर्फ बजेट विनीयोजन नगरी यो शीर्षक नै खारेज गरेको छु ।
१२) अति आवश्यक अवस्थामा बाहेक यो वर्ष भ्रमण कार्यलाई स्थगित गरेको छु ।
१३) “आफ्नो काम आफै गरौं, आफ्नो काम आफ्नेै माम” भन्ने नाराका साथ कृषि कार्यका लागि प्रत्येक सदस्यलाई प्रोत्साहन गरिने छ र सिजन अनुसारको अन्न तथा तरकारी आफै उत्पादन गरी उपभोग गर्ने व्यवस्था मिलाएको छु ।
१४) संस्कृति अन्तर्गत यस वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको विवाह गर्ने कार्यक्रम हाललाई स्थगन गरी अर्काे वर्ष गर्ने व्यवस्था मिलाएको छु ।
१५) अन्य विगतका झै आवश्यक खर्चहरु यथावत राखी भैपरी आउने रकमको समेत बजेट व्यवस्था गरेको छु ।
१६) आयको आधारमा आयकर गणना गरी नेपाल सरकार प्रतिको दायित्वको रुपमा रहने करको भुक्तानी गर्ने व्यवस्था मिलाएको छु ।

आदरणीय सदस्य महानुभावहरु,
हाम्रो घरपालिकको विधान बमोजिम बजेट अंकको विवरण संलग्न अनुसूचीमा उल्लेख गरेको छु र आय व्ययको अंकको पूर्ण विवरण उल्लेखित अनुुसूची अनुसार भएको घोषणा गर्दछु ।

धन्यवाद ।

You might also like

Comments are closed.