५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न

काठमाडौं । ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको सो आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवाखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

तोकिएको लागतमा, तोकिएकै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तीव्र गतिमा निर्माण कार्य भइरहेको युनाइटेड हाइड्रोपावरका कार्यकारी अध्यक्ष इन्जिनियर आशिष थापाले बताए ।

२०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भइहेको कम्पनीले जनाएको छ ।

उर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरुको लगानीमा निर्माणाधिन यस आयोजनाको साधारण सेयर (आईपीओ) निश्कासनको लागि कम्पनीले गृहकार्य गरिरहेको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरी आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ सय जना भन्दा धेरैले रोजगारी पाएका छन् ।

You might also like

Comments are closed.