काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा संचालनका लागि ठाउँ खोज्दै विभिन्न स्थानको अवलोकन गरेका छन् ।
सो अवसरमा मन्त्री श्रेष्ठले चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिए । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफुले प्राथमिकतामा राखेको श्रेष्ठले बताए ।
पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच हालै भएको सम्झौताअनुरुप प्रदेशमा प्रतिष्ठान शाखा विस्तारको तयारी गरिएको हो । संघीयताको मर्म अनुसार प्रतिष्ठानको सेवा विस्तार गरी प्रदेशस्तरमा पर्यटन शिक्षाको पठनपाठन सुरु गर्ने गरी मन्त्रालयले योजना अगाडि बढाएको मन्त्री श्रेष्ठले बताए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुंइटेल तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीसहितको टोलीले सम्भावित स्थानको अवलोकन गरेका हुन् ।
महानगर प्रमुख आचार्यले सम्भावित स्थानको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए। पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा पढाइले पर्यटन उद्योगलाई चाहिने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन हुने विश्वास गरिएको छ ।
Comments are closed.