काठमाडौं । श्रीलंकामा आवश्यक औषधीहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले निर्देशन दिएका छन् ।
आर्थिक संकटको बेला देशले औषधीको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले शुक्रबार उक्त निर्देशन दिएका हुन् । राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरुबाट संकलन गरिएको कोभिड–१९ स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाकोषमा रहेको अनुमानित ६ लाख अमेरिकी डलर प्रचलनमा ल्याई आर्थिक संकटका कारण औषधी खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गरे।
दक्षिण एसियाली मुलुकमा महामारी नियन्त्रणमा रहेकाले यो कोष अन्य स्वास्थ्य सेवा आवश्यकताका लागि प्रयोग गर्न सकिने र खासगरी अस्पतालहरूका लागि आवश्यक औषधिहरू आयात गर्न यसलाई परिचालन गरिने उनले बताए ।
श्रीलंका विदेशी मुद्रा अभावका कारण स्वतन्त्रता पछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको बीचमा रहेको छ । यहाँ आर्थिक संकटका कारण औषधी, इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव भएको छ ।
Comments are closed.