सरकारद्वारा निर्वाचनमा खटिएको सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने निर्णय

काठमाडौं । सरकारले स्थानीय निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने आइतबार विहान बसेको बैठकले निर्णय गरेको हो ।

त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

You might also like

Comments are closed.