५ मिनेटमै ट्याक्सी घरमा, यस्तो छ एप्समा आधारित ट्याक्सी सेवा

काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा सुरु गरेको छ । काठमाडांैं उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालक आबद्ध समाजले यात्रुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवा सुरु गरेको हो ।

समाजले मोबाइल एप्स ‘इजी ट्याक्सी नेपाल’ मार्फत वैशाखदेखि यात्रुलाई दिने सेवाको परीक्षण गर्दै आएकोमा अबदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो । सेवा लिन यात्रुले ‘इजी ट्याक्सी नेपाल एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ ।

यात्रुले एप्समा गरेको अनुरोधका आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकले सोही एप्समार्फत सो अनुरोधलाई स्वीकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।

jutta mela

समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा सुरु भएको छ । सरकारले पर्यटक नेपाल भित्र्याउन भिजिट नेपाल २०२० अभियान गर्दै छ भने इजी ट्याक्सी नेपाल एप्सले पनि सो अभियानलाई साथ दिन प्रचारप्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछ ।’ यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमै पुगेर सेवा दिने अध्यक्ष छानेले स्पष्ट पारे ।

पहिलो चरणमा २७ सयभन्दा बढी ट्याक्सीमार्फत सेवा सुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालक सो एप्समा जोडिँदै गएको समाजले जनाएको छ । यात्रुले सो एप्समा लग इन गरी यात्रा गर्दा नगदमै भुक्तानी गर्न सक्नेछन् भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा ल्याउन जनाइएको छ ।

इजी ट्याक्सी नेपालको सेवाका लागि आगामी दिनमा कलसेन्टरमार्फत अफ लाइन सेवाअन्तर्गत बुकिङ गर्नुपरेमा, अन्य स्थानमा विशेष भ्रमण प्याकेज चाहिएमा, लामो अवधिसम्म ट्याक्सी सेवा चाहिएमा पनि सेवा दिने समाजले जनाएको छ ।

त्यसैगरी, यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको दुर्घटना बिमा गरिएको छ । समाजले इजी ट्याक्सी नेपाल एप्समा आधारित ट्याक्सी सेवा आगामी दिनमा अन्य सहरी क्षेत्रमा पनि विस्तार गर्ने योजना लिएको छ ।

You might also like

Comments are closed.