साना र मझौला उद्योगलाई पैसा बचाउन सिकाउँदै मेटाब्यूल्ड

कानून बनाएरभन्दा जनचेतना बढाउँदा वातावरण संरक्षणः उद्योग तथा वातारणमन्त्री लम्साल

पोखरा । सामान्यतयाः गैरसरकारी संस्थाको कार्यक्रमप्रति नेपालीहरु सकारात्मक छैनन् । विदेशीले दिएको पैसा भइञ्जेल अनेकौँ कार्यक्रम गर्ने तर प्रतिफल भने शून्य ! आम नेपालीको भोगाइ र अनुभव पनि हो, यो । तर, सबै परियोजना त्यस्ता हुँदैनन् । यसको प्रमाण हो, वातावरण तथा आर्थिक विकास समाज (सिड) नेपालले संचालनमा ल्याएको मेटाब्युल्ड परियोजना । झण्डै ४ वर्ष नेपालका विभिन्न ५ ठाउँका ८२ वटा उद्योगमा संचालित यो कार्यक्रमले उत्पादकत्व बढाएको, खर्च घटाएको, कार्वन उत्सर्जनमा सघाएको तथा कर्मचारीहरुको दक्षता अभिवृद्धिमा सघाएको उद्योगीहरुले नै बताएका छन् ।

सिड नेपाल र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आइतबार पोखरामा भएको एक कार्यक्रममा बोल्दै पोखरामा चन्द्रोदय मेटल उद्योग संचालन गर्ने उद्यमी रामजी ज्ञवालीले भने, ‘यो कार्यक्रमसँग जोडिएपछि हामीले वेल्डिङ रड बचाउन सक्यौँ, खेरजाने सामानहरुको पुनप्र्रयोग गर्न सिक्यौँ र समग्रमा पैसा बचायौँ ।’ उनले सानो लागतमा पैसा र उर्जा बचाउन सिकाएकोमा मेटाब्यूल्ड परियोजनालाई धन्यवाद दिए । सिकेको कुरा सधैँ लागु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अर्का पोखरेली व्यवसायी दीपेन्द्र बस्ताकोटीले मेटाब्यूल्ड परियोजनाले गर्दा आफ्नो पञ्चकन्या आइरनले डलरमा किनेको सामान बचाउन सिकेको बताए । उनका अनुसार यस्ता उद्योगमा धेरैजसो कर्मचारी अदक्ष नै हुन्छन् ।अदक्ष कर्मचारीले वेल्डिङ रडको सही सदुपयोग गर्न जान्दैनन् । ‘हामीले कार्यक्रम सुरु गरेपछि कामदारको सुरक्षामा पनि ध्यान दियौँ, पछि उनीहरुले नै अब खेर गएका सामानको उपयोगबारे हामीलाई भन्न थाले’, उनले भने,‘ यसले हाम्रो पैसा बच्यो ।’ पोखरामा ९ वटा उद्योगहरु यो परियोजनासँग जोडिएका थिए ।

उनीहरुको कुरामा सही थाप्दै सिड नेपालका कार्यकारी निर्देशक अमर मानन्धरले कुनै पनि औद्योगिक उत्पादनके क्रममा उत्पादनमा प्रयोग हुने केही सामान खेर जाने र केही जोखिमपूर्ण बस्तुहरु उत्पादन हुने बताउँदै ती दुबै कुरालाई न्यूनिकण गर्नु परियोजनाको लक्ष्य भएको बताए । परियोजनाले नेपालका ८२ वटा उद्योगमा काम गर्दा कार्वन उत्पादन घटाउने र स्वच्छतर उत्पादनमा जोड दिने, लागत घटाउँदै प्रतिष्पर्धी क्षमताको विकास गर्ने लक्ष्य लिएकोमा सफलता हात पारेको जिकिर पनि गरे । ‘हामीले फोहर उत्पादन कम गर्न सिकायौँ अनि फोहर व्यवस्थापन तथा खर्च कम गर्ने प्रविधिबाट साढे ८ महिनामा देशभर १ करोड ४४ लाख रुपैयाँ बचाउन सफल भयौँ’, उनले भने,‘ यो राष्ट्रको लागि पनि ठूलो योगदान हो ।’ परियोजनाको यो अवधिमा देशभरका उद्योगहरुले १ हजार ३ सय ८७ टन कच्चा पदार्थको वचत गरेको, १ करोड किलोवाट विद्युत बचाएको,४ सय ५७ टन कम फोहर उत्पादन गरेको र पानीको प्रयोग पनि त्यति नै कम गरेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै परियोजनाका विज्ञ स्टेफन मिल्नीत्सकीले बंगलादेश, नेपाल र भारतका ४ सयवटा साना उद्योगमा संचालित परियोजनाबाट स्वच्छतर उत्पादनलाई सघाएको जिकिर गरे । उनले नेपालजस्तो देशले पर्यटनबाट बढी लाभ लिने हो भने वातावरण शुद्ध राख्नेगरि उत्पादन गर्नुपर्नेमा जोड दिए । विद्युत खपतको अडिट, कामदारको दक्षता वृ,िद्ध, सुरक्षित कार्यस्थल निर्माण, नयाँ प्रविधिको प्रयोगबाट यो सम्भव हुने उनको भनाई थियो ।

कार्यप्रगतिलाई ध्यानपूर्वक सुनेपछि कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले कानून बनाएरभन्दा पनि जनचेतना जगाएर वातावरणको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले वातावरणीय क्षेत्रमा अझै ध्यान जान नसकेको स्वीकार्दै प्रविधिको प्रयोग तथा स्वच्छतर उत्पादनमा ध्यान दिँदै वातावरण जोगाउनपर्ने धारणा राखे ।

‘अहिलेसम्म केही ब्रिगेको छैन’, उनले भने,‘ वातावरणप्रतिको सचेतता उद्योगमा मात्रै हैन विद्यालयमा पनि लैजानु छ ।’ वातावरण भनेको हाम्रो मात्रै नभएर सबैको चासोको विषय भएको बताउँदै उनले वातारण नभए मानव अस्तित्व संकटमा पर्ने सत्य बुझ्नुपर्नेमा जोड दिए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले लागत घटाउनु भनेको प्रतिष्पर्धी क्षमता बढाउनु हो भन्दै आफ्ना उद्योगको पूर्ण परिचालन हुने वातावरण बनाउनु पर्नेमा जोड दिए । अहिले निजी उद्योगहरु काम सिकाउने टे«निङ सेन्टरजस्तो भएकाले पनि कच्चा पदार्थहरु बढी खेर गएको बताए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले उर्जाको कम खपत गर्दै प्रतिष्पर्धी क्षमता बढाउने यो अभियानमा सरिक हुन पाएकोमा खुसी व्यक्त गरे ।

You might also like

Comments are closed.