विद्युतीय सवारीमा जापान, युरोप, अमेरिकालाई यसरी पछि पा¥यो चीनले

काठमाडौं ।

विद्युतीय सवारीको उत्पादन र प्रयोगले विश्वव्यापी मान्यता पाईरहेको बेला चीन सबै भन्दा अग्रस्थानमा रहेको छ । संसारभर उत्पादन र बिक्री भएका विद्युतीय सवारीको डाटा हेर्दा झण्डैं आधाभन्दा बढी हिस्सा चीनले ओगटेको छ । गत वर्ष मात्रै चीनले ५ लाख ९५ हजार वटा विद्युतीय गाडीको कारोबार गरेको थियो । यो हेर्दा ठूल्ठूला कार निर्माता कम्पनी भएका अमेरिका, जापान र युरोपेली मुलुकहरु भन्दा चीन विद्युतीय सवारीको मामिलामा अग्रस्थानमा रहन सफल छ ।

यति मात्र होइन, सन २०२१ सम्ममा चीनले संसारमा ओगटेको यो हिस्सा ७० प्रतिशत पुग्ने अनुमान छ । सन २०४० सम्म विश्वका धेरै देशले पेट्रोल–डिजेलबाट चल्ने गाडी प्रतिबन्ध गर्दैछन्। ब्लुमवर्ग न्यू इनर्जी फाइनान्सको प्रतिवेदनअनुसार त्योबेला पनि यो प्रतिस्पर्धामा चीन अरूभन्दा धेरै अगाडि रहने छ ।

चीनले आफ्ना प्रमुख सहरमा ठूल्ठूला बिजुली गाडी मात्र चलाउने प्रयास गरिरहेको छ । यसनिम्ति ठूलो मात्रामा बसहरू उत्पादन भइरहेका छन्।

अर्कोतर्फ बिजुली गाडी चलाउन चाहिने ब्याट्री विकासमा पनि चीनले ठूलो फड्को मार्दैछ । चीनमा ब्याट्री उत्पादन गर्ने ठूलो कम्पनी ‘कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी लिमिटेड (सिएटिएल) हो । यसले गत जून ११ मा नयाँ कारखाना खोल्न सार्वजनिक सेयर आह्वान गरेको थियो। यसबाट कम्पनीले हालसम्म करिब एक अर्ब डलर संकलन गरिसकेको छ भने यसको रफ्तार अहिले पनि तेज रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

चीन विश्व विद्युतीय सवारी बजारमा आफ्नो पहिलो स्थान कायम राख्न चाहन्छ । त्यसैले गाडीसँगै यसको महत्वपूर्ण पूर्जा ब्याट्रीमा पनि केन्द्रित रहेको छ । बिजुली गाडीको प्रवद्र्धनसँगै चीनको व्यापक योजना वायु प्रदूषण न्यूनिकरण हो । देशभित्रको उर्जा माग पूरा गर्नु हो । जलवायु परिवर्तनबिरुद्ध लड्ने अभियानमा नेतृत्व गर्नु हो ।

युरोपियन कार निर्माता कम्पनीहरूले पनि बिजुली कार उत्पादन गर्न युरोपमाभन्दा बढी चीनमै लगानी गर्दै आएका छन्। हालै सार्वजनिक आँकडाअनुसार युरोपेली मुलुकहरूले चीनमा आन्तरिक लगानीको तुलनामा ७ गुणा बढी लगानी गर्दै आएका छन् ।

सन् २०१७ मा विश्वमै भएका विद्युतीय बसमध्ये चीनमा उत्पादित मात्र ९९ प्रतिशत थिए। यसको संख्या करिब ३ लाख ८५ हजार थियो । अहिले चीनले धमाधम ठूला बिजुली गाडी उत्पादन गरिरहेको छ। प्रदूषणले आक्रान्त सहरमा खनिज इन्धनबाट चल्ने सवारी निषेध गर्दै समाधानमा बेजोड प्रयास गरेको छ। गत वर्ष डिसेम्बरसम्मको आँकडा अनुसार सेन्जेन सहरमा जम्मा १६ हजार ३ सय ५९ बस कुद्थे, र यी सबै विद्युतीय हुन् ।

चीनमा बिजुली गाडी किन्न प्रत्साहन स्वरुप सरकारले प्रतिगाडी १ लाख १० हजार युआन ९चिनियाँ पैसा० सम्म अनुदान दिने गरेको छ । बिजुली गाडीको मूल्य पनि पेट्रोल–डिजेल गाडीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

चीनमा विशेषगरी ८० हजार देखि एक लाख युआनबीच पर्ने बिजुली गाडी बढी बिक्ने विश्लेषकहरूले बताएका छन्।् । सन् २०२० सम्म १ लाख २० हजार वटा चार्जिङ स्टेसन बनाउने पनि योजना छ ।

चीनमा भएको यो परिवर्तनले करोडौं लिटर तेल खपत पनि जोगाएको छ। लाखौं टन कार्बनडाइअक्साइड उत्सर्जन हुनबाट रोकिएको विश्लेषकहरूको भनाइ छ। हाल चीनमा मात्र विद्युतीय सवारीको हिस्सा करिब १७ प्रतिशत पुगिसकेको छ ।

चीनको सेन्जेन सहरलाई उदाहरण मान्दै विश्वका अन्य सहरले पनि यस्तै प्रयास थालेका छन्। लन्डन, पेरिस, मेक्सिको र लस एन्जलससहित अन्य १३ सहरले सन् २०२५ देखि पूर्णरूपमा बिजुली सवारीमात्र किन्ने घोषणा गरिसकेका छन् । एजेन्सीको सहयोगमा

You might also like

Comments are closed.