चितवन महोत्सवमा पोखरा उद्योग वाणिज्य संघको टोली

आर्थिक आवाज
चितवन,२ माघ । पोखरा उद्योग वाणिज्य संघको एक प्रतिनिधी मण्डलले चितवनमा जारी चितवन महोत्सवको अवलोकन भ्रमण गरेको छ । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलले उद्योग वाणिज्य संघहरुबीच द्विपक्षीय भाईचारा वृद्धि एवं उद्योग वाणिज्य संघहरुले आयोजना गर्ने मेला÷महोत्सवहरुबाट प्राप्त अनुभव साँटासाँट गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको हो ।

भ्रमण दलमा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे तथा कार्यसमितिका सदस्यहरु सुरेश श्रेष्ठ, दीनेशचन्द्र बास्तोला, ऋषिराम शर्मा, रामेश्वर अधिकारी, श्रीप्रसाद घले र पोखरा उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक टोपबहादुर थापा सहभागी छन् ।

भ्रमण टोलीलाई स्वागत गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले चितवनलाई पर्यटकीय केन्द्र बनाउनको लागि महोत्सव आयोजना गरिएको बताए । चितवनलाई कुखुरापालन व्यवसायको केन्द्र बनाउनको लागि संघले विविध कार्यक्रम गर्दै आएको प्रष्ट पार्दै उनले अब चितवनलाई स्वास्थ्य, उद्योग, धार्मिक तथा मनोरञ्जन चाहने पर्यटकहरुको पनि केन्द्र बनाउने उद्देश्य राखिएको बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघले नेपालको च्याम्बर इतिहासमै पहिलो पटक मेला र महोत्सवको अवधारणा भित्र्याएको स्मरण गर्दै मेला र महोत्सवले आर्थिक उत्थानमा दिएको योगदानको राज्यबाट कदर हुनुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघको तर्फबाट चितवन उद्योग वाणिज्य संघको प्रतिनिधी मण्डललाई पोखरा भ्रमणको निम्तो पनि उनले दिएका छन् ।

चितवन उद्योग वाणिज्य संघले महोत्सवको १२औं संस्करण यही पुस २५ गतेबाट सुरु गरेको हो । देशकै मध्यभागमा रहेको चितवनको महोत्सव सहभागिता र व्यवस्थापनको दृष्टिले देशकै उत्कृष्टमध्ये एक मानिन्छ । महोत्सव माघ ४ गते सम्पन्न हुँदैछ । अवलोकन भ्रमणमा सहभागी पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले चितवन महोत्सवमा सरकारी निकाय एवं गैरसकारी संस्थाहरुबाट भएको सहभागिता लोभलाग्दो रहेको बताए । ‘निजी क्षेत्रको प्रतिनिधीमूलक संस्था उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला÷महोत्सवलाई सघाउनु आर्थिक उत्थानलाई नै योगदान दिनु हो,’ उनले भने । पोखरा उद्योग वाणिज्य संघ र चितवन उद्योग वाणिज्य संघबीच मेला र महोत्सव आयोजना गर्दा आपसी सहयोग एवं पर्यटन प्रवद्र्धनमा पनि द्विपक्षीय सहकार्य गरिने उनले बताए ।

You might also like

Comments are closed.