काठमाडौं । जेष्ठ २२ अर्थात जुन ५ तारिक संसारभर विश्व वातावरण दिवस एक साथ मनाइँदै छ । त्यसैगरी नेशनल प्याब्सनले पनि आफ्ना सदस्य विद्यालयहरुबिच जुममार्फत एकैसाथ विविध कार्यक्रम गरी बिहान ११ बजे सामूहिक उद्घाटन गर्यो ।
विश्व वातावरण दिवसको स्थापना सन् १९७२ मा भएको हो भने यो दिवस मनाउन चाहिँ १९७४ बाट युएनले सुरु गर्यो । यसपालिको विश्व वातावरण दिवस स्विडेनको आयोजनामा ‘ एक मात्र पृथ्वी’ भन्ने नाराका साथ सुरु गरियो । यस दिन प्रत्येक वर्ष फरक फरक देश आयोजक भई फरक फरक नाराका साथ विभिन्न कार्यक्रम गर्दै आइएको छ । यो दिवस मनाउनुको खास उद्देश्य भनेको पृथ्वीमा हाल भइरहेका विभिन्न विनाश तथा प्रदुषणलाई रोकी स्वच्छ वातावरण निर्माण गरी संसारलाई सुन्दर शान्त र मनोरम कायम राख्नु नै हो ।
यसै क्रममा काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज स्कुलमा पनि विद्यार्थी माझ विविध कार्यक्रम गरी यो दिवस मनाइयो । कार्यक्रमको क्रममा विद्यालयमा प्रधानाध्यापक मेघराज बजगाईंले वातावरणको विषयमा आफ्ना भनाइ राख्दै विश्वमा बिग्रंदै गएको वातावरणप्रति चिन्ता व्यक्त गर्दै आफ्ना विद्यालयका विद्यार्थीहरुलाई वातावरण संरक्षण हुने खालका काम गर्न अनुरोध गरे । विद्यार्थीहरुले कविता, लेख, आदि मार्फत वातावरणका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रमको उद्घाटन विद्यार्थी सब्रीया गौतम र दिप्सन हुमागाईंले गमलाको फूलमा पानी हाली गरेका थिए ।
कार्यक्रमको संचालन विद्यालयकी शिक्षक उषा आचार्यले गर्दै हाल बिग्रिंदै गरेको वातावरणका बारे बताउँदै अब हामी सबै जना बेलैमा सचेत हुनुपर्ने कुरा बताइन् । अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले यस्ता खालका कार्यक्रम आयोजना गरेकोकामा नेसनल प्याब्सनलाई धन्यवाद दिए । आफ्ना विद्यालयका विद्यार्थीहरुलाई वातावरण बिग्रन नदिन हामी सबैले आ आफ्नो स्थानबाट लाग्नुपर्ने कुरा बताए । उनले अबका दिनमा सबैभन्दा खतरा भनेको वातावरण बिग्रिएर आउन सक्ने विनास नै प्रमुख भएको बताए ।
Comments are closed.