सर्वदलीय बैठकमा दलहरुले भनेः ‘चुनाव शान्तिपूर्ण निश्पक्ष र धाँदलीरहित बनाउँछौं’

पोखरा । कास्कीका दलहरुले मंसिर १४ गते हुने उपचुनाव निश्पक्ष र धाँदलीरहित बनाउने प्रतिबद्धता जनाएका छन् । नेकपा कास्कीको आह्वानमा आइतबार भएको सर्बदलीय बैठकले उप–चुनाव अन्तर्गत प्रतिनिधिसभाको एक मात्र चुनाव हुने कास्की–२ को चुनावलाई निश्पक्ष र धाँदलीरहित बनाउने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले कास्की–२ को चुनावलाई लोकतन्त्रको सुन्दरतम पक्ष भएकाले यसलाई स्वच्छ र स्वस्थ बनाउनुका साथै शान्तिपूर्ण बनाउने उनीहरुको प्रतिबद्धता छ ।

दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्नेपनि प्रतिबद्धता जनाएका छन् । साथै उनीहरुले मंसिर १४ गते हुने मतदानमा भागलिनसमेत पोखरेली मतदाताहरुमा आह्वान गरेका छन् ।

सर्बदलीय बैठकमा सहभागि नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्कीको चुनावलाई लोकतन्त्रको मोडल चुनाव बनाउने प्रतिबद्धता आफूहरुले व्यक्त गरेको बताए । हिजो जानेर वा नजानेर हामी आरोप प्रत्यारोपमा उत्रियौं,‘उनले भने,‘अब आजैदेखि आरोप प्रत्योरोप रोक्छौं र निश्पक्ष, धाँदलीरहित तथा शान्तिपूर्ण चुनाव बनाउनेमा हामी लाग्छौं ।’ उनले आरोप लगाउनै परे तथ्यका आधारमा राख्न पाइने तर चुनावलाई भने स्वस्थ प्रतिष्पर्धा बनाउनेमा आफूहरु प्रतिबद्ध रहेको बताए । उनले पत्रकारहरुलाई कुन दलले आचारसंहिताको उलंघन गर्छन् त्यसको पर्दाफास गरेर सच्चिनका लागि दवाब दिनुपर्नेसमेत बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले निर्वाचनलाई शान्तिपूर्ण र कम भड्किलो बनाउन आफूहरु प्रतिबद्ध भएको बताए । सत्ता पक्ष बढी जिम्मेवार हुनुपर्छ,‘निर्वाचनलाई स्वस्थ, निश्पक्ष र विश्वसनीय बनाउन हामीपनि जिम्मेवार भएर लाग्छौं ।’

साझा पार्टीका प्रतिनिधि एकराज न्यौपानेले साझा पार्टीले जहिलेपनि चुनावलाई स्वस्थ, कम भड्किलो बनाउनुपर्छ भन्दै आएकाले सर्बदलीय बैठकले गरेको निर्णयलाई स्वागत गर्दै पालना गर्ने बताए । उनले चुनाव बास्तविक लोकतन्त्रमा आधारित शान्तिपूर्ण, निश्पक्ष र धाँदलीरहित हुनुपर्नेसमेत बताए ।

मंगोल नेसनल अर्गनाइजेसन पार्टीका प्रतिनिधि श्रीमान थापामगरले प्रतिबद्धता जनाएपनि पालना हुनेमा आशंका व्यक्त गरे । उनले भने,‘दलहरुले जति भनेपनि ब्यबहार फेर्दैनन्, यो पालना कत्तिको हुन्छ हेर्दै जाउँ ।’

बैठकमा नेकपाका तर्फबाट कास्की अध्यक्ष कृष्ण थापा, सचिव बखानसिंह गुरुङ, प्रचारप्रसार संयोजक त्रिभूवन पौडेल, नेपाली कांग्रेसका तर्फबाट कास्की सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट, मंगोल नेसनल अर्गनाइजेसनका ज्ञानराज ग्रस र श्रीमान थापामगर, साझा पार्टीका एकराज न्यौपाने र दीपक पौडेल तथा नेपाली कांग्रेस बिपीका कास्की कार्यबाहक सभापति डम्बरबहादुर बानियाको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.